विष्णु राईकाे ‘कोसेली’


प्रकाशित मिति :2015-08-27 10:37:55

सेलवेज सुपर मार्केटदेखि सामान्य तरकारी पसलमा पाइने ‘कोसेली रोटी’ को मिठो स्वाद धेरैको जिब्रोमा झुण्डिएको छ । तर यति मिठा सेल उत्पादन गर्ने विष्णु राइको भोगाइ र संघर्षको कथा चाहिँ त्यति मिठो छैन् ।

काठमाडाै‌। पहिले हाङ सेकुवा चलाएँ, ठिकै भयाे । मैले थोरै लगानीबाट नयाँ काम गर्नु थियो । त्यसपछि सेलरोटी बनाउँने निधो गरेँ।
बनाउँन त बनाउँने तर, कहाँ र कसरी बेच्ने ? धेरै सोचे । आफन्तबाट सुरु गर्ने योजना बनाएँ । २ किलो चालम मिक्सरमा पिसे । त्यसबाट ५ प्याकेट सेलरोटी तयार भयो । आफन्त र दाइका साथीलाई हाङ स्टोरमा आउन अनुरोध गर्दै फोन गरेँ ।
सबैको एउटै प्रश्न थियो, किन ?
घरमा तयार गरेको सेल स्कुटरमा बोकेर दाजुको पसलमा पुगेँ । सधैँझै दाजुको पसलमा ग्राहकको भिड थियो ।
मैले लगेको पाँच पोका सेल एकै छिनमा सकियो । ओहो ! कस्तो राम्रो सेल भन्दै पसलमा आएका ग्राहकहरूले हारालुछ गरे । त्यो देखेपछि आत्मविश्वास बढ्यो ।

?

राेटी बनाउँदै विष्णु

‘सरप्राईज’ दिन बोलाएको दाइका साथी र आफन्तले सेलरोटी देख्न समेत पाउनु भएन । खै त ‘सरप्राइज’ भन्दै आउनुभयो । उहाँहरूलाई अर्को दिन ल्याईदिने बाचा गर्दै बिदा गरेँ ।
आफ्नै प्रशंसा सुनेर हौँसिएकी म अर्को दिन साथीको सुपर मार्केटमा सेलरोटी बोकेर गएँ । तर, साथीले मेरो कुरा सुन्दै नसुनी भन्यो, पसल गरेको मान्छेले के को सेल व्यापार गर्न आँटेको ?
साथीलाई अनुरोध गर्दै भनेँ ‘पहिला सेल हेर र खाउ, विक्री भए हुन्छ नभए म लैजान्छु अनि भनौँला ।’ त्यहाँबाट पनि प्रशंसा नै मिल्यो । कोसेलीको सेलरोटी तयार गरेको मितिले ५ दिनसम्म खान मिल्छ ।
त्यो बेला म बालुवाटारमा भाडाको घरमा बस्थेँ । तेस्रो दिन सेल रोटी लिएर नजिकैको किराना पसलमा पुगेँ। त्यहाँबाट पनि सामान फर्केर आएन ।
चौथो दिनदेखि पसलबाट आफै फोन आउन थाल्यो, भोली मलाई पाँच प्याकेट, छ प्याकेट …. ।
सेल बनाउन र बेच्न सुरू गर्दा मेरो कान्छो छोरा ४ महिनाको थियो । राती नै उठेर सेल पकाउँथे, बिहान पाँच बजे बजार पुगिसक्थेँ । कामको प्रशंसा चारैतिरबाट हुनथाल्यो । बजारमा माग पनि बढ्यो ।
केही समय दर्ता नगरी चलेको मेरो व्यवसायलाई कोशेली नाम दिएँ । सेल हाम्रो परम्परा अनुसार कोसेलीकै रुपमा प्रयोगमा आउँछ ।
यो सीप मैले साथीहरूबाट सिकेको हो ।
सुरूका दिनको सम्झना अहिले आउँछ, सेल स्कूटरमा बोकेर पसल पसल हिँडदाको । बजार चार तिर थियो । बीस प्याकेट सेल स्कूटरमा बोकेर दुई ठाउँ पुग्दासम्म ठिकै हुन्थ्यो, तेस्रो पसल पुग्दा सेल भाँचिएर टुक्राटुक्रा हुन्थ्यो र फिर्ता ल्याउनु पथ्र्यो ।

photo (2)मेरो जुन ठाउँमा बजार थियो त्यो ठाउँको बाटो पीच थिएन । यसले गर्दा ठूलो नोक्सानमात्र होइन आएको अर्डर पनि पु-याउन मुश्किल हुन्थ्यो । लगानी अनुसार गाडी किन्न आर्थिक अवस्था थिएन । तर, मैले गाडीलाई भाडामा ल्याउने विचार गरे ।
भ्यानवालासँग कुरा भयो । भ्यानचालकले भने पहिला ‘बाटो हेर्छु अनि मात्र भन्छु ।’ उनी मेरो सेलरोटी बेच्ने बजारको बाटो सुन्दै आनाकानी गर्न थाले । एउटा सरस्वती नगर, अर्को नारायण थान र बालुबाटार उनले हामीलाई विश्वास नगरे जस्तो गरी प्रश्न गरे । त्यसपछि मैले भनेँ ‘तपाई रुट कता के भन्नु भन्दा पैसा कति चाहियो भन्नुस् ?’ चालकले केही समय सोचे अनि भने ‘तपाई दिनको हजार सेल बेच्नुहुन्छ मलाई पनि हजार रुपैयाँ नै चाहिन्छ ।’ मैले हजार रुपैयाँ नै दिन्छु भनेँ ।
उनले मलाई अविश्वास गरेको देखेपछि भनेँ ‘सेल कति बिक्री हुन्छ वा हुँदैन त्यसमा सरोकार भएन । तपाईलाई दिनको एक हजार रुपैयाँ दिन सकिन भने एक महिनापछि तपाईले गाडी नदिनु होला ।’
सुरूमा एकदिनमै १५ देखि २० हजार रुपैयाँको सेलरोटी विक्री हुन्थ्यो । त्यसपछि अर्को गाडी थपेँ ।
उपत्यकाका एकसय भन्दा धेरै सुपरमार्केटमा कोसेलीले सेल वितरण गर्दै आएको थियो । त्यति बेला होलसेल पसलहरू कोसेलीको सेलका लागि लाइनमा बस्थे ।

हामीलाई भ्याई नभ्याई थियो । उनीहरू आफ्नै रेट लिस्ट लिएर आउँथे । उनीहरूसँग कारोबारको बारेमा छलफल गर्दागर्दै अरु काम गर्ने मौका हुँदैनथ्यो मलाई ।
नभएको दिनमा पनि ४० देखि ४५ हजार रुपैयाँको व्यापार हुन्थ्यो ।

photo (1)कोसेली लेखेको भ्यान बजारमा घुम्न थाल्यो । मैले सोच्दै नसोचेको सफलता हात प-यो । म सञ्चार माध्यममा कहिल्यै आइन । किनकी प्रचार भन्दा काम नै मेरो लागि ठूलो थियो ।

एकजना कर्मचारीले काम हेरी महिनामा १५ देखि २० हजार रुपैयाँ तलब खान्थे । तर, बिचमा मैले समय दिन नसक्दा व्यापारमा केही समस्या आयो ।

किन ? अहिले नभनौ होला । मेरो त्यो बेला दशा नै विग्रेको मान्नुपर्छ ।

आफ्नो घर नहुँनु अर्को बिडम्बना थियो भनौं । घर कालो हुन्छ भन्दै पहिलो घरबेटीले सेल पकाउन दिएनन् । अर्को घरमा सरेँ ।
त्यहाँ पनि सेल किन्ने ग्राहकहरू घरमै आउँन थाले । घरबेटीले टहरा नै बजार हुन थाल्यो अब दिदैँनौ भने, त्यहाँबाट पनि हिड्नु प-यो ।
कर्मचारी पनि बढाउँदै लगे । त्यो बेलासम्म मेरोमा काम गर्ने २२ जना थिए ।

पहिला कोसेलीका तीन वटा फ्याक्ट्री थिए । केही समयको अन्तरालपछि अहिले फेरी बजारमा आएकी छु । यात्रा हो, कहिले उकालो त कहिले ओरालो । विचलन नभई यात्रा गर्ने नै सफल हुन्छ ।

अहिले मैले सबै कुरा छोडेर ४ वर्षदेखि सेलकै काम गरेकी छु । कोसेलीमा ११ जना कर्मचारी छन् । माग धेरै छ, तर, पुरा गर्न सकिएको छैन ।
म खोटाङमा जन्मिएकी हुँ । नेपालीको बानी अगाडी कति राम्रो भन्छन् तर, भित्रबाट नकारात्मक दृष्टिले हेरेका हुन्छन् ।
कामलाई हेर्ने दृष्टिकोण हाम्रो समाजमा अत्यन्तै भेदभावपूर्ण छ । सुरुमा पसलेहरूलाई सम्झाउँन निकै कठिन भएको थियो ।
कुनै ग्राहकले सेलको बोरमा केही भन्यो कि अर्को दिन त्यही पसलेले मलाई एकदमै ‘डोमिनेट’ गरेर बोल्थ्यो ।

यहाँसम्मकी तपाईको सेल अबदेखि नल्याउनु भन्ने पनि नभेटिएका होइनन् । मानौं उसले सेल राखिदिएन भने मेरो गाँस नै खोसिन्छ जस्तो । बजार व्यवस्थापनमा दिनरात नभनी आफैँ खटेँ ।

photo

कतिपय मानिसहरूले मैले खानै नपाए जस्तो गरेर हेर्ने र हेप्ने पनि गर्थे ।

म आफैँ स्कुटर चलाएर जान्थेँ । कामको सम्मान नगर्ने र सेल बेच्ने मान्छे खानै नपाएको भन्ने सोच राख्ने मान्छेको मुखमा ताल्चा लगाउन कहिले काँही महङ्गा घडी र सुनका गहना लगाएर पनि मार्केटिङ गरेँ ।

सेल बेच्ने केटी भन्दै कतिपयले खिल्ली उडाउँथे । तर, मैले मेरो कामलाई सँधै अगाडी राखेँ र ती मान्छेको वास्तै गरिनँ ।
काम गर्दै जाँदा पहिला मलाई निरुत्साहित गर्ने मान्छेले अहिले प्रोत्साहन् गर्छन् ।
अचम्मको कुरा मलाई सबैभन्दा छिःछि गर्ने पसलेले अहिले सबैभन्दा धेरै सेल बेच्छन् । यसमा आफूलाई सफल भएको ठान्छु ।

हाम्रो समाजले अहिले पनि महिलाले फ्याक्ट्री चलाउँछन् भन्ने सोच्दैन । म बजारमा जाँदा ग्राहकले ‘समयमा अर्डर पुरा गर्न तिम्रो साहुलाई भनिदिनु’ भन्छन् । त्यो बेला मैले कहिल्यै पनि ‘साहु मै हो’ भनिन् । अहिले भने त्यस्तो मेहनत गर्नु पर्दैन कोसेली भन्ने वितिकै बोलाउँछन् ।

मेरो ४ महिनाको बच्चा छोडेर म सेलको बजार प्रबद्र्धनका लागि विहानदेखि बेलुकासम्म हिँड्थे । साथीहरूले सुत्केरी पनि यतिबेलासम्म बजारमा भनेर गाली गर्थे । बजारबाट  नौ बजे घर फर्किन्थेँ । चार महिनाको बाबु सुतिरहेको हुन्थ्यो ।
तपाईंलाई विश्वास लाग्दैन होला । मैले मेरो छोरालाई स्कुल ड्रेसमा स्कुल भर्ना भएको तीन महिनापछि मात्रै देख्न पाएँ । म राती फ्याक्ट्रीबाट घर जाँदा छोरा सुतिसक्थ्यो । बिहान उ नउठ्दै हिँड्थे । घर पुग्दा स्कुल गईसक्थ्यो ।

?????????????

एक दिन म एउटा चिया पसलमा चिया खाइरहेकी थिएँ । मेरो भन्दा अघिल्लो टेबलमा बसेका अन्दाजी ४५ वर्षका एकजना पुरुषले कोसेलीको बारेमा कुरा गरिरहेका थिए । मानाैँ उनले मलाई चिन्छन् जस्तो गरी । तर, उनले मलाई चिनेका थिएनन् । उनी भन्दै थिए ‘धुम्बाराहीमा एउटी केटी छे, एकदमै राम्रो सेलरोटीको फ्याक्ट्री चलाएकी छे, मान्नुपर्छ त्यसलाई ।’

उनले मलाई गरेको प्रशंसा सुनेपछि मैले सारा दुःख विर्से । पसलबाट बाहिर निस्कदा ठूलो भारी बिसाए जस्तो भयो । घरमा आएर श्रीमानलाई सुनाएँ । यसले मलाई आफ्नो बाटो देखाईदियो ।

श्रीमानको ठूलो सहयोग र मेरो मेहनतले कोसेली तपाईहरूसँगै छ । पाईपाई गरेर हिसाब गर्ने हो भने विदेशमा राम्रो कमाउने बराबरको कमाइ मेरो पनि हुन्छ । पैसा मात्र होइन, म त आफ्नै परिवारसँग बसेर आफ्नै देशमा काम गरिरहेकी छु । ( कुराकानीमा आधारित ।)

प्रकाशित मितिः २०७२ भदौ १० गते बिहीवार

प्रस्तुति/अरुणा रायमाझी  Email : [email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: