महिला खबर
बाग्लुङ (बुर्तिवाङ), भदौ ६। बाग्लुङ जिल्लाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित शल्यक्रियासहितको प्रसूति सेवाले दुर्गमका महिलालाई ठूलो राहत मिलेको छ। तीन महिनाअघिदेखि शुरु भएको ‘वृहत आकस्मिक प्रसूती एवम् नवशिशु स्याहार केन्द्र’ ग्रामीण भेगका महिलाका लागि बरदान सावित भएको छ। केन्द्रले दक्ष चिकित्सकसहित गुणस्तरीय प्रसूति सेवा दिन थालेपछि केन्द्रमै आएर प्रसूति हुनेको संख्या पनि बढेको छ।
शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएदेखि यता नौजनाको शल्यक्रिया गरी सुत्केरी गराइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
सुरुका दुई महिना बेहोस बनाउने स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया सेवा रोकिएको थियो। शल्यक्रियाबाहेक पनि जिल्लामै सबैभन्दा बढी प्रसूति गराउने केन्द्र पनि बुर्तिबाङ रहेकेा वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनु भयो।
गत आर्थिक वर्षमा मात्र उक्त केन्द्रमा २५९ जनाले सुरक्षित सेवा लिएका थिए। ‘ग्रामीण भेगका बासिन्दालाई शल्यक्रियासहितको प्रसूति सेवाले ठूलो टेवा पुगेको छ। शल्यक्रियाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। ‘ प्रशासक श्रेष्ठले भन्नुभयो।
केन्द्रबाट जिल्लाको पश्चिम भेगका १८ गाविस र छिमेकी रुकुम, प्यूठान र गुल्मीका महिलाले सेवा लिएका छन्। ‘शल्यक्रिया गर्ने विशेषज्ञसहित तीन चिकित्सक, बेहोस बनाउने नर्स, प्रयोशालाका प्राविधिक, सहयोगीसहित स्वास्थ्यकर्मी केन्द्रमा हुनुहुन्छ’ प्रशासक श्रेष्ठले भन्नुभयो। उहाँले २४ सै घण्टा केन्द्रमा प्रसूति सेवा उपलब्ध रहेको बताउनुभयो।
केन्द्रका चिकित्सक रमेश कुमार यादवले प्रसूतिका बेला आउने जटिलताकै कारण सामान्य रुपमा बच्चा जन्मन नसक्ने अवस्थामा शल्यक्रिया गर्ने गरिएको बताउनु भयो।आफ्नै गाउँ नजिकै चिकित्सक सेवा उपलब्ध भएपछि महिलालाई ठूलो राहत मिलेको बोबाङकी हरिमाया छन्त्यालले बताउनुभयो। ‘प्रसूतिका बेला आउने जटिलताकै कारण ज्यान गुमाउनु पर्ने अवस्था टरेको छ’ उहाँ भन्नुहुन्छ।
जिल्लाका ३५ स्वास्थ्य संस्थामा प्रसूति केन्द्र संचालनमा छन्। पछिल्ला दुई वर्षमा जिल्लामा प्रसूतिकै कारण हुने महिलाको मृत्यूदर पनि शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सदरमुकाममा रहेको धवलागिरी अञ्चल अस्पतालले भने वर्षौ देखि शल्यक्रियासहितको प्रसूति सेवा दिँदै आएको छ।
प्रकाशित मितिः २०७२ भदाै ६ गते अाईतवार
Comment Here!