‘महिला नेतृत्वमा पुगेको चित्र कोर्ने सपना’


प्रकाशित मिति :2015-08-23 12:49:29

लगातार तीनदशकदेखि महिलालाई केन्द्रबिन्दु बनाएर चित्र कोर्ने अस्मिना रञ्जित भन्छिन्, ‘अब महिला नेतृत्व तहमा पुगेको चित्र कोर्ने सपना छ।’

बिमला तुम्खेवा

कालो नागको टिका निधारदेखि नाकसम्म र प्रायः कालै पहिरनमा भेटिने अस्मिना रञ्जितको आम पहिचान भैसकेको छ टिका र कालो पहिरन। जीवनमा जे गर्न हुँदैन भनियो चित्रकार अस्मिना रञ्जितले त्यही गर्दै आइन्। भन्छिन् ‘किन गर्न हुँदैन भनेको होला भन्ने जिज्ञासा मेटाउन खोज्दा खोज्दै गर्न हुँदैन भनेका कामकै पछि लागिरहे।’

नाम चलेकी चित्रकार अस्मिनाको बालकालको इच्छा अलि फरक थियो। सानोमा ‘आर्ट’ प्रति खासै रूची नभएकी उनलाई बुवा कृष्णगोपाल रन्जितले बनाएका चित्रमा पनि खासै चासो थिएन। आइ एस्सी पढ्दै गर्दा एक्कासी बिरामी परेर परिक्षा रोकिएपछि एकवर्ष घरमै खाली बस्नु पर्दा उनलाई ‘आर्ट’ ले आर्कषित गर्‍यो। पुरानो कुरा सम्भि्कँदै अस्मिना भन्छिन् ‘त्यो नै मेरो जीवनको टर्निङ पोइन्ट हो।’

Asmina 11

सानो छँदा पाइलट बन्ने इच्छा राखेकी अस्मिनाले हवाईजहाजको आवाज सुन्यो की आकाशमा हेरेर टोलाउने गरेको बताउँछिन्। विरामी भएर थला परेपछि पाईलट बन्ने सपना हरायो, आर्टप्रतिको मोह बढ्दै गयो। छोरी घरमै सिमित भईदिए हुन्थ्यो। घरको काममा ध्यान दिए हुन्थ्यो भन्ने आमाको चहाना बढ्दै जान थालेपछि घर बाहिर कसरी जाने भन्ने उपाय खोज्दा—खोज्दै आर्ट प्रतिको मोह बढेको बताउँछिन अस्मिना।
अब म आर्टिष्ट बन्छु, मलाई कलेज भर्ना गरिदिनुहोस भन्दा पहिलोपल्ट बुवाले नै पत्याउनु भएन। छोरीले जिद्दी गर्न थालेपछि बुवा कृष्णगोपाल रन्जितले सृजना आर्ट कलेजमा छोरी अस्मिनालाई आर्टको कक्षामा भर्ना गरिदिएका हुन्। २०४३ सालमा आर्ट कक्षामा भर्ना भएपछि बच्चामा पाईलट बन्छु भन्ने सपनालाई समेत बिर्सेर चित्रमै रमाउन थालेकी अस्मिनाको अहिलेको सपना उत्कृष्ट चित्र कोर्नुमात्र रहेको छ। चित्रमा आफूलाई यति धेरै व्यस्त राखेकी छिन कि कुनै समय पाइलट हुने सपना थियो भन्ने सम्झने पनि समय छैन अहिले उनलाई।
गोदावरी एल्मुनाइ एसोसियसनले सन् १९९० मा पहिलो पटक गोथे इन्स्टीच्युटमा गरेको ‘सोलो एग्जिविशन’ (एकल प्रर्दशनी) मा तीनओटा पुरस्कार हात लागेपछि अस्मिनालाई चित्रकारिताले झनै तान्यो। पुरस्कार पाए लगत्तै दि राइजिङ्ग नेपालमा आएको प्रोफाइलबेस लेखले नेपाली चित्रकारहरू बीच उनलाई परिचित बनायो। पुरस्कार र प्रेरणा पाउँदै गएपछि आर्ट नशा जस्तो बनेको बताउने अस्मिना आफनो हरेक दिन आर्टबाट सुरु र अन्त्य हुने बताउँछिन्।

Asmina 3
दबिएकाहरूको न्याय र आत्मसम्मानको वकालतलाई आफ्नो आर्टले ध्यानमा राख्ने भएकाले पनि सबै सामु परिचित हुन सहयोग पुर्‍याएको उनी बताउँछिन्। नेपालमा महिला अधिकारको आवाज निकै उँचो भईरहेको यो समयमा कहिँ न कहिँ अस्मिनाको सिर्जनामा पनि यो मुद्दाले प्रभाव पारेको छ। विभिन्न आर्टका साथसाथै आफ्नो संस्था सञ्चालन गरेर महिलाको क्षेत्रमा क्रियाशिल रहेकी उनले सन् २००७ मा लसना नामको संस्था खोलेर महिलाको क्षेत्रमा काम गरिरहेकी छन्। संस्थाको अध्यक्ष समेत रहेकी अस्मिनाले महिला सहभागितालाई कसरी राज्यका सबै तहसम्म प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ भन्ने कुरामा जोड दिँदै आएकी छन्।

जबसम्म महिलाको सम्पत्तिमा समान सहभागिता र पहुँच हुन सक्दैन तबसम्म महिला हिंसा अन्त्य गर्न कठिन हुने भएकाले सम्पत्तिमा महिलाको स्वामित्वलाई कसरी बढाउन सकिन्छ भनेर ध्यान दिनुपर्छ भन्ने उनको विचार छ। अस्मिनाले आर्टमा पनि यस्ता विषय समेट्दै आएकी छन। समाजमा भएको वास्तविकतालाई आर्टमा उतारे पनि आर्टले मात्र समाज परिवर्तन हुन नसक्ने भएकाले संस्था मार्फत क्रियाशिल भएको उनी बताउँछिन्।

कुनैपनि काम गर्दै नगर्ने गरेपछि पुरा गरेरै छोड्ने अठोटले पनि उनी साथीहरूवीच फरक किसिमले चिनिएकी छन्। उनका साथीहरू उनलाई ‘मुडी’ भनेर चिन्छन्। शशि बिक्रम शाह, बिरेन्द्रप्रताप सिंह लगायत दिग्गज चित्रकारको साथमा सृजना आर्ट कलेजले गरेको आर्ट एग्जिविसनमा अस्मिनाको चित्र राखिएको थियो। ती सबै चित्र नामुद व्यापारी रुपज्योतीले किनिदिएका थिए। पछि उनले अफिसमा बोलाए। उनी भेट्न गइन्। रुपज्योतीले आफ्ना सबै पेन्टीङ्ग किनिदिने भनेपछि त्यो दिनदेखी फर्किएर उनी कहिल्यै रुपज्योतीकोमा गइनन्। यसले पनि उनि पैसाको लागि मात्र चित्र बनाउँदिनन आफ्ना चित्र मार्फत समाजको वास्तविकतालाई बाहिर ल्याउन चाहिन्छन् भन्ने कुरा बुझ्न सकिन्छ।

त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसबाट ‘व्याचलर अफ फाइन आर्ट’ गरेकी अस्मिनाले युनिर्भसिटी अफ ताजमानिया अस्ट्रेलियाबाट बिए फए र अमेरिकाको कोलोम्बो युनिर्भसिटीबाट एमए एफ गरेकी छन्। विदेशमा पढ्दा धेरै अवसर आएपनि नेपालमै केही गर्ने चहानाले नेपाल फर्केको उनी बताउँछिन। महिलाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने रूची भएकी अस्मिनालाई अब महिला सक्षम र नेतृत्व तहमा पुगेको चित्र कोर्ने सपना छ।

नेपालमा दश वर्षे लामो शसस्त्र युद्धमा महिलाको सशक्त सहभागिता हुनु र इतिहासमा पहिलोपल्ट ३३ प्रतिशत महिला संसदीय तहमा सहभागी भएकाले पनि उनलाई महिलाका क्षेत्रमा काम गर्न निकै हौँसला मिलेको छ। १९ वर्षदेखि स्थानिय निकायको निर्वाचन नहुँदा पनि राजनीतिमा महिला कृयाशिलता बढ्नुले महिला सफलतालाई कम आँक्न नहुने उनको ठहर छ।

चित्रसँगै पारिवारिक जीवनमा पनि उत्तिकै ध्यान दिँदै आएकी अस्मिनालाई घरमा श्रीमानको राम्रै सहयोग छ। दुवै परिवार सम्पन्न भएपनि कुनै तडकभडक नगरि बसन्त रन्जितकारसँग विवाह गरेकी अस्मिना भन्छिन् ‘विवाहमा एउटा पनि कपडा किनिएन, तर हामी माया र सदभावका साथ बसिरहेका छौं।’ साझा यातायातको कार्यकारी प्रमुख भैसकेका कला साहित्यप्रति लगाव भएका बसन्तसँग लामो समयको चिनजानपछि विवाह भएकाले पनि आफ्नो कामलाई सम्मान गर्ने बताउँछिन् अस्मिना। अस्मिनासँग यसरी कुरा गरिरहदा बसन्त रन्जितकार भने छोरा ‘अब’लाई पढाईरहेका थिए।

छोराको नाम अब नै राख्नुमा पनि दुईटा सन्जोग छ। एउटा चाँही दुबैजनाको नामको पहिलो अक्षर र अर्को चाहिँ अस्मिना र बसन्त दुबैजना बौद्ध दर्शनबाट प्रभावित। बुद्धिज्ममा हरेक समयलाई सकात्मक रूपमा हेरिने हुँदा अबदेखि किन सकारात्मक नसोच्ने भन्ने अर्थ छोराको नाममा रहेको अस्मिना बताउँछिन्। लगातार तीनदशकदेखि महिलालाई केन्द्रबिन्दु बनाएर चित्र कोरेको यो अस्मिनाको अर्को बलियो पक्ष हो।
कुराकानीको अन्त्यमा उनले भनिन् अब चाडै नै अर्को ‘सोलो एग्जिविशन’ गर्ने तयारीमा छु।

प्रकाशित मितिः २०७२ भदाै ६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: