अविवाहित महिलाको पहिचान


प्रकाशित मिति :2015-08-29 15:21:39

अविवाहित महिलाले जुन घरमा जन्म्यो त्यही घरभित्र वंशीय विरासतको पहिचान खोज्न जरुरी छ । त्यो विरासत पैत्रिक सम्पत्तिभित्र छ । हामीले मुद्दा लडेर भएपनि दाजुभाइ सरह पैत्रिक सम्पत्ति हासिल गर्न सक्नुपर्छ । त्यसपछि राज्यसँग आफ्नो पहिचानको हक माग्नुपर्छ ।

गीता मैनाली

293306_1941419775447_303279_nविवाह परिवार निर्माणको प्रस्थान विन्दु हो । विवाहका लागि कानुनले महिलाको उमेर १८ वर्ष र पुरुषको उमेर २० वर्ष तोकेको छ । यो उमेर सन्तान उत्पादनका लागि परिपक्व मानिन्छ । सन्तान उत्पादन गर्ने क्षमता पुरुषमा आठ वर्षको उमेरदेखि शुरु भै ८० वर्षसम्म रहन्छ भने महिलामा सन्तान जन्माउने उमेर निश्चित हुन्छ अर्थात रजस्वला शुरु भएदेखि बन्द नभएसम्म अथवा १५ देखि ४९ वर्षसम्म रहन्छ ।

भनिन्छ जन्म, मृत्यु र विवाह कसैको पनि वंशमा हुँदैन । त्यसैले कानुनले तोकेको निश्चित मापदण्डभित्र सबैको विवाह नहुन पनि सक्छ । परिणामत : समाजमा आज पनि बालविवाह र बहुविवाह जस्ता प्रचलन बिद्यमान छन् र त्यसको शिकार महिला नै भएका छन् । अर्कातिर परिवार र समाजलाई नियाल्ने अविवाहित महिला र पुरुषको संख्या उल्लेख्य छ । पुरुषको तुलनामा अविवाहित महिलाको संख्या धेरै छ । त्यसको कारण पुरुषले जुनसुकै उमेरमा विवाह गर्न सक्नु र महिलालाई निश्चित उमेर पछि विवाह गर्न समस्या देखिनु हो । ४० वर्षको उमेरमा २० वर्षकी केटीसँग विवाह गर्ने हाम्रो समाजमा ३५ वर्ष पुगेकी केटीलाई अब यसको विवाह हुँदैन भनेर टिकाटिप्पणी गरिन्छ ।

पुरुष र महिला भन्दा पनि एउटा पूर्ण मानवको जीवन बाँचिरहेका अविवाहित महिलाको अवस्था परिवारको नजरमा बेतलवी घरेलु कामदार, समाजको नजरमा यौनिक चाहनाको कुण्ठा पालेर बसेकी (बुढीकन्या) अनि राज्यको नजरमा संवोधन गर्न बिर्सेको एउटा बिषयको रुपमा छ ।
जन्म दिने आमाबाबु बाटै छोरा र छोरीबीचको भेदभाव राखेर हुर्काइनु र पैत्रिक सम्पत्तिमा समान अधिकार कानुनमा उल्लेख भएपनि व्यवहारमा कार्यान्वयन नहुनुका कारण घर परिवार र समाजमा पुरुषले महिलालाई कमजोर बनाउँदै छन् । तर प्रकृति र विज्ञानले महिलालाई सर्वगुण सम्पन्न बलवान बनाउँदै लगेको छ । एउटा निश्चित उमेर ढल्केपछि अर्थात ५० वर्ष उमेर पार गरिसकेपछि महिलाहरू निडर र बलवान हुँदैजान्छन् भने पुरुषहरू कमजोर र बेसहारा महसुस गर्न थाल्दछन् ।

तर समाजले पुरुषत्वको वकालत गर्ने भएकाले ७० देखि ८० को उकालो चढिरहेका अविवाहित चर्चित कवि तुलसी दिवसले सार्वजनिक कार्यक्रमहरूमा बडो गौरवका साथ भन्ने गर्नुहुन्छ, ‘मैले विवाह किन गरिन ? वकालत गर्दै हिड्नुपर्छ भन्ने मलाई लाग्दैन, जिन्दगी सोचे जस्तो गरी योजना भित्र चल्दैन ।’ उहाँ भन्नुहुन्छ ‘यदी मैले चाहेँ भने अहिले पनि २५ वर्षकी कन्याको विवाह प्रस्ताव आउँदैछ ।’
तर महिलाको हकमा यो नियम लागु हुँदैन । यदी ४० वर्ष उमेर पार गरेकी कुनै महिलाले विवाह गर्न चाहेमा समान उमेरका पुरुषले अस्विकार गर्छन् । ती महिलाको विवाह भयो भने घरभरी छोराछोरी भएका उमेरमा पनि धेरै जेठा विदुर पर्ने गर्छन् । जवकी त्यही उमेरका पुरुषले

आफूभन्दा कम उमेरकी महिलासँंग छानी छानी विवाह गर्न पाउँछन् । त्यही उसको समाजमा प्रतिष्ठाको विषय बन्दछ । त्यसैले महिला र पुरुषको विवाहका लागि समाज र संस्कारले निर्धारण गरिदिएका यी फरक मापदण्डले अहिले पनि अविवाहित महिलाले भोग्ने सामाजिक विभेदको खाडल गहिरो छ ।

महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझा वंशीय विरासतभित्र स्थान, मान सहितको पहिचान नहुँनाले अविवाहित महिलाले समाजमा अनेक किसिमका लांञ्छना, टिकाटिप्पणी सुन्नु, सहनु र भोग्नु परेको बताउँछिन् । अविवाहित महिलाका विषयमा सीता भन्छिन्, ‘अविवाहित महिला मानवभित्रका पनि पूर्ण मानव हौँ ।’ हामी मानव अधिकारभित्र आफ्नो अधिकार खोज्ने महिला हौँ । विवाह गर्न मन नलाग्नु पनि अधिकार हो । जन्मदा एक्लै मर्दासम्म पनि एक्लै बाँचेको जीवन एकल जीवन, पूर्ण जीवन अथवा सम्पूर्ण आकाशभित्रको आधा आकाश ओगट्ने हाम्रो जीवनलाई राज्यले एकल महिला भनेर पहिचान बनाइसकेका श्रीमान गुमाएका समाजले चिन्ने भाषा (विधुवा) भित्र राखिदिएको छ । एकलभित्र पनि हाम्रो पहिचान अलग छ ।

अब हामी अविवाहित महिलाले जुन घरमा जन्म्यौं त्यही घरभित्र वंशीय विरासतभित्रको पहिचान खोज्न जरुरी छ । त्यो विरासत पैत्रिक सम्पत्तिभित्र रहेको छ । हामीले मुद्दा लडेर भएपनि दाजुभाइ सरह पैत्रिक सम्पत्ति हासिल गर्न सक्नुपर्छ । त्यसपछि राज्यसँग आफ्नो पहिचानसहितको हक र अधिकार माग्नुपर्छ भन्दै अध्यक्ष सीताले आफू मुद्दा लडेरै भएपनि भाइसरह अँश लिइछाड्ने प्रतिबद्धता जनाउँनुभयो ।
करिव ४ दशक पार गरे नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले । उनी अविवाहित छन् । लामो समय विवाह नगरी बस्दा उनलाई सामाजिक नियम उल्लङ्घन गर्न लागिस कि भन्ने खालका चिन्तासहितको टिप्पणी परिवार र समाजबाट आउँने गर्छ । तर त्यो महिलालाई गरिने टिप्पणी भन्दा कम र सकारात्मकता हुन्छ भन्ने अनुभव छ उनको । सुदूरपश्चिम महेन्द्रनगरकी राधालक्ष्मी खरेल नेकपा एमाले पार्टीमा आबद्ध छन् । उनी भन्छिन्, ३५ वर्ष उमेर पुगेपछि घरमा अँश माग्न जाँदा दाजुभाइलाई फुर्सद भएन । उनी भन्छिन्, ‘बुबाले मौखिक रुपमा अँश त दिनुभयो तर लिखितरुपमा पाएकी छैन् । यो बेलामा नपाको अँश मर्नेबेलामा के काम ?’

परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको सेवाबाट निवृत्त विष्णु रेग्मी घरपरिवार र राष्ट्रलाई पूर्ण रुपमा सेवा प्रदान गर्ने अविवाहित महिलालाई पनि विधुवा एकल महिलालाई जस्तै छुट्टै व्यवस्था गर्नुपर्ने धारणा राख्छिन् । उनका विचारमा अविवाहित महिलालाई सरकारको तर्फबाट गाँस र बासको व्यवस्था गर्नुपर्छ ।

अधिवक्ता सरस्वती श्रेष्ठका विचारमा अविवाहित महिलाको संख्या कति छ ? कुन अवस्थामा छन् ? अविवाहित रहेकै कारणले कस्ताकस्ता समस्या भोगीरहेका छन् ? भन्ने जान्नका लागि यो समूह एकत्रित हुन जरुरी छ । त्यसपछि राज्यले आवश्यक परेको बेला एकल महिलाभित्र रहेको बौद्धिक क्षमताको पनि सदुपयोग गर्न सक्छ । अविवाहित एकल महिलाको अवस्थाका बारेमा नकारात्मक सामाजिक टिकाटिप्पणी बाहेक राज्य पनि अनभिज्ञ छ । सबभन्दा पहिला अविवाहित एकल महिला र विधवा एकल महिलाको कोलम छुट्याउनु जरुरी छ ।

अर्को कुरा सम्पत्तिले परिवार ल्यायो । परिवारले विवाह ल्यायो । सम्पत्ति, परिवार र समाज एकअर्काको परिपूरक हुँदै गयो । पितृसतात्मक सोच बोकेको हाम्रो जस्तो समाजमा अँशले वंश धान्नुपर्ने र त्यो वँश पुरुषको नामबाट हस्तान्तरण हुनुपर्ने अवधारणाको विकास हुँदै गयो । उखानै छ बाउ बाजेको नाक काट्नु हुँदैन् । नाक सास फेर्ने अँग हो । प्रत्येक जीवित प्राणीले सास फेर्छ । सास फेर्न छोड्ने बित्तिकै त्यो प्राणी लासमा परिणत हुन्छ र उसको अस्तित्व समाप्त हुन्छ । शरीरको त्यस्तो महत्वपूर्ण अंगलाई वंशको अगाडि गौण बनाइयो । अब संस्कारको नाममा रहेका यस्ता कुसंस्कारलाई हटाउदै आफ्नो पहिचान बनाउनको लागि सक्षम हुनु आवश्यक छ ।

अधिकारको लडाई चलिरहेको समयमा अविवाहित महिलाको अधिकार सुनिश्चित गर्नको लागि पनि कानुनमा उल्लेख भएका प्रावधान कार्यान्वयन गर्नुको साथै संस्कार सोचाईमा पनि परिवर्तन ल्याउनु पर्दछ ।

मिति २०७२ भदाै १२ गते शनिवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: