रमला सिंगक
सुनसरी, भदौ १४ । सरकारले मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यले संचालन गरेको आमा सुरक्षा कार्यक्रम प्रभावकारी देखिए पनि बच्चा जन्माउन जटिल अवस्थाका गर्भवतिहरूका लागि भने आमा सुरक्षा कार्यक्रम कागलाई बेल पाक्यो हर्ष न विस्मात सावित भएको छ ।
जटिल अवस्थाका गर्भवति महिलालाई जिल्लामा रहेका स्वास्थ्य केन्द्र, आम्दा, लाइफलाइन जस्ता स्वास्थ्य केन्द्रमा शल्यक्रिया, आमाको उपचार, नवजात शिशुमा खरावी भए उपचार नहुँने भएकाले सुविधा सम्पन्न अस्पतालमा पठाइन्छ ।
सुविधासम्पन्न अस्पतालमा सुत्केरी गराउँदा, शल्यक्रिया गर्दा, आमा र नवजात शिशुको उपचार गर्दा धेरै खर्च लाग्ने हुँदा सरकारले संचालन गरेको आमा सुरक्षा कार्यक्रमले समेट्न नसकेको शल्यक्रिया गरेर बच्चा जन्माएकी झापा शिवगंजकी सुनिता भण्डारीले बताउनुभयो ।
उहाँको जटिल अवस्था भएपछि झापाबाट रिफर भएर साभैm धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागमा शल्यक्रिया गरिएको थियो ।
सरकारले प्रतिष्ठान जस्तो सुविधासम्पन्न र दक्ष चिकित्सकहरू रहेको अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागु नगरेकाले त्यहाँका गर्भवति महिलाले कम्तीमा ७ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च व्यहोर्नु पर्छ । जवकी आमा सुरक्षा कार्यक्रम सञ्चालन भएका स्वास्थ्य चौकी, अस्पतालहरूमा सरकारले सुत्केरी आमालाई नौ सय रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।
प्रतिष्ठानका स्त्री तथा प्रसूति विभागका विशेषज्ञ चिकित्सक प्रा डा. मोहन रेग्मीका अनुसार २५ देखि ३० प्रतिशत गर्भवति महिलालाई बच्चा जन्माउँने बेलामा कुनै न कुनै जटिल समस्या उत्पन्न हुने गरेकाले उनीहरूलाई शल्यक्रिया गर्नैपर्ने हुन्छ । उहाँका अनुसार प्रतिष्ठानमा सुत्केरी हुन् आएकालाई सरकारले दिने नौ सय भत्ता नदिए पनि प्रसूति विभागमा दैनिक ८० जना महिला सुत्केरी हुने आउँछन् ।
सरकारले जटिल अबस्थाका सुत्केरीहरूलाई खर्च व्यहोरेमा निशुल्क शल्यक्रिया गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
सरकारसँग त्यस्तो सम्झौता हुन नसकेपछि प्रतिष्ठान स्वायत्त स्वास्थ्य संस्था भएकाले संचालन खर्च जुटाउनका लागि निम्नतम शुल्क लिने गरेको प्रतिष्ठानको दाबी छ ।
अस्पतालका निर्देशक प्राडा अरविन्दकुमार सिन्हाले भन्नुभयो ‘सरकारले संचालन गरेको आमा सुरक्षा कार्यक्रम प्रतिष्ठानमा लागु नभएपनि शल्यक्रिया खर्च तिर्न नसक्ने कतिपय गरिव परिवारका महिलालाई निशुल्क शल्यक्रिया र उपचार गर्ने नीति हाम्रो छ ।’
प्रकाशित मिति २०७२ भदौ १४ सोमवार
Comment Here!