महिला खबर
पोखरा, भदाै १७ । मानव बेचबिखनविरुद्धको ऐन प्रभावकारी हुन नसक्दा मानव बेचविखन झनै मौलाएको पोखरामा आयोजित एक कार्यक्रमका सहभागीे वक्ताहरूले बताएका छन्। सिविन नेपालले आयोजना गरेको बालबालिका ओसार पसार तथा शोषणबाट संरक्षणमा किशोर किशोरी र बाल क्लबबीच गरिएको छलफल कार्यक्रममा इन्सेक पश्चिमाञ्चलका संयोजक शिव खकुरेलले बेचविखनमा पर्ने हरेक सयमा पचास किशोरी रहने गरेको र ऐनको कार्यान्वयनको अभावले मानव बेचबिखन झनै मौलाएको बताउनुभयो।
सामान्यतया नेपालमा २९ हजार महिला तथा बालबालिका बेचविखनमा पर्ने उल्लेख गर्दै उहाँले नेपालमा यकिन तथ्यांकको अझै पनि अभाव भएको बताउनुभयो। मानव बेचबिखनमा संलग्न दलालहरूले आफन्त जस्तै बनेर बेचविखनमा सक्रिय भएको बताउनुभयो। सिविन नेपालका अध्यक्ष माधव प्रधानले मानव बेचविखन ऐन प्रभावकारी हुन नसक्दा पीडकले उन्मुक्ति पाएर थप प्रोत्साहन मिलेको र पीडित झन् पीडित भएको बताउनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख चन्द्रा गुरुङ प्राकृतिक प्रकोपसँगै मानव बेचविखनमा सक्रिय दलाल सल्बलाइरहेकाले यस बारेमा किशोरी एवं बालबालिकालाई सचेत बनाइराख्नुपर्ने बताउनुभयो।
पत्रकार श्याम कुँवर, सिविन पोखराका प्रमुख प्रेम सोङमेन, सिविनका काउन्सेलर कृष्णा गुरुङ लगायतले आफन्त बनेर मन जित्ने र पछि मानव तस्करी गर्ने गिरोहलाइ कडा कार्बाही गर्नुपर्ने बताउनुभयो। बेचविखनविरुद्ध अभिभावक पनि चनाखो हुनुपर्ने भन्दै आफ्ना सन्तानप्रति नजिकिएका मान्छेको व्यवहार प्रति निगरानी राख्न समेत सुझाव दिइएको थियो।
प्रकाशित मितिः २०७२ भदाै १७ गते
Comment Here!