अझैपनि खुल्न सकेनन् एच आई भी संक्रमित महिला


प्रकाशित मिति :2015-09-03 16:36:45

ज्ञानु पंगेनी

Hiv2

 नवलपरासी , भदौ १७ । ‘भाईका छोराछोरीसँग मेरो बच्चाहरू खेल्न जादा भाईले उनीहरूसँग धेरै नखेल भनेर आफना छोराछोरीलाई भन्थ्यो धेरै दुख लाग्थ्यो , मुटुमा नै बिझ्थ्यो त्यो क्षण सम्झिँदा अझै पनि कहाली लाग्छ ।’ नवलपरासीको देउराली गिरुवारी निवासी तुलसी मगरले भक्कानिँदै आफ्नो वेदना सुनाइन् ।

तुलसी मगर एच आई भी संक्रमित महिला हुन् । २०६४ सालमा श्रीमानको माध्यमबाट उनलाई एच आई भी संक्रमण भएको थियो ।
श्रीमान भारतमा काम गर्थे ।  उनी पनि एक छोरा र एक छोरीसहित केहि समय  श्रीमानसँग भारतमै बसेकी थिइन् । तर, एक्कासी श्रीमान , छोराछोरी आफू सबै विरामी पर्न थाले । त्यसपछि उनीहरू  नेपाल फर्किएर गिरुवारीमा माईतीघर नजिकै बस्न थाले ।

२०६४ सालमा स्वास्थ्य परिक्षण गर्दा सबैलाई एच आई भी  देखियो । उनी भन्छिन् ‘त्यो पल कहिल्यै विर्सन सक्दिन ।’
‘त्यो बेला मलाई छाँगाबाट खसेझैँ भएको थियो, के गरु कहाँ जाउ पुरै आकाश नै खसेर आफैँलाई च्यापेझै भयो ।’

त्यसको केहि समयपछि श्रीमान र ८ वर्षको छोराको मृत्यु भयो । घरमा अरु कोही नहुँदा माईतीको आश्रय लिँदै आएकी मगरलाई शुरुका ती दिन धेरै कठिन भए ।  तर,शुरुका दिन र अहिले उनको जीवनमा आकाश पातालको फरक आएको छ ।

शुरुमा आफ्नै माईतीले हेपेको त्यो क्षण सम्झँदा अहिलेपनि उनका गहभरी आँशु हुन्छन् । तर, उनी कहिल्यै  हरेस खाइनन् । अहिले उनी एच आई भी को क्षेत्रमा काम गर्ने संस्थामा आबद्ध छन् ।

कामकै शिलशिलामा उनले एच आई भी संक्रमित पुरुषसँग दोस्रो विवाह गरिन् । अहिले एक छोरी , आफू र श्रीमान खुसीसाथ जीवनयापन गदै आएकी छन् । छोरी कक्षा ९ मा पढछिन । श्रीमान घरमा काम गर्छन्, उनी लुम्बिनी पलस अन्तरगतको सामुदायिक हेरचाह केन्द्रमा आफूजस्तै एच आई भी संक्रमितलाई परामर्श दिने अनि गाउँघरमा पनि एच आई भीको बारेमा चेतना दिने काम गर्छिन् ।

एच आई भी संक्रमितहरू बाहिर खुलेर आउन नचाहदा नै अरुले हेप्ने मौका पाउने उनको अनुभव छ ।

उनी आफूजस्ता एच आई भी भएका दिदी बहिनीलाई पनि सबैसँग घुलमिल हुन , खुलेर कुरा गर्न आग्रह गर्छिन् । कोही कसैले लान्छना लगाउने , भेदभाव गर्ने गर्छ भने त्यसको प्रतिकार गर्न उनी आग्रह गर्छिन् ।

मगर जस्तै नवलपरासी कावासोतीकी सरु परियार  पनि एच आई भी संक्रमित हुन् । उनलाई पनि श्रीमानको माध्यमबाट एच आई भी भएको थियो ।

२०६२ सालमा स्वास्थ्य परिक्षण गर्दा उनले एच आई भी भएको थाहा पाइन् । त्यतिखेर एच आई भी लागेपछि मरिहालिन्छ भन्ने मानसकिता थियो । ‘पहिला त एच आई भी भन्ने चलन थिएन एड्स भन्ने चलन थियो , एड्स लागेपछि मरिहाल्छु  , यो रोग नराम्रो काम गरेर लाग्छ । मैले त नराम्रो काम गरेको छैन । अब समाजले मलाई के भन्छ , मेरो बच्चा टुहुरो हुने भए अब मैले केही गरेर फाईदा छैन ।’ परियारको मनमा त्यो क्षणमा यस्ता कुरा खेल्थे तर लुम्बिनी पलसबाट एच आई भी को बारेमा बुझेपछि  अब आफूलाई बलियो बनाउनुपर्छ भन्ने उनमा आत्मविश्वास आयो । अनि श्रीमानले गर्दै आएको कपडा सिउने व्यवसायमा साथ दिने विचार गरी अहिले दुवै मिलेर घरमै कपडा सिउने व्यवसाय गर्दै आएका छन् ।

उनका २ छोरा छन् । छोरामा भने एच आई भी देखिएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक वर्षसम्ममा ३ सय १५ जना एचआईभी संक्रमित छन् । जसमध्ये महिलाको संख्या १ सय ६६ छ  । यी मध्ये ६४ जना एकल महिला छन् । पुरुषको संख्या १ सय ४९ रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका एच आई भी फोकल पर्सन रामचन्द्र पौडेलका अनुसार संक्रमित महिला मध्ये १ सय २१ जनाले एआरटी औषधीको सेवन गरिरहेका छन् । अधिकाशं महिला श्रीमानकै कारण एचआईभीको जिवाणु शरीरमा बोक्न बाध्य बनेको उनी बताउँछन् ।

कावासोती कै संक्रमित एकल महिला  सुमित्रा काफ्ले ( नाम परिवर्तीत )  भन्छिन् – ‘म पहिला होटलमा काम गर्थें र जिवन निर्वाह गर्दै आएकी  थिए, पछि होटल मालिकले एचआईभी भएको थाहा पाएपछि होटल चलेन ,खर्च धान्न गाह्रो भयो भन्दै कामबाट निकालिदियो । जहाँ पनि यस्तै व्यवहार हुन्छ अहिले यतिकै बसिरहेकी छु । घर खर्च चलाउन गाह्रो परेको छ  ।’

श्रीमानको मृत्युपछि महिलालाई घर परिवार ,आफन्त र समाज सबैले भेदभाव गर्दै आएको संक्रमित महिला बताउँछन् ।
प्रिया मगर (नाम परीवर्तित )  भन्छिन् – ‘श्रीमानको मृत्युपछि घर परिवारले हेलाँ गरे,  वास्ता नै गर्न छोडे   घरमा नबस जता जाने हो जा  भन्दै दिनकै मानसिक यातना दिन थालेपछि अहिले माईत बस्दै आएकी छु ।’

तर माईतमा पनि परिवारले आफूलाई बोझको रुपमा हेर्छन् , जाउँ कहा जाउँ ,जाने ठाउँ छैन आफ्नै परिवारले पनि घर नबसिदिए हुन्थ्यो जस्तो गर्छन् ।’

गत आर्थिक वर्षसम्म १५ वर्ष मुनिका ४१ जना एचआईभि संक्रमित बालवालिका  जिल्लामा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जसमा बालक २१ र बालिका २० रहेका छन् भने २ सय २९ जना प्रभावित बालवालिका रहेका छन् ।

कतिपय बालबालिका  भारतमा जन्मिए पनि बाबुको मृत्यु पछि नेपालमा बस्दै आएका छन् । तर, आमाको  नागरिकता नभएका कारण उनीहरूले नागरिकता पाउन सकेको छैनन् ।

१२ वर्षदेखि एच आई भी को क्षेत्रमा काम गर्दै आएको लुम्बिनी  पलसकी अध्यक्ष निर्मला पौडेलका अनुसार जिल्लामा श्रीमान भारतमा काम गर्न गएर फर्केका महिलामा धेरै एच आई भी संक्रमण भएको पाइएको छ  । सुरुकामा एच आई भी को कुरा गर्दा नै  नकारात्मक सोच्ने समाजमा अहिले  केहि परिवर्तन भएपनि अझै  सोचेजति परिवर्तन हुन नसकेको उन बिताउँछिन्  ।

समाजमा खुलेर आउन नखोजेपनि महिलाहरू घरपरिवार , स्वास्थ्य संस्था , सेवा प्रदायक संस्थामा भने खुल्ने गरेको उनको अनुभव छ ।
जिल्लामा   महिलाको क्षेत्रमा काम गर्ने संघसंस्था दर्जनौ भएपनि एच आई भी संक्रमित महिलाको हक अधिकार सुनिश्चित गर्न , उनीहरूमाथि हुने दुव्र्यवहारप्रति आवाज उठाउने काम हुन नसकेको उनको गुनासो छ ।

प्रकाशित मितिः २०७२ भदाै १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: