महिला खबर
धनगढी, भदौ ६ । मानव बेचविखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था के.आई.नेपालले कैलालीको सीमा नाकाबाट दुई जना किशोरीको उद्धार गरेको छ ।
परिवारलाई जानकारी नदिइ भारत जान लागेका २ जना किशोरीलाई कैलालीको गौरीफण्टा नाकाबाट प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।
मानव तस्करी रोकथामका लागि सञ्चालन गरेको अभियान अन्तर्गत उनीहरूलाई गौरीफण्टा नाकाबाट उद्धार गरी अहिले संस्थाको संरक्षणमा राखिएको के.आई. नेपाल धनगढीका जिल्ला संयोजक राजकुमार नेपालीले जानकारी दिनुभयो ।
उद्धार गरिएका ती किशोरी भारतको दिल्लीमा जागिरको प्रलोभनमा जान लागेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुर्यबहादुर चन्द्रले बताउनुभयो । किशोरीलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा भारत जान लागेको खुलेको हो । उद्धार गरिएका किशोरी १४ र १५ वर्षका रहेका छन् ।
पछिल्लो एक महिनामा धनगढीबाट २१ जना किशोरीलाई कैलालीको गौरीफण्टा नाकाबाट उद्धार गरेको के.आई. नेपालकी सूचना तथा सञ्चार अधिकृत सुरक्षा बरालले जानकारी दिनुभयो ।
प्रकाशित मितिः २०७२ भदौ ६ गते आईतवार
Comment Here!