‘स्वास्थ्य चौकी जान डरलाग्छ’


प्रकाशित मिति :2015-08-26 15:00:39

कमला बन करियासँग अहिले दोस्रो सन्तान छ । दुईवटै सन्तान जन्माउन उनी स्वास्थ्य संस्थामा गइनन् । कुनै पनि खोप लगाईनन् । भन्छिन् ‘सुई हान्दा डर लाग्छ, अनि स्वास्थ्य चौकी नगएको ।’

नारायण ढुङगाना

3
१२ वैशाख २०७२ मा भुकम्प जाँदा सन्तमायाँ वनकरियाको घरमा वुहारी कमला तीन दिनको सुत्केरी थिईन् । छोरी कान्छी वनकरिया गर्भवती थिईन् ।

भूकम्पले हल्लाउन थालेपछि उनलाई गर्भवती र सुत्केरी सम्हाल्न धौधौ भयो । कहिले ट्वांग्रा खोला त कहिले बारीको पाटामा ओसार्दै त्रिपाल ओढाएर राखिन् ।

बनकरिया महिलाका बुझाइमा भूकम्प आएको बेला गर्भवती लड्यो भने पेटको बच्चा जान्छ । त्यसैले कान्छीलाई भूकम्प आयो की अङ्गालोमा बाँधेर जोगाईन् सन्तमायाँले । कहिले आफू त कहिले परिवारका अन्य सदस्यले अङ्गालोमा बाँधेर पेटको बच्चा बचाएको भनाई सन्तमायाँको छ ।

‘गुडुङडुङ गर्छ अनि सुत्केरीलाई बगर लैजाने, पाल ओढाउने, गर्भवतीलाई अंगालो हाल्ने’ कान्छिमायाँले भनिन्, ‘भूकम्पमा यस्तैगरी दिन गयो ।’

कमलाको यो दोस्रो सन्तान हो । एकवर्षको फरकमा सन्तान जन्मिए । हेर्दा सानै उमेरकी देखिन्छिन् उनी । दुईवटै सन्तान जन्माउन उनी स्वास्थ्य संस्था गइनन् । कुनैपनि खोप लगाईनन् । भन्छिन् ‘सुई हान्दा डर लाग्छ, अनि नगएको ।’

उनकी नन्द कान्छी बनकरिया अहिले सुत्केरी छन् । भूकम्पमा अंगालो हालेर ढल्न नदिएकाले बच्चा जोगिएको भन्दै परिवारमा खुसियाली छ ।

कलिलै उमेरकी देखिने कान्छी नयाँ मान्छेको नजिक पर्दिनन् । भागीहाल्छिन् । कुरा गर्न खोज्दा भागेर गाउँ हिँडिन् । उनलाई सन्तमायाले पटक पटक अस्पताल जाम भनेकी थिईन् । सुई हान्छ, डर लाग्छ भनेर मानिनन् । ‘छोरी नमानेर अस्पताल लान सकिएन’ कान्छीमाया अनुभव सुनाउँछिन् ।

बच्चा जन्माउने बेला सकस भएपछि उनी अस्पताल पुग्नै पर्‍यो । हाँडीखोला स्वास्थ्य संस्थामा उनलाई जवरजस्ती लगिएको स्थानियले बताए । सन्तमायाका  ९ सन्तान छन् । कुनैपनि  सन्तान जन्माउँदा अस्पताल गईनन् । त्यस्तै ४ बच्चा जन्माएकी विमला बनकरियाले अहिलेसम्म अस्पतालको ढोका टेकेकी छैनन् ।

हाँडीखोला स्वास्थ्य चौकीको विवरणमा गएको आर्थिक वर्षमा २ जना गर्भवती बनकरिया महिलाले स्वास्थ्य परिक्षण गराएका थिए । ती दुईमध्ये एकजना शान्ति स्वास्थ्य संस्थामा सुत्केरी भईन् । यो साउनमा एक गर्भवती नानु बनकरिया मात्रै सम्पर्कमा आएको स्वास्थ्य चौकी ईन्चार्ज ज्योतीराज लुईटेलले बताए । अन्तिम समयमा स्वास्थ्य परिक्षणमा पुगेकी नानु अहिले सुत्केरी भैसकिन् ।

गएको वर्ष ६ जना बनकरिया महिला गाउँमै सुत्केरी भएको शान्तमाया बताउँछिन् । नानु, कमला, सुन्तली, कान्छि, शान्ति र सावित्री सुत्केरी भए । ती मध्ये एकजना मात्रै स्वास्थ्य संस्थामा सुत्केरी भइन् ।

चेपाङ, तामाङ र क्षेत्रीसँग समेत उनीहरूको विहेवारी हुन्छ । लालबहादुर बनकरियाका नाती मंगल प्रजाले सुर्खेतकी हर्षिका क्षेत्रीसँग विहे गरे । उनी अहिले २ महिनाकी गर्भवती छन् । तर, अहिलेसम्म स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य संस्था नगएको उनले बताईन् ।

स्वास्थ्य संस्थामा जानुपर्छ, भत्ता पाईन्छ भन्नेकुरा उनीहरूलाई थाहा छ । केही गर्भवतीहरू परिक्षणका लागि गएपनि धेरैजसो नियमित परिक्षण गराउन र सुत्केरी हुन वनकरिया महिला अस्पताल जाँदैनन् । धेरैजसोलाई डर सुईकै छ । अनि उनीहरू नचिनेका मानिससँग खुलेर बोल्ने बानी नभएकाले पनि स्वास्थ्य चौकीमा नजाने सन्तमाया बताउँछिन् । हाँडीखोला स्वास्थ्य चौकीका ईन्चार्ज लुईटेलका भनाइमा, बनकरियामा परिवार नियोजनको साधन प्रयोग गर्ने चलन शुरु भएको छ ।

बनकरिया समुदायमा अहिलेपनि बिरामी पर्दा धामी झाँक्रीमा विश्वास गर्ने चलन छ । जंगलको जडिबुटी खुवाए रोग निको हुन्छ भन्ने उनीहरू अहिले स्वास्थ्य संस्थामा जानुपर्दछ भन्ने बुुझ्न थालेका छन । ‘झारफुक धामी झाँक्री र हामी आफैँले गरेको औषधीले त निको हुनै छाड्यो, गाउँकी अगुवा सन्तमायाले भनिन् अब त सामान्य दवाई दिन पनि हाँडीखोला चौकी जाने हो ।’

नेपालमा मकवानपुरको हाँडीखोलामा मात्रै बसोबास गर्दै आएका बनकरियाले जंगलमा तरुल गिठा खोजेर खाने, माछा मार्ने अनि जंगलमै बस्ने खोस्रने गर्छन्  वन ऐन २०४९ अनुसार उनीहरूलाई संरक्षण गर्न सरकारले २० वर्षका लागि कवुलियत वनमा राखेको छ । मकवानपुरको हाँडीखोला गाविसको भित्रीभाग जंगल नजिकै करिव २० घर छन् । २०६२ सालमा १२ घर  थिए  । अहिले बढेका छन् । जन्मदर्ता भएपछि सरकारले मासिक एक हजार रुपैयाँ भत्ता दिंदै आएको छ । भत्तासँग ज्याला मजदुरी गर्दै आएको रकमले जीवन गुजारा हुन्छ उनीहरूको ।

घाँस काट्न गएका बेला माछा मारेर तरकारीको जोहो गर्न महिला सक्रिय छन् । खोलामा माछा मार्दै गर्दा भेटिएकी रितु बनकरिया भन्छिन्, ‘घाँस लैजाँदा तरकारी पनि लैजाउँ भनेर माछा मार्न लागेको ।’ उक्त क्षेत्रमा भत्ता खाने बनकरिया ७७ जना पुगेका छन् । ती मध्ये महिला ३९ जना छन् ।

वनकरिया समुदायमा सबैभन्दा धेरै पढ्ने भनेर गाउँमा खुवै प्रशंसा छ १८ वर्षकी पम्फा वनकरियाको । दुर्भाग्य उनले यो पटकको एसएलसी कटाउन सकिनन् ।

पशुपति माविबाट एसएलसी दिएकी उनलाई ४ विषय लागे । तर पनि हरेश नखाई फेरी १० दोहो¥याउँदैछन् । वनकरियामै सबैभन्दा बढी पढेकी पम्फा स्टाफनर्स बनेर विरामीको सेवा गर्ने धोको रहेको बताउँछिन् । यो वर्ष राम्ररी पढेर एसएलसी पास गर्ने उनले बताईन् । तर पढ्न जान उनलाई समस्या छ ।

सरकारले दिने मासिक एक हजार रुपैयाँ भत्ताले उनीहरूको जिवन चल्दैन । सरकारले दिएको कवुलियती वनमा बस्नुपर्छ । खानका लागि ज्याला मजदुरी गर्नुपर्छ । अनि कसरी पढ्ने ? उनको सामु आगामी वर्षका चुनौती छ्न् । कसैले पढ्नलाई सहयोग गरे पढ्ने चाहना उनको छ ।

उनी पछि धेरै पढ्नेमा छिन् सन्तोषी बनकरिया । अहिले कक्षा ९ मा पढ्ने सन्तोषी पनि समाज सेवा गर्ने धोको भएको बताउँछिन् । भन्छिन्, ‘अरुको दुखमा सहयोग गर्न मन छ ।’

७ र ८ कक्षामा पढ्ने गाउँमा कोही छैनन् अरु पढ्ने बालबालिका ६ भन्दा तल नै छन् ।  १६ जना बनकरिया बालबालिका स्कुल जान्छन् । यसमा पनि ९ जना छात्रा  छन् । २०६२ सालमा जंगलबाट कवुलियत वनमा ल्याउँदा उनीहरूको जनसंख्या ३९ थियो । अहिले बढेर ७७ पुगेका छन् । केहीको दर्ता हुन बाँकी छ । पाँच कक्षासम्म पढ्नेहरू ७ जना थिए । अहिले धेरै बालबालिका ५ कक्षामा पुगेका छन् ।

प्रकाशित मिति :२०७२ भदौ ९ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: