–महिला खवर–
नेपालगन्ज, भदौ १७– बाँकेमा महिलाद्वारा सञ्चालित शान्ति महिला वहुउद्देश्यीय सहकारी संस्था खारेजीमा परेको छ । दुई वर्षदेखि मासिक प्रगती विवरण, लेखा परीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन नबुझाएकोले उक्त संस्था खारेजीमा परेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
२०६४ साउन १७ गते दर्ता भएको उक्त संस्थालाई पटक पटक सुधार हुनको लागि आव्हान गरिएपनि सुधार नआएकोले खारेजी गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्राचार्य प्रकाशराज पौडेलले बताउनु भयो ।
गत आर्थिक वर्षमा शान्ति महिला वहुउद्देश्यीय सहकारी संस्था सहित महिलाद्वारा सञ्चालित १० सहकारी संस्था अति निस्क्रिय अवस्थामा रहेकोमा चार सहकारीले सुधार गरेका छन् भने ५ सहकारी अझै पनि अति निस्क्रिय अवस्थामा रहेका छन् । अति निस्क्रिय अवस्थामा रहेका संस्था सुधार हुन नसके खारेजीमा पर्ने सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्राचार्य पौडेलले जानकारी दिनुभयो ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार बाँकेमा महिलाद्वारा सञ्चालित ६० ओटा सहकारी मध्ये जम्मा ३५ वटा मात्रै सक्रिय रहेका छन् । ५ वटा सहकारी निस्क्रिय, ५ अति निस्क्रिय र १५ ओटा सुधारोन्मुख अवस्थामा रहेका छन् । महिलाद्वारा सञ्चालित १८ वहुउद्देश्यीय सहकारी, १६ कृषि, १४ बचत तथा ऋण, ११ सामाजिक उद्यमी र १ उपभोक्ता सहकारी बाँकेमा दर्ता भएका छन् ।
‘महिलाले सञ्चालनमा ल्याएका कतिपय संस्था अत्यन्त राम्रोसँग चलेका छन् । उनीहरूले नियमित रुपमा मासिक तथा वार्षिक विवरण बुझाई रहेका छन् ,तर, ५ सहकारी अति निस्क्रिय रहेकोले खारेजीको अवस्थामा पुगेका छन्,’ प्राचार्य पौडेलले भन्नुभयो ।
बाँकेमा आर्थिक वर्ष २०७१÷०७२ को अन्तसम्ममा ४ सय ४४ ओटा सहकारी संस्था दर्ता भएका छन् । जसमध्ये अति निस्क्रिय अवस्थामा रहेका १ महिलाद्वारा सञ्चालित सहित ३० ओटा सहकारीलाई खारेजी गरिएको सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
Comment Here!