बन्दका कारण साना उद्यमी महिलालाई समस्या


कच्चा पदार्थ नपाउँदा उद्योग बन्द

प्रकाशित मिति :2015-09-01 12:54:02

रमला सिंगक

unnamed (2) (3) तेह्रथुम, भदौ १५ । तेह्रथुमस्थित जलजलेकी माया लिम्बू ढाका कपडा वुन्ने धागो र अन्य आवश्यक कच्चा पदार्थ नपाएपछि एक महिना यता खाली बस्नु परेको छ ।

 बजारमा आफूले खोजे जस्तो रङ्ग र गुणस्तरीय धागो नपाएपछि खाली हात फर्कनु नियती  जस्तै भएको मायाको गुनासो  छ । धागो अभावमा उहाँले कपडा तयार गर्न नसक्दा व्यवसाय चलाएर जीविका चलाउन हम्मे हम्मे भएको छ ।

ढाका कपडा वुनेर गुजारा चलाउन गाउँदेखी एक छोरा र एक छोरीसहित तेह्रथुमको सदरमुकाम म्याङ्लुङ वजार आउनुभएकी उहाँको काँधमा छोराछोरीको लालनपालन सँगै कोठाभाडा तिर्नुपर्ने वाध्यता छ । ढाकाकपडा वुनेर मासिक आठ हजारदेखि दशहजार रुपैयाँसम्म कमाई गर्ने उहाँले आफूलाई आवश्यक पर्ने आधारभुत आवश्यकता र छोराछोरीको पढाई खर्च यसकै आम्दानीको भरमा चलाउनुपर्छ ।

यस्तै, साव्लाकी मनमाया विकको पनि दैनिक गुजारा चलाउने मेलो नै ढाका कपडा बुनाई हो । विकले १५ वर्ष यतादेखि नै ढाका कपडा वुनेर विक्री गरेको खर्चले घर व्यवहार चलाईरहनुभएको छ । सम्पतिको नाममा दुई रोपनी पाखोवारी  भएकी उहाँले आफ्नो सीपले परिवारका अन्य ३ सदस्य सहित आफूलाई पाल्नुपर्छ ।

पटक पटकको वन्द र हड्तालले माया र मनमाया जस्ता ढाका कपडा बुनेर जिविका चलाउने साना व्यावसायीलाई असर पारेको छ । बन्दमा यातायात नचल्ने भएकाले ढाका कपडा तयार गर्ने धागो बजारमा उपलव्ध नभएपछि उनीहरू निराश छन् ।

विकले भन्नुभयो, ‘आफूलाई चाहिने जति कच्चा पर्दाथ नपाएर केही सातायता त्यतिकै वस्नु परेको छ । उहाँले महिला खवर डट कमलाई फोेनसम्पर्कमा भन्नुभयो, ‘आज विहान पनि धागो लिन बजार गएकी थिएँ । मैलै वुनेको कपडासँग धागोको रँग नमिलेकाले खाली हात फर्किएँ, केही दिन यस्तै हुने हो भने यो महिना कसरी घर व्यवहार धान्ने भन्ने पीरले निद्रा समेत लाग्न छोड्यो ।’

आफूलाई चाहिने र तानसँग मेल खाने धागो अभावका कारण ढाका कपडा वुनेर जिवीका चलाईरहेका अधिकांश महिला बन्दका कारण अहिले कामविहिन भएर वसेका छन् । काम नभएकाले उनीहरूको दैनिकीमा समेत असर परिरहेको ढाका कपडा उद्योगी शान्ति लिम्बूले वताउँनुभयो । उहाँले भन्नुभयो, ‘दैनिक १०/१५ जना महिला धागो किन्न पसलमा आउँछन् । बन्दको कारण  धागो ल्याउन नसकेकाले उनीहरूले मागेको र खोजेको जस्तो धागो उपलव्ध गराउन नसक्दा  खाली हात फर्किरहेका छन् ।’

विभिन्न राजनीतिक दलले गरेको पटक पटकको वन्दका कारण पर्याप्त मात्रामा कच्चा पर्दाथ  ल्याउन नसकेको  उज्ज्वलता ढाका कपडा उद्योगकी संचालक उज्ज्वलता सुव्वाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो पसलमा मात्र दैनिक ५० देखि ६० जना महिला धागो किन्न आउँछन् । पसलमा धागो  पर्याप्त नभएकाले उनीहरूले चाहे र मागे जति सामग्री दिन सकिरहेकी छैन ।’

उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष महेन्द्र काफ्लेका अनुसार तेह्रथुम जिल्लाभरी सञ्चालनमा रहेका  ४८ वटा ढाका कपडा उद्योग, वाणिज्य संघमा दर्ता भएका छन्  । वाँकी १५ वटा  दर्ता हुने प्रकृयामा छन् । यी उद्योगमा  १२ सय भन्दा वढी कामदार कार्यरत छन् । उद्योग नखोली आफ्नै घरमा तान राखी ढाका कपडा बुन्नेको संख्या  २ हजार भन्दा ज्यादा रहेका छन् । यसमध्ये ९८ प्रतिशत महिला रहेको अध्यक्ष काफ्ले जानकारी दिनुभयो ।

तेह्रथुममा उत्पादित ढाका कपडाको विदेशमा पनि धेरै माग रहेको छ । तानबाट ढाकाको साडी, चोलो, पच्छेउरा, कुर्तासुरुवाल, टोपी, कमीज र टाई तयार हुने गर्छ । स्थानीय बजारदेखि धरान, काठमाडा‌ैं हुँदै अन्तराष्ट्रियस्तर युके, हङकङ, अमेरिका, जापानलगायत युरोप तिर धेरै खपत हुने उद्योगी उज्ज्वलता सुव्वाले जानकारी दिनुभयो । उहाँंका अनुसार एउटा साडी बुन्न १५ दिनदेखि एक महिना सम्म लाग्छ । हातले वुन्नु पर्ने भएकाले यसमा मेहनत धेरै लाग्ने सुव्वाले वताउँनुभयो । ढाका कपडा व्यवसाय गरेर बार्षिक १५ देखि २० लाख रुपैयाँको कारोवार हुने जानकारी उहाँले दिनुभयो ।  उहाँले भन्नुभयो, ‘बन्द र हड्तालले धागो ल्याउन पाइएको छैन ।’ ढाका कपडाका धागो सवै भारतीय बजारबाट आउने गरेको छ ।’

 प्रकाशित मिति २०७२ भदौ १५ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: