महिला खबर
काठमाडौं, ११ भदौ । नेपालमा केही अस्पतालले कानुन विपरीत सेरोगेसी सेवा सञ्चालन गरेको प्रति राष्ट्रिय महिला आयोगले विरोध गरेको छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई पैसाको प्रलोभन देखाएर गैर कानुनी कार्य गरेको भन्दै आयोगले विरोध जनाएको हो ।
महिला आयोगका सदस्य एवं प्रवक्ता मनु हुमागाईले बिहीवार प्रेस विज्ञप्ती निकालेर महिलाको मातृत्व तथा प्रजनन् क्षमताको खरिद बिक्री गर्ने कार्यको भत्र्सना गर्नुभएको छ ।
अस्पतालले गैरकानुनी रुपमा सञ्चालन गरेको कामलाई कानुनी मान्यता दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन निर्माण प्रक्रिया अघि बढाएको प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
सर्वोच्च अदालतले सरोगेसीको लागि कानुन निर्माण गर्न रोक लगाएको निर्णयलाई आयोगले समर्थन गरेको छ । विज्ञप्तीमा भनिएको छ–‘अदालतको आदेशको पालना गर्दै कानुन निर्माण कामलाई अघि नबढाउन नेपाल सरकारसँग अपिल गर्दछ ।’
आयोगले गैरकानुनी काम गर्ने अस्पतालहरूमाथि कडा कार्वाही हुनुपर्ने माग राखेको छ । सरोगेसीबाट जन्मने सन्तानमा आमाबाबु कसको अधिकार हुने, महिलाको शरिर तथा जीवन शोषणबाट कसरी मुक्त गर्ने, बच्चाको नागरिकतालगायतका सवाल रहेको आयोगले जारी गरेको विज्ञाप्तीम उल्लेख छ । यस्ता सवालमा नीतिगत, संस्थागत र कानुनी समस्या समेत भएको आयोगको भनाइ छ ।
प्रकाशित मिति २०७२ भदौ ११ गते शुक्रवार
Comment Here!