सिर्जना अर्याल
चितवन, भदौ २० । विभिन्न प्रलोभनमा पारेर बेचिएका चेलीले मानव बेचविखन गर्ने दलाललाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेका छन् । नवौं मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवस २०७२ को सन्र्दभमा शनिवार चितवनमा आयोजित वहस कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । ‘सबै मिली गरौं विपद्को सामना, मानव बेचविखन अन्त्य हाम्रो कर्तव्य र चाहना’ भन्ने नारासहित सप्ताहव्यापी कार्यक्रम अन्तरगत उक्त बहस कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उनीहरूले रोजगारी, व्यवस्थित जिवन आदिको प्रलोभनमा आफूहरूलाई बेचेको बताउँदै पीडितहरूले कसैले रोजगारी दिलाउने, राम्रो ठाउँमा पुराइदिनेलगायतका आशा देखाउंदैमा विश्वास नगर्न सवैलाई आग्रह गरे ।
सञ्चारिका समूह र क्रियाशिल महिला पत्रकारको संयोजन र मानव बेचविखनविरुद्धको जिल्ला समिति चितवनको आयोजनामा भएको सो कार्यक्रमका वक्ताले मानव बेचविखनविरुद्ध काम गरिरहेका संघ, संस्था बिचमा सहकार्यको आवश्यकता भएका बताएका छन् ।
मानव बेचविखन गर्नेलाई विभिन्न दण्ड, सजायको व्यवस्था भएपनि मानव बेचविखन जस्तो आपराधिक कार्य अझै रोकिन नसकेको भन्दै सबैको सहकार्यको आवश्यकता समेत औँल्याइएको थियोे ।
मानव बेचविखनविरुद्ध जनचेतनामुलक कार्यक्रमहरू दिवसमा मात्र नभई सँधै देशव्यापी रुपमा सञ्चालन गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीले औँल्याएका थिए ।
धेरै पैसा कमाउने लोभ लालचामा परेर आफ्नै दाजुभाई, दिदीबहिनी समेत बेच्न लालयित भएको उनीहरूको भनाई थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले चेतना अभाव र गरिवीले मानव बेच बिखन बढिरहेको बताउनुभयो । अहिले पनि बेचिएकाको उद्धारका निम्ति गरिएको प्रयास सफल हुन नसकेको भन्दै उहाँले बेचिएर फर्केकाको पुर्नस्थापना गम्भिर चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै चितवनका स्थानिय विकास अधिकारी भरतमणी पाण्डेले बेचविखनमा परेका व्यक्तिले भोगेका समस्या र बेदनालाई अभिव्यक्त गर्न विभिन्न समयमा छलफल, बहस गर्न आवश्यक रहेको भन्दै मानव बेचविखनविरुद्ध सचेत बनाउन यस्ता कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । मानिसहरूलाई बेचविखन हुनबाट जोगाउन स्थानिय तहमा भएका सवै संरचनाहरू मार्फत प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समयमा पासपोर्ट बनाएर कानुनी प्रकृयाबाटै महिला बेचिने गरेका छन् । त्यस्तै दलित विपन्नहरू बढि बेचविखनमा परेको हुनाले लक्षित वर्ग पहिचान गरि बहुआयामिक पक्षबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव उहाँको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक सहकुल बहादुर थापाले बेचबिखन रोक्न प्रहरी क्रियाशिल रहेको बताउनुभयो । पछिल्लो समयमा चितवन वेचविखनको ट्रान्जीट प्वाइन्ट बनेकाले प्रहरीमात्र नभई सबै क्षेत्रबाट यसको रोकथाममा लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले ५ वर्ष यता जिल्ला प्रहरी कार्यालय चितवनमा १८ वटा मानव बेचबिखनको मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
अधिवक्ता फुलमाया रानाभाटले आर्थिक प्रलोभन र डर धम्कीका कारण पीडितले बयान फेर्न हुनाले पीडकले सजाय पाउन नसकिरहेको बताउनुभयो ।
नेपाल सरकारले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याईसकेको छ । साथै मानव बेचबिखन तथा ओसार पसारबाट उद्धार गरिएका पीडित र प्रभावितका लागि शारीरिक तथा मानसिक उपचारसहित संरक्षण सेवा प्रदान गर्न पुनस्र्थापना केन्द्र संचालन निर्देशिका, २०६८ कार्यान्वयनमा आइसकेको छ ।
प्रकाशित मिति: २०७२ भदौ २० गते आईतवार
Comment Here!