किशुनजीलाई चिया खुवाउने लक्ष्मी


प्रकाशित मिति :2015-09-04 16:53:42

लक्ष्मी भन्छिन् ‘किशुनजी ट्याक्सीमा सरर्र आउनुभयो । म त दंग परें । प्रधानमन्त्रीका लागि उहाँको नाम घोषणा भइसकेको थियो । सेक्युरेटी पनि कोही थिएनन् । उहाँ त सुटुक्क आउनुभएको रै’छ ।’

प्रतिमा सिलवाल

Pratimaझट्ट हेर्दा पसिहालौं जस्तो लाग्दैन । पुरानो होटल, पाँचवटा पुरानै खालका टेबल कुर्सी । एक बिहानै लक्ष्मी दिदीको  काठमाडौं बानेश्वरमा रहेको होटलमा पुग्दा होटलमा कामदारबाहेक ग्राहक थिएनन् ।  तर, बिहानैदेखि मासुको भुटुवा तयार पार्न भने कामदारलाई भ्याइ नभ्याइ थियो ।

यो होटल तिनै लक्ष्मी मगरको हो, जहाँ नेपालका सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई ‘किशुनजी’ले २०३६ सालयता लगातार चिया पिए । लक्ष्मीले बनाएको चियाबाटै उनको दिन सुरु हुन्थ्यो । उनीसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा र प्रजातन्त्र प्राप्तिपछि नमरुञ्जेल लगातार सत्तामा र सत्ताको वरीपरि बसेका स्व. गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र दोस्रो पुरुताका नेता रामचन्द्र पौडेल, राजेन्द्र वस्नेत, राधेश्याम अधिकारीलगायतका नेता चिया पिउन पुग्थे ।   चियाको चुस्कीसँगै उनीहरुबीच देशको विगत, वर्तमान र भविष्यबारे  चिन्तन, वहस र लामो चर्काचर्की हुन्थ्यो ।

 वानेश्वर चोकको आडैमा पुरानो घरको भूँइतलामा रहेको त्यो होटलमा  अहिले भने नेताहरू भेटिँदैनन् । सायद अहिलेका नेताहरूको स्तर अनुसार लक्ष्मीले होटलको  ‘मेन्टेन’  गर्न सकेकी छैनन् ।

किशुनजीको मृत्युपछि लक्ष्मीका ग्राहक बिस्तारै फेरिँदै गए । किशुनजीको पालामा यो होटेलमा करिब सात पाथी दुध एकैबिहान चिया बनाएरै सकिन्थ्यो, तर, हिजोआज दश माना दुधको चिया सकिन मुश्किल हुन्छ । ‘बिहान एकैछिन चिया पाक्छ, दिउँसो साँझ त चिया पकाउनै छोडिदिएँ’ लक्ष्मीले समय अनुसार होटलमा पाक्ने परिकार पनि फेरेकी  छन् । भन्छिन् – ‘समय पनि फेरियो नि त ।’
उनले थपिन्,  ‘हिजोआजका नेता पाँचतारे होटल रोज्छन् । हाम्रो जस्तो चियापसलमा राजनीतिक गफ गर्न नेताहरुलाई सुहाउँदैन । आफूले पनि चल्ने अनुसारको परिकार फेर्नै पर्‍यो ।’

समय फेरियो । नेताहरूको स्तरमा परिवर्तन आयो । तर, किशुनजीको लगातारको आगमनले परिचित लक्ष्मी दिदीसँग त्यतिबेलाको स्मृती भने अझै ताजा छ ।

हिजोआज ‘लक्ष्मी ……..ए लक्ष्मी’ बाटैदेखि कसैले नाम सम्बोधन गरेभने लक्ष्मी झस्किन्छिन् । हत्त न पत्त बाहिर निस्किन मन लाग्छ । बाटोतिर नजर डुलाउँछिन् । कसैलाई खोजेझैं गर्छिन् । किशुनजीकै आवाज झैं लाग्छ उनलाई ‘लक्ष्मी’ सम्बोधनमा ।

 २०२५ सालमा लक्ष्मीले चियापसल सुरु गरेकी थिईन् । कुपण्डोलबाट बिहान बिहान सँधै चिया पिउन पुग्थे किसुनजी । ‘बाहिरबाटै नाम बोलाउँदै आउनुहुन्थ्यो, लक्ष्मी बिहान चिया पकाउनेबेला अझै किशुनजी सम्झिन्छिन्, ‘एक नम्बरको चिया चाहिन्थ्यो उहाँलाई ।’

किशुनजीलाई एकदुईपटक वानेश्वरकै स्थानीय नेताहरूले लक्ष्मी दिदीको होटल पुर्‍याएका थिए । लक्ष्मी दिदीको हातले बनाएको चियाको लत बसेछ क्यारे, त्यसपछि सँधैजसो चिया पिउन ‘लक्ष्मी दिदी’ को होटल पुग्न थाले । लक्ष्मीले पनि तीनपाते चियापत्ती, दुध, चिनीसहितको बाक्लो चिया ‘सर्भ’ गर्न थालिन् किशुनजीलाई । ‘किशुनजीलाई अरु काम गर्नेले बनाएको चियाले हुँदैनथ्यो, लक्ष्मीले भनिन्, ‘उहाँको लागि सँधै मैले नै चिया बनाउँथे, टेबुलसम्म पनि आफैँ लिएर जान्थें ।

‘लक्ष्मीको हातै मिठो’ चिया पिइसकेपछि सँधै किशुनजीको प्रतिक्रिया हुन्थ्यो । चिया नमिठो भयो भन्ने प्रतिक्रिया कुनै दिन पनि किशुनजीबाट सुन्नु परेन लक्ष्मीले । १० पैसा कप चिया आउँथ्यो त्यतिबेला । किशुनजीले पिएको चियाको पैसा पार्टीका अन्यनेताले तिर्थे । बिहान सातै बजे लक्ष्मीको होटल पुगेका किशुनजी नौ बजेतिर होटलबाट निस्किन्थे ।  लक्ष्मीका अनुसार प्रायः शनिबार किशुनजी भिमसेनगोलामा घर भएका गोपाल भट्टराई दाजुकोमा खाना खान जान्थे । त्यसैले पनि कुनै पनि शनिबार लक्ष्मीको होटलमा चिया पिउन आउन छोडेनन् किसुनजी ।

हिजोआज लक्ष्मीको होटलमा किशुनजीको तहका नेता भेटिँदैनन् । न त त्यहाँको टेबलमा चियाको चुस्कीसँगै देशको राजनीतिक बहस नै हुन्छ । किसुनीकोे गफ सुन्न झ्याल झ्यालबाट पनि मानिसहरू चिहाइरहेका हुन्थे । तर, समय, मानिस र तिनले गर्ने कुराकानीका विषय फेरिएका छन् । चियाको ठाउँमा रक्सीले स्थान लिएको छ । मासुको छोयलासँग रक्सीको चुस्कीमा सायद यौवनका चर्चा हुँदा हुन् ।

आफ्नै होटलको फेरिएको अवस्था देख्दा लक्ष्मीलाई युगौँ बितेझैं लाग्छ । तरपनि किशुनजीको स्मृती अझै बल्झिन्छ उनको हृदयमा । सम्झिन्छिन्, ‘म होटलमा काम गरिरहेकी थिएँ । किशुनजी ट्याक्सीमा सरर्र आउनुभयो । म त दंग परें । प्रधानमन्त्रीको लागि उहाँको नाम घोषणा भइसकेको थियो । सेक्युरेटीहरु पनि कोही थिएनन् । उहाँ त सुटुक्क आउनुभएको रै’छ ।’

पहिलोपटक प्रधानमन्त्री भएपछि पनि किसुनजीले चिया पिउने यो थलो छाडेनन् ।  ‘बाटैदेखि उसैगरी लक्ष्मी, लक्ष्मी भन्दै आउनुभयो । मैले चिया बनाएर लगिदिएँ । उहाँ आएको थाहा पाएपछि वरिपरि मान्छे झुम्म भइहाले । एक घण्टाजति बसेर चिया पिएर निस्किनुभयो ।’

लक्ष्मीका अनुसार उनको होटलमा किशुनजीले कहिल्यै रक्सी पिएनन् । न त चिया बाहेक अरु खाजा खाने समयमा नै गए । तर, बिरामी भएपछि भने किशुनजी लक्ष्मीको हातको चिया पिउन जान सकेनन् । लक्ष्मीको पनि चिया पिउने ग्राहक घट्दै गए । बिस्तारै उनको होटलमा नेताको आवतजावत ठप्प भयो । हिजोआज त ति नेतालाई टिभीको स्क्रिनमा मात्रै देख्छिन् उनी । नेतालाई टेलिभिजनमा देख्दा लक्ष्मीकोे ह्रदयमा भन  उनै किशुनजीको स्मृती ताजा भएर आइदिन्छ ।

प्रकाशित मिति :२०७२ भदौ १८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: