एजेन्सी, हरियाणा, भदौ १३ । महिलासँग सम्बन्धित सबै अपराधका घटनालाई सम्बोधन गर्न भारतको उत्तरी राज्य हरीयाणामा महिला प्रहरी चौकीको स्थापना गरिएको छ । यो चौकीले हरीयाणाका सबै जिल्लामा महिला हिंसा र अपराधका घटनालाई छानविन गरी कार्वाही गर्नेछ । उक्त चौकीमा प्रहरी निरिक्षक उमेश वालाको नेतृत्वमा २७ जना महिला प्रहरी खटाइएको छ । उनीहरूलाई कानुनी सल्लाह र हिंसा पीडित महिलाको पुर्नस्थापनाका लागि गैरसरकारी संस्थाहरूले सघाउने छन् ।
त्यहाँ ५० जनाको दङ्गाविरुद्धको महिला प्रहरीको एक समूह पनि खटाइएको बीबीसीले जनाएको छ । जसलाई कानुन र आदेश अनुसार परिचालन गरिने छ ।
उमेश वालाले महिला हिंसाविरुद्ध धरै लामो समय काम गरेकी छन् । साथै प्रहरीले समस्यामा परेका महिलाका लागि संचालन गरेको टेलिफोन हेल्पलाइनको पनि लामो समय उनले निगरानी गरेकी छन् ।
गुडगाँउका प्रहरी कमिसनर नभदिप सिंह विर्कले महिला प्रहरी चौकीको स्थापनाले प्रहरीमा लैङ्गिक सचेतना नभएको भन्ने धारणलाई परविर्तन गर्न सहयोग मिल्ने बताए ।
प्रहरीका अनुसार उत्तर भारतमा महिलामाथिको हिंसा निकै उच्च रहेको छ । राष्ट्रिय अपराध अभिलेखिकरण व्युरोका अनुसार त्यस राज्यमा ८ हजार ९ सय ७४ वटा महिलामाथि भएका हिंसाका घटना अभिलेख गरिएको छ, जसमा ३ हजार ५ सय १ वटा दाइजो सम्बन्धि घटना रहेका छन् । यसैगरि १ हजार १ सय ७४ वटा बलात्कार र २ सय ३० वटा सामूहिक बलात्कारका घटना व्युरोले अभिलेख गरेको छ ।
अप्रिल महिनामा भारतको राष्ट्रिय महिला आयोगले महिलामाथिको हिंसाका उजुरी प्रहरीले दर्ता नगरेका सयौं गुनासो आएको जनाएको छ ।
भारतमा २३ लाख प्रहरी मध्ये महिला प्रहरीको संख्या १ लाख ४० हजारमात्र रहेको छ।
प्रकाशित मितिः २०७२ भदौ १३ गते आईतवार
Comment Here!