घरभित्रै असुरक्षित बालिका


प्रकाशित मिति :2015-08-25 16:11:00

आफन्त वा चिनेजानेका नजिकका नातेदारबाट हुने बलात्कारका घटना प्रहरीसम्म पुग्दैनन्। समाजमा अपहेलित हुने, छोरीको बदनाम हुने र विहे गर्न नसकिने जस्ता डरका कारण घटना सार्वजनिक नभएर घर भित्र हुने यस्ता घटनालाई  घरकै अन्य सदस्यले लुकाउने  प्रयास गर्छन्।

रमला सिंगक

विविएस प्रथम वर्ष अध्ययनरत धरान विजयपुर बस्ने १९ वर्षीय केशवले आफ्नै मामाकी सात वर्षीया नावालीका वहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परे। उनले बलात्कार अभियोग स्वीकारेका छन्। उनले एक महिनासम्म नावालिकाको मुखमा रुमाल कोचेर हातखुट्टा वांधी पटक पटक बलात्कार गरेको स्वीकारे। पीडक गिरीले घटना कसैलाई भनेमा मार्ने या विभिन्न प्रकार यातना दिने धम्कि दिएकाले डर त्रासका कारण ती नावालिकाले एक महिनासम्म घटना कसैलाई सुनाएकी थिईनन्।

अत्यधिक पीडा भएपछि मात्र उनले घटनाको बारेमा आफ्नो उमेरका साथीलाई सुनाइन् र ती साथीले बालिकाकी आमालाई भनेपछि मात्र घटना सार्वजनिक भयो। घटना सार्वजनिक भएपछि नावालिकाका अभिभावकले पीडकविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले गिरीलाई पक्राउ गरि उनीविरुद्ध मुद्दा दर्ता गरिसकेको छ।

यसरी नै गत साउनमा ताप्लेजुङका ३९ वर्षीय एक व्यक्तिले आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले विक थर भएका ती आरोपीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। बेलुकी घरमै सुतिरहेकी छोरीलाई उनले बलात्कार गरेका थिए। आरोपी विकले आफू रक्सीले मातेको समयमा होस गुमाएर कुकर्म गरेको प्रहरी समक्ष स्विकारेको ताप्लेजुङ प्रहरी जानकारी दिएको छ। अहिले आरोपी थुनामा छन्।

गत असारमा नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा वराहक्षेत्रका ४० वर्षीय नवराज राई पक्राउ परेका छन्। बालिकाकी आमाको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो। घरमा कोही नभएको मौका छोपी आफ्नै जेठी सासुकी छोरीलाई राईले बलात्कार गरेका हुन्। स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका आगनमा वसेर गृहकार्य गरिरहेका वेला राईले बलात्कार गरेको उजुरीमा उल्लेख छ।

इटहरीकी १४ वर्षीया बालिकालाई नातामा फूपाजु पर्ने दुर्गा वहादुरले निरौलाले अनेक बहाना वनाएर पटक पटक आफ्नै घरमा बलात्कार गरेको भनी बालिकाको आफन्तले उजुरी दर्ता गरी निरौलामाथि मुद्दा चलिरहेको इटहरी प्रहरीले जनाएको छ।

माथिका घटनाले बालिका बलात्कार घटनामा अपिरिचित भन्दा आफन्तै धेरै भएको पुष्टि हुन्छ। बालिकाहरुलाई बलात्कार गर्ने अधिकांश पुरुष नजिकका आफन्त, छरछिमेक र चिनेजानेको व्यक्तिनै हुने गरेको प्रहरीको तथ्याकंले पनि देखाएको छ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा पूर्वाञ्चलमा दुई सय १६ वटा बलात्कार घटनाका मुद्दा दर्ता भएका छन्। यसमध्ये मोरङ जिल्लामा ९३ वटा घटनाको मुद्दा दर्ता भए। यी घटनाका सबै आरोपी पक्राउ गरी मुद्दा चलिरहेको मोरङ प्रहरी कार्यालयका प्रवक्ता प्रभु ढकालले जानकारी दिनुभयो। सुनसरीमा जर्वरजस्तिकरणीका ३७ उजुरी दर्ता भएको र ३७ वटा घटनाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ भने नौ जना आरोपी फरार रहेकाले उनीहरूको खोजी भईरहेको सुनसरी प्रहरीले जनाएको छ।

जर्वरजस्तीकरणीको आरोपी मध्ये घरपरिवारको सदस्य र आफन्तको संख्या धेरै रहेको प्रवक्ता ढकालले वताउनुभयो। उहाँले भन्नुभयो,’जर्वरजस्तीकरणी घटनाका अधिकांश आरोपी एकाघरका सदस्य र आफन्तको संख्या धेरै देखिएको छ। त्यसैले यसको रोकथामका लागि अपराध गर्ने व्यक्तिलाई सजायको दायरामा ल्याउन घटनालाई प्रहरीसम्म ल्याउनुपर्छ र अभिभावकहरूले पनि आफ्नो घरमा छोराछोरी के गरिरहेका छन् र वाहिर के गर्छन् भन्ने कुरामा निगरानी राख्नुपर्छ। यसले सबैलाई सुरक्षित वनाउनुका साथै आपराधिक मानसिकता भएको व्यक्तिले अपराध गर्न त्यति सजिलै हिम्मत गर्न सक्दैन।’

आफन्तबाटै वा चिनेजानेका नजिकका नातेदारबाट हुने यस्ता कतिपय बलात्कार घटना प्रहरीसम्म पुग्दैन। समाजमा अपहेलित हुने, लाज, डर, छोरीको बदनाम हुने र विहे गर्न नसकिने जस्ता डरका कारण घटना सार्वजनिक नभएर घर भित्र हुने यस्ता घटनालाई तिनै घरका अन्य सदस्यले लुकाउने भरमग्दुर प्रयास गर्ने गरेको उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ ‘बाबु, काका, मामाले बलात्कार गरेमा तिनै घरका आमा, दिदी, फुपु, माइजुहरूले नै लुकाउने गरेकाले अपराधीलाई दण्ड सजायको दायरामा ल्याउन मुस्किल परेको छ।’

बलात्कारका घटना भइहालेपनि घटनालगतै प्रहरीमा उजुरी र स्वास्थ्य परिक्षण गर्नुपर्छ भन्ने कुरा पीडितलाई थाहा नभएका कारण पनि बलात्कारका मुद्दामा प्रमाण नपुगेर दोषीले सहजै उन्मुक्ति पाउने गरेको ढकालले बताउनुभयो। उहाँका अनुसार यस्ता घटना हुनासाथ तुरुन्त प्रहरीलाई जानकारी दियो भने अपराधीलाई सजायको दायरामा ल्याउन सकिन्छ।

एकाघरमा घटेका बलात्कारका घटनाले परिवार र बालिकाको भविष्यलाई असर पार्ने भएकाले यस्ता किसिमका घटनाहरू भित्रभित्रै मिलाउने, विचौलिया सक्रिय हुने र सार्वजनिक नगर्ने भएकाले पनि अपराधीलाई अपराधवोध नभएको र यस्तो कार्य गर्न प्रोत्साहित हुने गरेको महिला अधिकारकर्मी मीना पुलामी बताउनुहुन्छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभाग प्रमुख प्रा. डा. निदेश सापकोट भन्नुहुन्छ , …सतहमा देखिएका यस्ता घटना समुद्रमा तैरिएको हिउँको सानो टुक्रा मात्र जस्तो हो। समुद्र मुनी त्यो हिउँको टुक्राको भाग कयौं गुणा ठूलो भए जस्तै समाजमा धेरै छन् तर सामाजिक विभेद र लान्छना हुन सक्ने भएकाले धेरै घट्ना बाहिर सार्वजनिक हुदैन।’

आफ्नै परिवारका बालिका उमेरका छोरीचेलीमाथि बलात्कार गर्ने व्यक्तिमा यौन इच्छा सम्बन्धि मानसिक रोगी हुनसक्ने उहाँ बताउँनुहुन्छ। उहाँले भन्नुभयो,  ‘समाजले नपचाउने, अमान्य हुने बालिका बलात्कार जस्ता घृणित काम गर्न त्यस्ता व्यक्तिलाई अरुको छोरीचेली, बालिका बलात्कार गर्नु भन्दा आफ्नै घरका वा सँधै चिने जानेका आफन्तका बालिका बलात्कार गर्न सहज वातावारण उलव्ध हुन्छ र उनीहरू यस्ता घृणित कार्यमा संलग्न हुन्छन्।’

उहाँले अमेरिका जस्तो विकसित मुलुकमा बालिका बलात्कार घट्ना कमै हुने गरेको उदाहरण दिँदै भन्नुभयो, ‘अमेरिकामा बालबालिका स्कुल भर्ना भएकै दिन जोसुकैले दुर्व्यवहार गरेमा ९११ फोन नम्बर डायल गर्न सिकाइन्छ। र यौन दुर्व्यवहार भए तत्कालै ९११ नम्बर डायल गरेर प्रहरीलाई जानकारी दिइन्छ। तर नेपालमा यस्तो व्यवस्था छैन।’ उहाँले विकसित मुलुकमा पीडितलाई समाज र राज्यले संरक्षण गर्ने गरेको तर नेपाल जस्तो मुलुकमा आफ्नै बाबुले बलात्कार गरेपछि उजुरी दिँदा पहिलो बाबुमा आश्रित पीडित बालिकाको भरणपोषण हुन नसक्दा आफै सडकमा आउनुपर्ने अवस्था भएकाले धेरै घटना लुकाउने गरिएको बताउनुभयो।

प्रकाशित मितिः २०७२ भदाै ८ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: