बाध्यताले विदेशिन्छन् महिला


प्रकाशित मिति :2015-09-02 15:57:51

श्रीमानले दोस्रो बिहे गरेर छुट्टिएपछि पारिवारिक जिम्मेवारी आफ्नो काँधमा आएका महिला रोजगारीको लागि विदेशिन बाध्य छन् ।
धनु राई  

Dhanu Rai (2)नेपाली सेनामा कार्यरत श्रीमान दिपक राईले दोस्रो बिहे गरेपछि सम्पूर्ण परिवारको खर्च धान्ने जिम्मा मनकुमारी राई एक्लैलाई आईपर्‍यो । परिवारको खर्चको जोहो गर्न उनी मलेशिया हान्निइन् । मलेशिया पुगेको केही समयपछि नै उनको स्वास्थ्यमा समस्या देखियो । ३ वर्षका लागि गएकी उनलाई काम गर्न नसक्ने भन्दै कम्पनीले एकवर्ष मै फर्काइदियो । दुई छोराको लागि पढाई खर्च जुटाउन रोजगारीका लागि मलेसिया पुगेर फर्केकी मनकुमारीलाई अब भविष्य कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

 एक वर्षमा २ लाख रुपैयाँ कमाएकी राईले पानासोनिक कम्पनीमा  फोन सेटिङ गर्ने राम्रो र सजिलो काम पाएको बताउँछिन् । मलेसियामा कमाएको सबै रकम छोराको पढाई खर्चको लागि पहिले नै घर पठाएकाले घर आउँदा रित्तो हात फर्केको उनी बताउँछिन् । विदेशमा कमाएको रकमले ऋण तिर्न समेत नपुगेपछि  छोराको पढाइ खर्च कसरी जुटाउने भन्ने चिन्ताले उनको निद्रा हराएको छ । मनकुमारी भन्छिन् ‘९ र १२ वर्षका दुई छोरालाई कसरी पढाउने, आफूसँग सीप छैन कहाँ गएर के गर्ने सोच्नै सकेकी छैन ।’

विवाह गरेको ५ वर्ष नपुग्दै श्रीमानले अर्को विवाह गरेपछि बालबच्चाको हेरविचार, पालनपोषण  गर्ने जिम्मा मनकुमारीको काँधमा आएको हो । श्रीमानको तलवबाट महिनामा ४ हजार ९ सय रुपैयाँ आएपनि त्यसले छोराको विद्यालय शुल्क तिर्नै नपुग्ने भएपछि के गर्ने भन्ने अन्योल बढेको छ । आफूले जति दुःख पाएपनि छोरालाई राम्रो शिक्षा दिन उनले निजी छात्रावासमा छोरालाई राखेर विदेशिएकी थिइन् । तर, अब  छोरालाई सरकारी विद्यालय पढाउन पनि समस्या पर्ने उनी बताउँछिन् । व्यवसाय गर्नको लागि आफूसँग पैसा नभएकाले घर कसरी चलाउने छोरालाई कसरी पढाउने भन्नेमात्र होईन उपचार कसरी गर्ने भन्ने चिन्ता समेत थपिएको छ ।

मनकुमारी राई अाफ्ना छाेराहरु सँग

तस्वीर : मनकुमारी राई अाफ्ना छाेराहरु सँग

काठमाडाैंको बौद्धमा बस्दै आएकी ओखलढुंगाकी रश्मी राईको समस्या पनि मनकुमारीको भन्दा फरक छैन । श्रीमान बालकृष्ण राईले दोस्रो बिहे गरेपछि कुवेत गएकी रश्मी तीन वर्षपछि स्वदेश फर्किएकी हुन् । छोरालाई पढाउन र आफू पनि बाँच्नु पर्ने भएकोले कमाउनकै लागि विदेशिनु परेको उनको भनाई छ । तीन वर्षसम्म घरेलु कामदार रहेकी रश्मीले खाना बनाउने, लुगाधुने, घर सफा गर्ने, बच्चाको स्याहार गर्ने काम  भएपनि तीन वर्ष कटाउन निकै मुश्किल भएको बताउँछिन । २ वर्षअघि कुवेतबाट फर्किएकी उनी स्वदेशमा गरिखाने केही  मेसो नमिलेपछि अब फेरि विदेशिने योजनामा छिन् ।

ओखलढुङ्गाका अधिकांश महिला रोजगारका लागि विदेशिने गरेका छन् । ओखलढुंगा सिद्धिचरण नगरपालिकामामात्र १५ जना भन्दा बढी महिला विभिन्न देशमा रोजगारीका लागि गएका छन् । एकै घरका ३ जनासम्म वैदेशिक रोजगारीमा गएको  सिद्धिचरण नगरपालिकाका व्यवसायी चम्मर वहादुर राईले बताए । बालबच्चालाई पढाउन, परिवार चलाउन  स्वदेशमा कमाउने कुनै रोजगारी नभएपछि धेरै महिला विदेशिएका हुन् । परिवारको जिम्मा आफ्नो काँधमा आएपछि विदेशिने महिलाको संख्या बढेको छ ।

६ वर्षदेखि कुवेतमा रहेकी ओखलढुंगा सिद्धिचरण नगरपालिकाकी ईन्द्रमाया राई अब स्वदेश फर्कने तयारीमा छिन् । स्काईपमा कुरा गर्दै ईन्द्रमायाले भनिन् ‘अब आफ्नै देशमा फर्केर केही काम गर्ने योजनामा छु, परिवार छोडेर टाढा बस्दा धेरै समस्या भयो ।’ नौ वर्ष कुवेतमा बिताएकी इन्द्रमाया तीन वर्ष कुवेतमा बसेर घर आएपनि ६ वर्षअघि पुन कुवेतमा फर्किएकी हुन् । घरायसी काम गर्न कुवेतमा सहज भएपनि परिवारवाट टाढा रहँदा धेरै दुःख लाग्ने उनको अनुभव छ ।

घर मालिक असल भएकाले विदेशमा अरु समस्या भोग्नु नपरेपनि परिवार छोडेर लामो समय विदेशमा बस्दा समस्या पर्न सक्ने भएकाले अब स्वदेशमै फर्केर केही व्यवसाय गर्ने  उनको योजना छ  । ५ महिनापछि नेपाल फर्कने योजनामा रहेकी उनले विदेश जाँदा भाषा र सीप सिकेरमात्र जान सुझाव दिन्छिन् । केही सीप नसिकी घरायसी कामका लागि वैदेशिक रोजगारमा गएका महिलाले त्यहाँको वातावरणमा घुलमिल गर्न नसक्दा विभिन्न खालमा हिंसामा पर्न सक्ने भएकाले सीप र भाषा सिक्न आवश्यक रहने उनको तर्क छ । इन्द्रमायाका अनुसार भाषा ज्ञान नहुँदा अहिले धेरै महिलाले विदेशमा समस्या भोगिरहेका छन् ।

अरुको भरमा छोराछोरी छाडी विदेशिदा बाल बच्चाको पढाई बिग्रने, राम्रो स्याहार नहुने र होस्टेलमा राख्दा पारिवारको माया नपाउनेदेखि लिएर अन्य धेरै प्रकारको शारीरिक तथा मानसिक रुपमा समस्या भएको पाईएको छ । आमा विदेशमा हुँदा परिवारका अन्य सदस्यले वास्ता नगर्ने र  अभिभावकविहिन किशोर किशोरी कुलतमा फस्ने गरेको  मनोबिर्मशकर्ता श्यामा पौडेल बताउँछिन् ।  पौडेलका अनुसार पारिवारिक माया नपाएका बच्चा एकान्तमा बस्न रुचाउने, टोलाउने, पढाईमा ध्यान नदिने हुन्छ । सानो कुरालाई पनि उनीहरूले मनमा लिईरहने हुन्छ । जसले गर्दा बच्चाको मानसिक तथा शारीरिक विकासमा असर पुग्ने र पढाईमा ध्यान नजाने हुँदा सजिलै अर्काको भड्काउमा पर्न सक्ने पौडेलको तर्क छ ।

स्वदेशमा आफ्नै क्षमता अनुसारको काम नपाएकै कारण विदेशिएका महिलाले जीविकोपार्जन गर्नसक्ने अवस्था भए नेपालमै बस्ने बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट आर्थिक वर्ष २०७१÷०७२ मा वितरण गरिएका १५ सय ७२ वटा राहदानी मध्ये २ सयजना महिलाले  लिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार राहदानीका लागि जिल्लामा  करीव १७ सय महिलाले सिफारिस गरेकोमा एक वर्षमा २ सय जनाले राहदानी लिएका हुन् । कामका लागि विदेश जाने भन्दै पछिल्लो समयमा राहदानी लिने महिलाको संख्यामा बढेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: