छोरी परियोजनामा आमाहरू


प्रकाशित मिति :2015-09-06 13:00:57

छोरीसँग सबैभन्दा नजिक आमा हुन्छन् । तीनै छोरी भोली आमा पनि हुन्छन् । छोरीको विवाह गर्नकाे लागि जम्मा गरेकाे दश लाख रुपैयाँलाई चितवनका कृष्णप्रसाद रेग्मीले विवाहमा खर्च नगिर ‘छोरी परियोजना’ निर्माण गरेरअहिले विभिन्न जिल्लाका आमा मिलाउने काम गरिरहेको छ ।

सृजना अर्याल   

आउनु भयो उकाली चढि
भेटभयो सपनी झै गरि
उधो नदी सलल जान पाम
यस्तै गरि सँधै भेट हुन पाम

यो गीतका हरफ हुन् चितवनको पहाडी गाविस कविलास १ का लाली गुराँस आमा समूहका महिलाको । आफ्नो समूहसँग भेट्न र आमा समूहको काम हेर्न आएका पश्चिम चितवन मिलन बजारका आमा समूहलाई बिदाई गर्ने क्रममा उनीहरुले यस्तो गीत गाएका हुन् । लालीगुराँस आमा समूहले यस्तो गीत गाएपछि मिलन आमा समूह पनि के कम ? उनीहरूले पनि यसरी जवाफ फर्काए ।

आउन पायौं छोरी परियोजनाले
खुशी छौं साह्रै यो स्वागत सत्कारले
दिनु नम्बर भेटौंला फोनैमा
बोलाउने छाैं आउने तिजैमा

गीतबाट आफ्नो भावना पोख्दा चितवनको मिलन बजारको माहोल निकै रमाईलो थियो । दिन ढल्किँदै थियो तरपनि उनीहरूको दोहोरी रोकिने कुनै संकेत थिएन । दोहोरी नरोकिने छाँटकाँट देखेपछि कार्यक्रमका संस्थापक कृष्णप्रसाद रेग्मीले गीतैबाट भएपनि बिदाई गरिदिनुस भनेपछि बल्ल मादल रोकियो, गीत गुन्जिन छोड्यो ।

यो मेसो मिलाएको थियो नेपाली समाज बेल्जियम नामक संस्था अन्तरगतको छोरी कार्यक्रमले । लामो समयदेखि बेल्जियममा बस्दै आएका कृष्णप्रसाद रेग्मीको सक्रियताले यो संस्था जन्मिएको हो । उनी बेल्जियमको सत्तारुढ पार्टी एनभिएका निवार्चित क्षेत्रीय सदस्य हुन् । चितवनमा जन्मिएका रेग्मी डेढ दशकदेखि बेल्जीयममा बस्दै आएका छन् ।

नेपालमा छोरीले भ्रुण अवस्थादेखि नै विभेद सहनु पर्ने र यो विभेद विवाह र दाईजोसँग जोडिएकाले उनले आफ्नै छोरीको नाममा रकम जम्मा गर्न थालेका रहेछन् ।  छोरीको विवाह खर्चका लागि भन्दै जम्मा गरेको रकम १० लाख रुपैयाँ पुग्दा छोरी प्रकृतिको लागि रकम नचाहिने भएपछि उनले यो पैसा नेपालका महिलाले भोग्दै आएको विभेदविरुद्ध लगाउने सोच बनाए ।

IMG_8441रेग्मी दम्पतीले सन् २००३ देखि आफनो कमाईका केहि अंश छोरीका लागि जम्मा गर्न सुरु गरे । छोरी अहिले १८ वर्ष लागि सकिन् । १८ वर्ष पुगेपछि बेल्जीयममा छोराछोरी बुबा आमासँग बस्न नपाइने कानुन भएकाले छोरी प्रकृतिको नाममा जम्मा गरिदिएको पैसा ग्रामीण क्षेत्रको महिलाका नाममा खर्च गर्ने योजना बनेको हो । छोरीले आफ्नो लागि आफैँ कमाउन थालेको र त्यो रकम नेपालका छोरीहरूको बृत्तिविकासमा खर्च गर्न ‘छोरी परियोजना’ जन्मिएको कृष्ण बताउँछन् ।

त्यही परियोजना अन्र्तगत चितवनको पहाडी गाविस भार्लाङ आमा समूहमैत्री कार्यक्रमको आयोजना भएको हो । यस परियोजनाले भूकम्प प्रभावित कविलासमा रहेका लालीगुराँस आमा समूह, चित्रकाली आमा समूह, नमुना प्रकोप आमा समूह र पश्चिम चितवन मिलनचोकमा रहेको मिलन बजार आमा समूहलाई एकै ठाउँमा भेट गराएको हो । मिलन बजार आमा समूहका अध्यक्ष विपुला दवाडी सहित ३२ जना महिला कविलासको भार्लाङ आएका हुन् । उनीहरूलाई कविलासका अन्य तीन वटा आमा समूहले फुलमाला लगाएर स्वागत पनि गरे । समूहका सबैले आ—आफ्ना समुहका पोशाकमा सजिएर स्वागत गरिहेको परिवेश निकै रमाईलो थियो ।

मिलन आमा समूहका अध्यक्ष विपुला दवाडीले कार्यक्रमले भूकम्प प्रभावित क्षेत्रका आमाबिच भेटघाट मिलाएकोमा खुशी लागेको बताइन् । अध्यक्ष दवाडीले भनिन्  ‘हामी खुशी छौं, पहिलोपटक यस्तो कार्यक्रममा सहभागी हुँदैछौ । के होला कसो होला भन्ने लागेको थियो ।’ सो अवसरमा उनले अन्य तीन वटा आमा समूहलाई आफ्नो समूहमा आउन निम्तो दिँदै मायाको चिनो पनि प्रदान गरेकी थिइन् ।

सो अवसरमा नमुना प्रकोप आमा समूहकी मनमाया चेपाङले आफ्नो समूह भर्खरै सुरु  भएको र खेतीपाती घाँस दाउरा र घरायसी कामले फुर्सद नपाउँदा धेरै काम गर्न नपाएको गुनासो गरिन् । लालीगुराँस आमा समूहकी अध्यक्ष कान्छिमाया गुरुङले आमा समूहका कारण महिला दिदीबहिनीलाई दुःख सुःख साटसाट गर्ने अवशर मिलेको धारणा राखिन् ।

औपचारिक कार्यक्रमकै क्रममा परियोजनाका तर्फबाट समूहका सदस्य संख्या अनुसार समूहमा नै जम्मा हुने गरि ५ सय रुपैयाँका दरले सहयोग रकम पनि दिइएको थियो । ४ समूहका अध्यक्षलाई परियोजनाका अन्तर्राष्ट्रिय संयोजक रेग्मीले ३२ हजार रुपैयाँ हस्तान्तरण गरे । औपचारिक कार्यक्रम सकिएपछि महिला समूहले नाचगान गरे । मिलन बजार आमा समूहका सदस्य र अन्य त्यहाँका तीन समूहबिच गीतबाट नै आत्मियता साटासाट भयो । तीज भाका, लोकगीत सहित स्थानीय भाकामा गीत गाएर उनीहरूले आफ्नो संस्कृति बचाउन सक्रिय हुनुपर्ने  सन्देश दिएका थिए ।

बजारमा बस्ने महिलाले पहाडका दिदीबहिनीको अवस्था बुझ्न पाएको खुशि व्यक्त गर्दै मिलन आमा समूहकी सदस्य मिठु ढकालले भनिन् ‘यहाँको खेतीपाती कति राम्रो, ठाउँ त्यस्तै सुन्दर, दिदीबहिनी सबै आप्mनै समूहका जस्तो पो लाग्यो ।’

नेपाल रोएको बेला हामी हाँस्न सक्दैनौं । त्यसैले हाम्रो छोरी परियोजनाले यो प्रयास ग¥यो परियोजनाका संयोजक रेग्मीले भने ‘आमा समूह बिचको भेटघाटले समानता, एकता र मैत्रीभाव सञ्चार अवश्य हुन्छ छोरीको महत्व पनि बढ्छ ।’ छोरीसँग सबैभन्दा नजिक आमा हुन्छन् र तीनै छोरी भोली आमा पनि हुन्छन् । एक आपसमा आमाहरूको भलाकुसारीले छोरी प्रति गरिने भेदभाव कम हुन सक्छ त्यसैले छोरी परियोजनाले आमा मिलाउने काम गरेको उनको तर्क थियो ।  रेग्मी भन्छन् ‘छोरी छोरी भन्दैमा म हाम्रा छोरालाई पनि बिर्सन चाहन्न । यति फरक छ की छोरो भाग्यले पाइन्छ तर छोरी सौभाग्यले मात्र ।’

छोरी परियोजनाले भूकम्पले तहस नहस पारेको जिल्ला सिन्धुपाल्चोक र दोलखामा पनि छोरी मिलन कार्यक्रम गरायो । गत जेठमा काठमाडौंको पुष्प बाटीकामा अध्यनरत १२ जना छात्रा शहरकी छोरीको प्रतिनिधिका रुपमा दोलखा र सिन्धुपाल्चोकका छोरीबिच मिलन कार्यक्रम गराएको  राष्ट्रिय संंयोजक रामहरी कोइरालाले बताए । उनका अनुसार पुष्पबाटीका माबिका १२ जना भूकम्पबाट प्रभावित नभएका छोरीहरू सिन्धुपाल्चोक भोटेचौर गाविस र दोलखा सदरमुकाम चरिकोटका जालपा देवी निमावी र राप्रावी भिमेश्वरका छोरी बिच भेटघाट गराएको हो । सो अवसरमा काठमाडौंका छोरीहरूले खाजा खर्च रकम जम्मा गरि ती विद्यालयका छात्रालाई प्रदान गरेका थिए ।

गाउँका कुना काप्चामा आमा समूह  छन् । विवाह, पास्नी, जन्म संस्कार, मृत्यु संस्कारदेखि लिएर चाड पर्वलगायतका गाउँ घरमा हुने हरेक कार्यक्रममा आमा समूहको उपस्थिति र कार्यक्रम सम्मान गर्न लायक  हुन्छ । आमा समूहका कोषबाट समूहका महिला घर खर्च चलाउन, बालबच्चा पढाउनेदेखि लिएर धेरै काममा सहयोग गरिरहेका छन् । यस्ता समूहहरूले समाजमा सहिष्णुता, मेलमिलाप गर्नेमात्र होईन महिलाको जीवनस्तर उकास्न समेत सहयोग पुर्‍याएको कार्यक्रममा उपस्थित पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले बताए ।

कार्यक्रममा उपस्थित महिला अधिकारकर्मी देवी आर्चायले सामाजिक जागरण ल्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै लैिङ्गक हिंसा कम गर्न, महिलाका हक अधिकार स्थापित गर्न पनि यस्तो कार्यक्रमको महत्व हुने धारणा राखिन् ।  अधिकारकर्मी आचार्य आफ्नो गाँउ वरिपरी काम गर्ने आमा समूहहरू छोरी परियोजनाले गर्दा अन्य ठाँउका आमाको समूहको कार्यक्रम हेर्न पाँउदा सहयोग र सिकाई दुवै बढेको बताउँछिन्  ।

प्रकाशित मिति :२०७२ भदौ २० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: