महिला खबर
पोखरा, भाद्र ९ । संविधानमा महिला अधिकारको सुनिश्चितको माग राख्दै पोखराका विभिन्न क्षेत्रमा क्रियाशिल महिला अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि एक घण्टा धर्ना दिएका छन्।
नयाँ बन्ने संविधानमा हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिताको माग गर्दै महिला मानव अधिकार रक्षक सञ्जाल कास्की र मानव अधिकारका लागि महिला एकल महिला समूहले धर्ना दिएका हुन् । धर्नामा अधिकारकर्मीहरूको सहभागिता थियो ।
धर्नापछि जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री र संविधान सभाका अध्यक्षलाई १६ बुँदे मागसहितको ध्यानाकर्षण पत्र पठाइएको थियो ।
ज्ञापन पत्रमा महिला भएकै आधारमा कुनै पनि भेदभाव गर्न नपाइने प्रावधान सुनिश्चित गर्नुपर्ने, वैवाहिक अङ्गिकृत नागरिकताको प्रावधानमा विदेशी महिला र पुरुषलाई समान प्रावधान सुनिश्चित गर्नुपर्ने, महिलाले घरमा गरेको कामको मूल्याङ्कन गर्दै त्यस्तो कार्यको आर्थिक मूल्य राष्ट्रिय आयमा गणना गर्ने भन्नेजस्ता भाषा राख्नुपर्ने, घरायसी कामकाजमा महिला र पुरुषको समान साझेदारी विकास गर्नुपर्ने, सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गर्नुपर्र्न लगायतका माग उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७२ भदौ ९ गते वुधवार
Comment Here!