सन्दर्भः२० औं जन्मजयन्ती
प्रजातान्त्रिक र महिला अधिकारका योद्धा मंगलादेवी सिंह
मंगलादेवी सिंहले तत्कालनि श्री ३ पद्म शमसेरलाई भेटेर महिलाले पढ्न र भोट हाल्न पाउने अधिकार माग गरेकी थिइन् । त्यसपछि पद्म शमसेरले आफ्नै नाममा पद्मकन्या स्कुल खोलेका थिए ।
विजया श्रेष्ठ के.सी.
वि.सं. १९८२ मंसिर १५ गते बुबा बद्रीलाल श्रेष्ठ र आमा पूर्णदेवीको कोखवाट पहिलो सन्तानको रुपमा मंगलादेवीको जन्म भएको हो । मंगलावारको मंगल साइतमा जन्मेकाले उनको नाम मंगलादेवी रहन गयो । घर तथा मामा घर सम्पन्न मंगलादेवी वाल्यकाल सुखमय रहयो । अकसर केटाहरुले खेल्ने खेल सास्कला भाच्ने,माछा मार्ने खेल मंगलादेवीको प्रिय खेलहरु थिए । आमावाट सिकेको क ख ग साथीहरुलाई सिकाउने स्लेट पार्टी किनिदिने,खाजा खुवाउने,पाटी पौवाकोलागि सुकुल किनिदिने जस्ता कृयाकलाप उनी वाल्यकाल देखि गर्थिन ।
शिक्षा
आफूभन्दा सात आठ वर्ष कान्छा भाईहरु र काकाहरु दरवार स्कूल जाने, आफू घरमा वस्नुपर्ने, खाना एक्लै ढिला खानु पर्ने स्थिति देख्दा मंगलादेवीमा “म किन स्कूल जान नपाउने, किन खाना पहिले नपाउने ? भन्ने बिद्रोहको भावना उठथ्यो । त्यसैले म पनि स्कूल जान पाउँ भनी विद्रोह गरिन् जसले गर्दा
भाईहरूसँगै खाना खान पाइन र पढनका लागि उनलाई घरमै टयुसनको व्यवस्था गरियो ।
मंगलादेवीको विवाह वि.सं १९९७ असार १० गते राजद्रोही मानिएका गणेशमान सिंह( हिराकाजी ) सँग सम्पन्न भयो ।
पति गणेशमानको जेल यात्रा
विहे भएको ४ महिनामा गणेशमान राजद्रोही र राजगद्दी ताकेको अभियोगमा नेल हत्कडी लगाई सिंह दरवारको कठोर खोरमा लग्दा समेत मंगलादेवीलाई राजनीतिको त के कुरा आफ्नो पतिको नाम गणेशमान हो भन्ने कुरा समेत थाहा थिएन । जेलमा गणेशमानलाई दिईने वाँसमा वाधेर कोर्रा हिर्काउने, नङमा सियोले घोच्ने,खुट्टामाथि टाउको तल पारी झुण्ड्याई पिट्ने आदि यातना सामान्य सजाय मानिन्थ्यो । कैले कैले उनका मैला लुगा घरमा धुन ल्याउँदा रगतका टाटाहरू प्रशस्तै हुन्थे । यो देख्दा मंगलालाई “मेरो श्रीमान् जनताका मुक्तिको लागि लडेका हुन ”भन्ने निक्र्यौल हुन्थ्यो । लुकी लुकी श्रीमानलाई भेट्न जाँदा आफ्नो श्रीमान् भेट्न जाने अन्य महिलाहरूसँग उनको हेलमेल बढीरहेको थियो । साथै आफू परिवारको जेलमा भएको महसुस भै केहि त गर्नुर्छ भन्ने आंकांक्षा बढीरहेको थियो ।
राजनीतिक सचेतना र प्रण
गणेशमान पक्राउ परेको ५ महिनापछि चार जनालाई मृत्युदण्ड र अन्य एक्काईस जनालाई ६ वर्षदेखि आजिवन कारावास तोकिएको थियो । शुक्रराज शास्त्री, दशरथचन्द र गंगालाललाई झुण्डयाएको ठाँउमा घरवाट लुकेर पुगी मंगलादेवीले श्रद्धान्जली व्यक्त गर्दै राणाशासनको वदला लिन आफ्नो जिन्दगी अर्पण गर्न प्रण गरिन् । घरमा उनीप्रति कठोर निगरानी सुरु भै सकेको थियो ।
२००१ साल असार १९ गते गणेशमान जेल तोडी भागेको सुन्दा मंगलादेवीलाई घरको चार दिवार तोडी प्रजातन्त्रको लागि लड्ने प्रवल इच्छा भै सकेको थियो । साथै राजनीतिक छलफल, नागरिक अधिकार समिति, प्रजा पञ्चायत जस्ता संस्थामा पनि उनी सहभागि भैसकेकी थिइन । प्रजा पंचायतका अध्यक्ष विश्वेश्वर प्रसाद कोइराला थिए । साठी सत्तरी जनाको बैठकमा उनी एक्ली महिला हुन्थिन् । त्यहाँ महिलाको कुनै आवाज नउठने र आफ्नो उपस्थिती शुन्य जस्तै लागेर मंगलादेवीले महिला संस्था खोल्ने निर्णय गरिन् ।
नेपाल महिला संघको स्थापना
२००४ सालमा काठमाडौंको म्हेपीमा वनभोज जाने वहानामा मंगलादेवीको नेतृत्वमा महिला सम्मेलन गरी भूमिगत रुपमा नेपाल महिला संघको स्थापना गर्ने प्रयासको सुरुवात गरियो । साउन २४ गते मंगलादेवीकै सक्रियतामा चिनियालाल श्रेष्ठको घरमा महिला भेला सम्पन्न भै मंगलादेवी कै अध्यक्षतामा संघको तदर्थ समिति गठन गरियो ।
महिला आवाज
२००५ सालमा पद्म शमसेरले गरेका सुधार प्रति असन्तृष्ट व्यक्त गर्न आफ्नो विचार मिल्ने एक्काइस जना महिला भेला पारी तत्कालिन श्री ३ पद्म शम्शेरलाई भेट्न जाँदा ‘बुढा ससुरा बडाकाजी रत्नमान यहाँ किन आएका ?’ भन्ने प्रश्नको उत्तरमा मंगलादेवीले नडराईकन महिलाको अधिकार माग्न आएका भनी जवाफ दिईन् । यो भेटमा पद्म शम्शेरले चुनावमा भोट हाल्न र स्कूल खोली दिने वचन उनलाई दिए । चुनाव तुरुन्तै भएर पद्मकन्या स्कुलको स्थपना भयो । त्यसै दिनदेखि उनै मंगला देवीका लागी वडा काजीको दरवारको ढोका बन्द भयो ।
क्रान्तिमा महिला
२००७ सालको क्रान्तिमा महिला नेताहरू मंगलादेवी, दिव्या कोइराला, नलिनी उपाध्याय आदिले गोप्य रुपमा क्रान्तिका लागि ल्याइएका हतियार राख्ने, ओसारपसार गर्ने, घाइते कार्यकर्ताको हेरविचार गर्ने, खाना, औषधी आदिको व्यवस्था गर्ने जस्ता कार्यभार सम्हाली क्रान्ति सफल पार्न सक्रिय भूमिका खेलेका थिए । क्रान्ति सफल भएपछि महिला संघ पनि खुला रुपमा राजनीति गर्न थाल्यो । २००८ साल साउन १७ गते काठमाडाै को भुगोलपार्कमा प्रजातन्त्रवादी महिलाको वृहत भेलामा श्री ५ त्रिभुवन र महारानी कान्ति राज्य लक्ष्मी सहितको उपस्थिती थियो । २०१५ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन नेपाल महिला संघले सक्रिय भूमिका खेल्यो ।
२०१७ साल पुष १ गते जननिर्वाजित प्रधानमन्त्री वी.पी. कोइरालाको सरकार भंग तथा पार्टीमाथि प्रतिवन्ध लगाईयो । त्यसपछि मंगलादेवीले भूमिगत भएर आन्दोलन चलाउन थालिन् तर २०१८ सालमा कारागार सजाय पाइ्न । जेलवाट छुटेपछि आठ वर्ष निर्वासित जीवन विताइन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनले राजा विरेन्द्रलाई जनमत संग्रहको घोषणा गर्न वाध्य परेको थियो । यो आनदोलन सफल पार्न महिला संघको महत्वपूर्ण भूमिका रहेको थियो । मंगलादेवी महिला वहुदल प्रचार समितिकी अध्यक्ष भईन् । जसको शाखा जिल्ला जिल्लामा खोलिएको थियो ।
२०४६ सालको आन्दोलनको विगुल मंगलादेवी कै घरको आगनवाट फुकिएको थियो । वामपन्थीहरूलाई साथमा लिएर जान उनले विशेष भूमिका निभाएकी थिइन् । यो आन्दोलन पनि मंगलादेवीलाई नजरवन्द राखिएको थियो । आन्दोलन सफल भयो । महिला संघमाथिको प्रतिवन्ध पनि फुकुवा भयो ।
२०४६ जेठमा पुनः मंगलादेवी सिंह कै अध्यक्षतामा उन्नाइस सदस्यीय कार्य समितिको गठन गरियो ।
२०४८ सालको निर्वाचन
२०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीय सदस्य समेत रहेकी मंगलादेवीसिंह काठमाडाैंवाट चुनाव लडेकी थिइन् । तर घात अन्तरघात कै कारणले उनले पराजय वेहोर्नुपर्यो तर पनि उनले आफ्नो लक्ष्य छोडिनन् ।
दाम्पत्य जीवन र सन्तान
गणेशमान सिंहसँगको छपन्न वर्षको दापत्य जीवनमा मंगलादेवी श्रीमानसँग वीस |वाइस वर्ष मात्रैसँगै बस्न पाइन् । राजनीतिक ,क्रान्ति, संघर्ष आदिका कारणले गणेशमानले नभ्याएका, नसकेका सम्पूर्ण जिम्मेवारी मंगलादेवीले लिएकी थिइन् । उनीहरूका दुई छोरा प्रदीपमान र प्रकाशमान हुन् भने कान्ता, रीता र डा.मीता तीन छोरी छन् । मंगलादेवीलाई जीवनको हरमोडमा मद्दत गर्ने पी.एल.सिंह पनि आफ्नै छोरा जस्तै हुन् ।
मंगलादेवीको जीवनको उत्तरार्द्धमा मधुमेहको कारण मृगौलामा असर गर्यो र उनी रोगाउन थालिन् । उनको उपचार नेपाल तथा भारतमा गरियो तर, निको भएन । २०५३ साल भदौ १० गते वीर अस्पतालमा मंगलादेवीको स्वार्गरोहण भयो । हजारौ जनताले उनको अन्त्येष्ठिमा श्रद्धाञ्जली व्यक्त गरे ।
प्रकाशित मिति :२०७२ भदौ ९ गते विहिवार
Comment Here!