बालविवाह अब सीमापारि


प्रकाशित मिति :2015-08-31 10:35:55

बाँके जिल्ला आसपासका क्षेत्रमा बालविवाह गर्न समस्या हुन थालेपछि अभिभावकले भारतीय मठमन्दिरमा लगेर आफ्ना स–साना सन्तानको विवाह गरिदिने क्रम सुरु भएको छ । छिमेकी भारतको श्रावस्ती जिल्लाको ककरदरीमा रहेको जगपति मन्दिरमा अचेल यस्तो बिहे गर्नेको लर्को भेटिन्छ ।

विनय दीक्षित

binaya
बाँके । फत्तेपुर गाविसका नन्कु गद्दीले आठ वर्षीया छोरीको विवाह गर्न लागेको खबर प्रहरीमा पुग्यो । महिनौँदेखि बिहेको तयारी गरेका र जन्ती आउन तीन दिन मात्र बाँकी रहँदा उनको घरमा प्रहरीको टोली पुग्यो । प्रहरीले १८ वर्षभन्दा कम उमेरकी छोरीको बिहे गर्न नमिल्ने र विवाह गरिदिए कारबाही हुने बताएपछि गद्दीको घरमा रुवाबासी मच्चियो ।

तर पनि विवाहचाहिँ रोकिएन । प्रहरीले पहिला जानकारी दिएको भए पछि सार्न पनि सकिन्थ्यो । सबै तयारी र आफन्तलाई निमन्त्रणा दिइसकेका कारण विवाह रोक्न सकिएन । सीमापारि रहेका आफन्तका घरमा लगेर मन्दिरबाट धुमधामका साथ विवाह गरिदिएको नन्कुले बताए ।

नन्कुले छोरीको विवाह रोक्नका लागि पहल गर्ने किशोरी क्लबका सदस्य तथा स्थानीय अभियन्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । बेइज्जत हुने किसिमले गाउँघरमा चलेको परम्परामाथि प्रहार गर्ने काम भइरहेको भन्दै उनले आक्रोश पोखे । विवाह हुन लागेकी बालिका स्थानीय विद्यालयको कक्षा तीनमा पढ्छिन् । विवाह नहोस् भन्ने उनको पनि चाहना थियो । यद्यपि गर्ने–नगर्ने निर्णय उनको हातमा थिएन ।

बालविवाह रोक्न स्थानीय प्रहरीमा उजुरी दर्ता हुँदा बढी असुरक्षा हुने गरेको अभियन्ताहरू बताउँछन् । बालअधिकार क्षेत्रमा क्रियाशील रामनिवास यादवले बालविवाह रोक्न सक्नु ठूलै लडाइँ जितेजस्तो भएको बताए ।

हालै गंगापुरमा हुन लागेको बालविवाह रोक्न स्थानीय युवा कस्सिए । वादविवाद भयो । कतिपयको बोलचाल बन्द भयो । प्रहरीले बालविवाह रोक्न केटा र केटी पक्षका अभिभावकलाई आग्रह गर्‍यो । प्रहरीले बालविवाह नरोके कारबाही गर्ने चेतावनी दिएपछि गाउँमा धुमधामसँग गर्न लागिएको विवाह सीमावर्ती भारतीय क्षेत्रमा लगेर गरियो । बाजागाजा बजाइएन, आफन्तलाई बोलाएर चुपचाप विवाह सम्पन्न गरियो ।
स्थानीय दीनानाथ मौर्यले पनि कक्षा ६ मा पढ्दै गरेका आफ्ना छोराको बिहे गर्न लागेको खबर पाएपछि स्थानीय बाल क्लबका सदस्यले प्रहरीमा उजुरी गरे । उजुरीपछि आफूले सीमापारि भारत श्रावस्ती जिल्लाको जगपति मन्दिरमा लगेर छोराको बिहे गरेको मौर्यले बताए ।
बाँकेमा नियम–कानुन र सङ्घसंस्थाले बालविवाहमा समस्या उत्पन्न गर्न थालेपछि अभिभावकले भारतीय मठमन्दिरमा लगेर विवाह गरिदिने क्रम सुरु भएको छ । भारत श्रावस्ती जिल्लाको ककरदरीस्थित जगपति मन्दिरमा अचेल नेपाली बालबालिका बिहे गर्नेको लर्को देखिन्छ । मन्दिरमा चौकीदारको काम गर्दै आएका रामदिन विश्वकर्माले दिएको जानकारीअनुसार दैनिक रूपमा नेपालका दुई–तीनवटा विवाह हुन थालेका छन् । नियम–कानुनबारे हामीलाई जानकारी छैन ।’

यहाँका केही समुदायमा बालिकाको सानैमा विवाह गर्दा स्वर्ग जान पाइने, त्यस्तो विवाह कन्यादान मानिने गलत परम्परा छ । त्यही कारण धेरैजसोमा सानैमा विवाह गर्ने र पछि गौना जाने संस्कार कायमै छ । ज्ञानको अभाव, परम्परागत सोच, कन्यादानलगायतको मानसिकताका कारण बालविवाह रोक्नमा जटिलता छ । उमेर धेरै हुँदा अन्तरजातीय विवाहको जोखिम र दाइजो बढी दिनुपर्नेजस्ता कारणबाट पनि बालविवाह रोक्न कठिन भएको युवा क्लब सञ्जाल बेलहरीका अध्यक्ष मनमोहन बर्माको भनाइ छ ।

स्थानीयस्तरमा बालविवाह रोक्न सिविन हेल्पलाइन, महिला बालबालिका कार्यालय, बी ग्रुपजस्ता गैरसरकारी निकायले पनि अभियान सञ्चालन गर्दै आएका छन् । गाउँगाउँमा गठन गरिएका बाल क्लबका सदस्यहरू बालविवाहलाई निरुत्साहित गर्ने अभियानमा सक्रिय छन् ।
‘प्रहरीकै असहयोगका कारण बालविवाहविरुद्धको अभियानमा अपेक्षित सफलता पाउन नसकिएको गुनासो अभियन्ता रामनिवास यादवको छ । बालविवाह हुँदै छ भन्ने जानकारी दिने र रोक्नका लागि उजुरी दिनेहरूको नाम प्रहरीले बालविवाह गराउन खोज्ने अभिभावकलाई बताइदिने गरेका कारण पनि बालविवाहविरुद्धको अभियान बलियो हुन नसकेको यादवले बताए । उमेर पुगेपछि किशोर–किशोरीले अन्तर्जातीय विवाह गर्न सक्ने, परिवारको सहमतिबिनै विवाह गर्न सक्ने जोखिम धेरै हुने भएकाले सानैमा विवाह गर्नुपर्ने बाध्यता भएको तर्क अभिभावकको छ । उमेर बढेपछि अन्त जाने जोखिमसँगै केटा नपाउने समस्यासमेत हुन्छ भन्छन् मौर्य ।

अधिवक्ता विजय शर्मा भन्छन्– मुलुकी ऐन बिहेवारी महलअनुसार अभिभावकको मञ्जुरीमा किशोरी–किशोरीको उमेर १८ वर्ष र आफूखुसी बिहे गर्नका लागि २१ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । ‘नेपालजस्तै मिल्दो कानुन भारतमा पनि छ,’ अधिवक्ता शर्माले भने, ‘उजुरी परेको खण्डमा त्यहाँ पनि बालविवाह रोकिन्छ ।’

बालविवाहको सङ्ख्या धेरै भए पनि उजुरी भने थोरै पर्ने गरेको पाइन्छ । पछिल्लो तीन वर्षमा बाँके जिल्ला अदालतमा जम्मा चारवटा मात्रै बालविवाहका मुद्दा दर्ता भएका छन् । अदालतका सूचना अधिकारी इन्द्रबहादुर कार्कीका अनुसार वार्षिक रूपमा बालविवाहको मुद्दा बढीमा दुई–तीनवटा आउँछ ।

इलाका प्रहरी कार्यालय भगवानपुरमा विवाह रोक्न उजुरी दिएको भन्दै बालबालिकाको परिवार र गाउँलेबाट पटकपटक जोखिम खेप्दै आएका फत्तेपुर– २ बस्ने उपेन्द्र पाण्डेले अभियान भने रोकेका छैनन् । पाण्डे भन्छन्, ‘राम्रो काम गर्दा बाधा–अवरोध आउनु दुःखद् भए पनि बालविवाह रोक्न सामूहिक रूपमा अभियान नै सञ्चालन गर्न आवश्यक छ ।’

(सञ्चारिका फिचर सेवा)
(विनय, नेपालगञ्जका पत्रकार हुन् ।)

प्रकाशित मिति :२०७२ भदौ १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: