महिला खबर
नेपालगन्ज, भदौ २० सञ्चारगृहमा महिलाअनुकूल नीति नहुँदा बाँकेको पत्रकारितामा महिलालाई टिकिरहन समस्या देखिएको पत्रकार महिलाले बताएका छन् ।
कार्यालयमा काम गर्ने पत्रकार महिलालाई आफू समानका सहकर्मी पुरुषपछि आए पनि पद तथा पारिश्रमिकमा बढवा दिने तर पत्रकार महिलालाई भने भेदभाव गर्ने कार्य अधिकाशं सञ्चारगृहका मालिकले गर्ने गरेको पत्रकार महिलाको गुनासो छ ।
सञ्चारगृहले बोलेर भन्दा पनि व्यवहारमा पत्रकार महिलालाई क्रियाशिल हुने अवसर दिनुपर्ने उनीहरूको माग छ ।
सञ्चारगृहमा महिलामैत्री वातावरण नहुनु, महिला र पुरुषको पारिश्रमिकमा भेदभाव गर्नु, पत्रकार महिला जतिसुकै क्षमतावान भएपनि उनीहरूको क्षमतामाथि अनावश्यक प्रश्न खडा गर्नु जस्ता क्रियाकलाले गर्दा पत्रकार महिला पत्रकारिता पेशाबाट पलायन भैरहेको क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष उमा थापामगरले बताउनुभयो ।
अझैपनि पितृसत्तात्मक सोचका कारण पत्रकार महिलाले पत्रकारिता गर्न सक्दैनन् भन्ने सोचले क्षमतावान पत्रकार महिला समेत पलायन हुन थालेको नेपाल प्रेस युनियन बाँकेकी उपाध्यक्ष लक्ष्मी बिसीले बताउनुभयो ।
पछिल्लो समय बाँके जिल्लामा सक्रिय पत्रकार महिला पलायन भैरहेका छन् । रेडियो र टेलिभिजनमा महिला पत्रकारको संख्या देखिए पनि छापा सञ्चारमा न्यून सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ बाँकेमा आवद्ध २०७ सदस्य मध्ये पत्रकार महिलाको संख्या ३६ रहेको छ । त्यसमध्ये करिव ५० प्रतिशत मात्रै महिला क्रियाशिल रहेको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदीले जानकारी दिनुभयो ।
पत्रकारितालाई पेशा बनाएर लाग्न सके मात्रै पत्रकार महिला लामो समय रहन सक्ने भएकोले त्यसका लागि स्वयम् व्यक्ति, सञ्चारगृह, घरपरिवारको सहयोग अपरिहार्य रहने सुवेदीले बताउनुभयो । पत्रकार महिलालाई क्रियाशिल र क्षमता अभिवृद्धिको लागि महासंघले तालिमको तयारी गरिरहेको पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति :२०७२ भदौ २० गते आईतवार
Comment Here!