बेलिना थापा
लमजुङ, भदाै १२ । नमस्कार दिदी ! बेशीसहरको बजारमा हिँड्दै गरेकी महिलालाई भनेँ । नमस्ते फर्काउँदै उहाँले के भयो बहिनी भनेर सोध्नुभयो । मैलै दिदी म रेडियोबाट आएको । रेडियोमा प्रशारण गर्न तपाईलाई केही सोध्न चाहन्छु भनिदिनुस है ।
उनले हैन्, हामी महिलालाई के थाहा छ र यी कुराका बारेमा अरु पुरुषहरू नै छन् नि, उहाँहरूसँग सोध है भन्दै हिडिन् । दिदी मैले हजुरको ..भन्न नपाउँदै उनी बढिहालिन् ।
कुरा निकै पहिलाको हो । म भर्खरमात्र रेडियोको समाचार शाखामा काम सिक्दै थिएँ । समाचार रिर्पोटका लागि जनआवाज लिन बेशीसहर पुगेकी थिएँ ।
मसँग अर्को साथी पनि हुनुहुन्थ्यो ।
जनआवाजको लागि जुन दिन मेरो पालो आउँथ्यो, मैले सोच्थें बाहिर त जाउँला तर, बोल्ने को ? त्यसमाथि आफैँलाई पनि बोल्न डर लाग्थ्यो ।
म धैरे जसो महिला दिदी बहीनीसँग भएको ठाउँमा बोल्न अनुरोध गर्न जान्थें ।
तर, महिला हत्तपत्त बोल्न खोज्दैनथे । खोजी हालेपनि अधिकांश के बोल्नु ? हामी बोलेर के हुन्छ ? यस्तै प्रतिप्रश्न उनीहरूको हुन्थ्यो ।
‘दिदी यो विषय त सजिलो छ नि हजुरले बोल्न सक्नुहुन्छ आफ्नो थोरै विचारमात्र राखी दिनु न’ हरेक पटक मैले धेरै अनुरोध गर्थें तर, उनीहरू बोल्नै चाहदैनथे ।
महिला नबोले साँझ रेडियोमा के बुझाउने ? बाटोमा पुरुष देख्न वित्तिकै लाग्यो यिनीहरू बोल्छन् होला ? म उनी नजिकै गएँ र आफ्नो परिचय दिएँ । अनि जनआवाजका लागि त्यसदिन दिइएको विषयमा आफ्नो विचार राखिदिन अनुरोध गरेँ । अनि ती पुरुषले ‘ओहो…! हो र ? यो विषयमा त भन्नै मन छ, म बोल्छु ।’
झोलाबाट रेकर्डर झिकँे । प्रश्न गरे । उहाँले सजिलैसँग जवाफ दिनु भो । धन्यवाद सर, भन्दै विदा भएँ ।
बोटोभरी सोचें, पुरुष सजिलै बोल्न तयार हुने तर, महिला किन बोल्न चाहदैनन् ?
अनि आफैँभित्र उत्तर खोजेँ । पारिवारिक समस्याको कारण बोल्न हुँदैन भन्ने त होइन ?
महिलाको कुरा कसले पो सुन्छ भन्ने सोचेका त छैनन ? यस्तै–यस्तै कुराहरू मनमा खेलाउँदै कार्यालय फर्किएँ । त्यो दिन पाँचै जना पुरुषको आवाज लिएकी थिएँ ।
यतिमात्र होइन, केही विद्यालयमा शिक्षकले आफूले पढाएको विषयमा प्रश्न गर्दा बोल्न आउँदैन,भन्दै भाग्ने गरेको धेरै अनुभव मैले बटुलेकी छु । शिक्षित धेरै पढेका महिला पनि बोल्न नचाहने कारण के ?
म हैरान हुन्छु । कुनै कार्यक्रममा समाचार संकलनका लागि जाँदा त्यहाँ बोल्ने पुरुष नै हुन्छन् । तर, महिलालाई यस्तो भन्नु है भनेर सिकाउँदा पनि बोल्न नसक्ने ।
राजनीतिक, सामाजिक क्षेत्रमा लागेका महिला भने बोल्न इच्छुक हुन थालेका छन् । तर, आम पुरुष झैँ महिला भने आफ्ना साथीभाईसँग बढो उत्साहका साथ कुरा गर्छन्, तर, कुनै विषयका बारेमा थाहा भएपनि बोल्न तयार हुँदैनन् ।
अनौपचारिक कुराकानीका क्रममा बोलेको कुरालाई रेडियोका लागि बोलिदिनु न त रेडियोमा सबैले सुन्छन्, ज्ञान पाउँछन् भन्दा भो केही आउँदैन भन्छन् ।
पढेलेखेका महिला पनि के बोल्ने ? बोल्दिन भन्दै हिँड्छन । त्यहाँ पनि बोल्ने पुरुषहरू नै छन् ।
महिलालाई जति तालिम दिएपनि सिकेका कुरा बाहिर ल्याउन सक्दैनन् र चाहँदैनन् पनि । खासगरि महिलालाई सानैदेखि धेरै बोल्ने, हिँड्ने खालका स्वतन्त्रता नहुँदा उनीहरू बोल्न धक मानेको हुन की ? यो कुरामा स्पष्ट हुन मैले महिला विकास अधिकृत लमजुङकी दिपा घिमिरेलाई सोधेँ । ‘घरकाले के भन्लान भन्ने डर र लाजका कारण बोल्न चाहँदैनन्’ उहाँले भन्नुभयो । अहिले महिला केही मात्रामा माथिल्लो तहमा पुगेका छन् । तैपनि पनि महिला मुख खोल्न डराउँछन् ।
पढे लेखेको मानिस बोल्न हिचकिचाउन्न आफ्ना कुरा प्रष्ट राख्न सक्छन् भन्दै त्यही महिला मध्येका एक महिलाले आफ्नो भाषणमा भनेका हुन्छन् सारा कुरा तर त्यही भाषण सुन्ने महिला बोल्न देखी डराउँछन् ।
सञ्चार माध्यममा अन्र्तवार्ता दिने देखि समाचार पुष्टि गर्ने वा भनिदिने स्रोतहरू सवै पुरुष हुने गर्छन् । म पत्रकारितामा सक्रिय भएदेखि नै मैले आफूले रेडियोमा चलाउने कार्यक्रममा सकेसम्म महिलालाई प्राथमिकता दिन खोज्छु र समाचारहरू महिलालाई सोधेर बनाउन चाहन्छु । तर उनीहरू बोल्न तयार हुँदैनन् । अहिले पनि महिला प्रमुख भएको कार्यालयमा अन्तर्वाता लिन जादाँपनि कतै बहिनी हामी महिलाले के जानेका छौं र भन्ने त होइनन् ?
प्रकाशित मिति : २०७२ भदाै १२ गते शनिवार
Comment Here!