छि.छि दुरदुर गर्दा मन खिन्न हुन्छ


प्रकाशित मिति :2015-08-28 10:43:50

निर्मला ठाकुराठी

DSCF1681

काठमाडाैं, भदौ ११। सडकको मर्मत  र सरसफाई गर्न खटिएका कर्मचारीले घामपानी नभनी काम गर्नुपर्ने हुन्छ । सडक विभागमा करारमा काम गर्ने ती कर्मचारीले पानी पर्‍यो, काममा जान्न भनेर सुख पाउँदैनन् । एकदिन काममा नगए तलब काटिनेमात्र होईन जागिर नै जाला की भन्ने डर हुन्छ उनीहरूलाई ।

काठमाडौंको तीनकुनेस्थित सडक  छेउमा दिउँसोको टन्टलापुर घाममा आफ्नो काममा व्यस्त देखिने रीता भट्टराइ र धनमाया खत्रीको कुरा सुन्दा सडकमा काम गर्ने अन्य मजदुरको अवस्था पनि यस्तै होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ । सडक छेउको ढल सफा गरिरहेकी रीता भट्टराई भन्छिन् ‘काम नगर्दा जागिरै जाला भन्ने डर छ, छोराछोरी पाल्नुपर्छ, कोठा भाडादेखि छोरा छोरीको पढाइको शुल्कसम्म सबै बेहोर्नुपर्छ ।’ बिरामी पर्दा पनि घाम पानी नभनी काम गर्ने महिलाले सरकारी कर्मचारीसरह सुविधा पाउन भने सकेका छैनन् ।
सिन्धुपाल्चोककी ४५ वर्षीया रीता भट्टराई १० वर्षदेखि डेरामा बस्दै आएकी छन् । श्रीमानलाई फोक्सोको रोग लागेपछी परिवारको सबै जिम्मा उनको काँधमा आएको हो । पहिला उनका श्रीमानले सडक विभाग कै करारमा यो काम गर्दै आएका थिए । श्रीमानको फोक्सोमा समस्या आएर शल्यक्रिया गरेपछि श्रीमानको ठाउँमा काम पाएकी रीताले  एक्लैको कमाइले चारजनाको परिवार पाल्न निकै  समस्या परेको बताउँछिन । बिरामी श्रीमानलाई उपचार, दुई सन्तानको पढाईको व्यवस्था गर्नै मुश्किल हुने उनको भनाइ छ ।  फोहोर उठाउने, बेल्चा, गाडी चलाउनुपर्ने ढुङ्गा फाल्नु पर्ने, नाली सफा गर्नुपर्ने, घाँस काट्नु पर्नेजस्ता कामले गर्दा साँझ घर पुग्दा निकै थकाइ लाग्ने उनी बताउँछिन् ।
बाटोमा हिँड्ने बटुवाले समेत महिलाले पनि यस्तो काम गर्छन् भनेर हेप्ने गरेको तितो अनुभव छ रीतासँग । आफूहरूल् गरिरहेका कामलाई धेरैले हेप्ने गरको उनीहरूको अनुभव छ । सडकको छेउछाउ नाला वरीपरी काम गरिरहँदा धेरैले जिस्क्याउने, उडाउने गरेको  उनीहरू बताउँछन । सडक विभागको पोशाक लगाएर यात्रा गर्दा कहिँ कतै छोइयो भने यात्रुले छि.छि दुरदुर गर्दा मन खिन्न हुने रीताले बताइन् ।
सँगै काम गरिरहेकी ४० वर्षीया धनमाया खत्रीको अनुभव पनि रीताको भन्दा फरक छैन ।  । उनीहरूले प्रायसँगै काम गर्ने हुनाले पनि अरुले गर्ने अपमानको सामना पनि सँगै गर्छन् । धनमायाले भनिन् ‘पढेलेखेको भए यस्तो काम गर्ने थिएनौं, हाम्रो बाध्यता त होनी यतिको दुःख गरेको देख्दा पनि कसरी हेला गर्न सक्छन हामीलाई ?’ बिहानै १० बजे नै पुग्ने र दिनभरी काम गर्ने धनमायाका श्रीमान पनि सडक विभागमै काम गर्ने हुँदा उनलाइ भने घर परिवार चलाउन भट्टराईको भन्दा अलि सहज छ । दोलखा छोडेर १२ वर्ष अगाडी काठमाडाैं आएकी उनले १० वर्षदेखि विभागमा काम गरिरहेकी छन् ।

डिभिजन सडक कार्यालय काठमाडाैं मीन भवनका प्रमुख धर्मेन्द्र झाले पुरुष भन्दा महिला काममा बढी इमान्दार हुने अनुभव सनाउँछन् । उनले महिला पुरुष दुबैले गर्ने काम समान हुने भन्दै महिला भनेर नै त्यसरी कामको बाँडफाड नगर्ने बताउछँन् । झाले भने महिलाले पनि बेल्चा, गाडी, चलाउनुपर्ने ढुङ्गा फाल्नु पर्ने, नाली सफा गर्नु पर्ने, घास काट्नु पर्ने लगायतका पुरुषले गर्नुपर्ने सबैकाम गर्नुपर्छ  । त्यस्तै डिभिजन सडक कार्यालय काठमाडौं टेकुका प्रमुख कर्ण बहादुर रानाभाट पनि पुरुषको तुलनामा महिला कामदार बढी इमान्दार हुने बताउँछन । अहिले काठमाडौंमा १ सय ४५ जना सडक मजदुर मध्ये २७ जना मात्रै महिला कामदार  छन । महिला कर्मचारी इमान्दार भएता पनि पुरुष भन्दा धेरै कम छन् । मीन भवनका प्रमुख झा भन्नुहुन्छ ‘हामीले कर्मचारी नियुक्ती गर्दा महिला पुरुष भन्दैनौं तर महिलाले नै सडकमा काम गर्न लाज मान्ने  गरेकाले महिला कामदारको संख्या कम रहेको छ ।’

प्रकाशित मिति: २०७२ भदौ ११ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: