तीज : प्रेमले सफलता पाएको दिन


प्रकाशित मिति :2015-09-10 10:51:05

तीज प्रेमले सफलता पाएको दिन हो । आर्यकुलकी पार्वती र अनार्यकुलका महादेवबीचको  अन्तरजातीय विवाहले मान्यता पाएको दिन हो । त्यसदिन अर्धनारेश्वरको पूजा हुन्छ । अर्धनारेश्वरको मूर्ति महिला पुरुष समानताको प्रतिक पनि हो

गीता मैनाली

Gita Mainaliतीजको रहर आयो बरीलै ।
तीज महिलाको लागि रमाईलो र उमङ्गको पर्व हो । यसपाली भदौ ३० गते हरितालिका तीज परेको छ । यस दिन नेपालका हिन्दु महिलाले स्तन्त्रतरुपमा आफ्ना मनका कुरा खोल्ने, मिठो खाने, राम्रो लाउने र साथी सँगीसँग स्वतन्त्र भएर घुमफिर गर्ने गर्दछन् । नेपालको सन्दर्भमा भन्ने हो भने यस दिनलाई महिला स्वतन्त्रता दिवस भन्दा उपयुक्त हुन जान्छ ।

हरितालिका तीजको शाब्दिक अर्थ ‘सखीभीर्हरिता यस्मात् तेनेयं हरितालिका’ अर्थात सखीहरूले हरण गरेर लगेको हुनाले हरितालिका भनिएको रहेछ । सत्ययुगमा जब सतीदेवीले आत्मदाह गरिन्, तब उनको आत्मा हिमालयकी पत्नी मेनकाको गर्भमा बस्यो र पार्वतीको रूपमा जन्मियो । तिनै पार्वतीले होस सम्हालेदेखि नै महादेवसँगमात्र विवाह गर्ने मनशाय आफ्ना सखीहरूलाई सुनाएकी थिइन् । उनका पिता हिमालय पर्वतले आफ्नी सुन्दरी कन्या पार्वतीलाई महादेवजस्तो विषभाग, धतुरो सेवन गर्ने, सर्पको माला लगाउँने, बाघको छाला कम्मरमा बेरेर हिड्नेलाई नदिने बिचार गरी सुन्दर रूपका भगवान् बिष्णुलाई दिने निर्णय गरेछन् ।

ती कुरा थाहा पाएपछि सखीहरूले पार्वतीलाई आउँन लागेको विपतबाट जोगाउँन त्यहाँबाट हरणगरी वनको एकान्त ठाउँमा लगेछन् । सखीहरूको साथ पाएपछि भोक र भयबाट मुक्त भई एकाग्र चित्तले ईश्वरीय शक्तिको सम्वाहकको रूपमा आफूलाई परिवर्तन गर्न पार्वतीले त्यही एकान्त वनमा कठिन तपस्या गर्न लागिछन् । तपमा बस्नुअघिको रातमा उनले जडिबुटीको पात सेवन गरी आफ्नो इच्छा पुरा नभएसम्म तपस्यामा लिन हुने संकल्प गरेकी रहिछन् । उनको कठोर तपबाट महादेव प्रकट भई इच्छा सिद्धिको वर दिए रे । त्यही बेलादेखि व्रतको अघिल्लो रातमा जे खान्छौ त्यसलाई दर, पार्वतीले शिवको पूजा गरेकीले व्रतालुहरूले पनि अर्धनारेश्वर शिव र पार्वतीकोे संयुक्त रुपको पूजागर्ने र साथीसँगीहरूसँग नाँच्ने, गाउँने र मनका कुरा गीतमार्फत पोख्ने चलन सदियौँदेखि चल्दै आएको रहेछ ।

IMG_20150817_104009महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझा भन्नुहुन्छ– तीज प्रेमले सफलता पाएको दिन हो ।   आर्यकुलकी पार्वती र अनार्यकुलका महादेवबीचको प्रेम सम्बन्ध अर्थात अन्तरजातीय विवाहले मान्यता पाएको दिन हो । त्यसदिन अर्धनारेश्वरको पूजा हुन्छ । अर्धनारेश्वरको मूर्ति महिला पुरुष समानताको प्रतिक पनि हो । तीजलाई महिला हक अधिकार स्थापित भएको दिन र स्वतन्त्र रहेको दिनका रुपमा लिनुपर्दछ । तर समाजमा श्रीमानको लामो आयुका लागि निराहार ब्रत बस्ने अनि श्रीमानको खुट्टा धोएको पानी खाएर ब्रत तोड्ने जुन चलन छ त्यो नै दास मानसिकताको उपज हो, तीजको रुपमा मौलाएको घिनलाग्दो विकृति हो ।

तीजको वास्तविक अर्थ महिला पुरुष समान भएता पनि महिला अझ शक्तिशाली र स्वतन्त्र छन् भन्ने हो । तर समाजमा सदियौँदेखि पण्डितको रुपमा पुरुष वाचक र महिला श्रोताको रुपमा रहेकाले तीजको वास्तविकतालाई बग्याँएर पुरुषको दासत्वको रुपमा कथालाई परिणत गरिँदै आएको छ । आजका महिलाले यो कथाको वास्तविक मर्म बुझ्न जरुरी छ ।

पद्मकन्या क्याम्पसकी पूर्वप्रमुख अंगुर बाबा जोशी ब्रत बस्नाले शारीरिक, मानसिक, आध्यात्मिक र बौद्धिक तत्वको विकास हुनेमा विश्वस्त हुनुहुन्छ । जोशीका अनुसार ब्रत बस्नाले हाम्रो ज्ञानेन्द्रीय बसमा हुनुका साथै आत्म शुद्धि भई सकारात्मक सोचको विकास हुन्छ । एउटाले ब्रत बसेर अर्कोलाई फाइदा पुग्ने होइन ।  जसले ब्रत बस्छ, उसैलाई फाइदा पुग्छ । ब्रत बस्ने मामलामा महिला अगाडि छन् ।

तीजको वास्तविक अर्थ नै नबुझी विकृतिको रुपमा परिमार्जन हुनु दुःखको कुरा हो । तीजमा नारी पुरुष अथवा श्रीमान् श्रीमत दुबैले ब्रत बसी पूजा गरे घर परिवारमा सुखशान्ति प्राप्त हुन्छ जोशीको बिचारमा । जोशी थप्नुहुन्छ पहिला छोरीवेटीहरूको घरमा दुःख, कष्ट र अभावले धेरै बुहार्तन खप्नु पथ्र्यो । बाल विवाह र शिक्षाको अभावका कारण छोरीचेलीहरू धेरै दुखी थिए । उनीहरूका लागि तीज माईत गएर वर्षदिन भरीको दुख बिसाउँने थलो हुन्थ्यो । त्यतिबेलाका छोरीचेलीमा राम्रो लाउने, मिठो खाने र साथीसँग रमाईलो गर्ने जीवनकै स्वर्णिम युग खोसिएको हुन्थ्यो । त्यहीँ खोसिएका खुसीहरू सम्पूर्ण रुपमा प्राप्त भएको महसुस गर्दथे तीजमा त्यतिबेलाका छोरीचेलीले । वर्षमा ३६४ दिन बुहारी भएर बुहार्तन भोगेका चेलीले तीजमा छोरी भएको महसुस गर्दथे । तर अहिले तीजको ब्रत बस्ने चलन परिवर्तन हुदैछ । अहिलेका बुहारीले पहिलेको जस्तो दुःख कष्ट सहनु पर्दैन । पहिला तीज दुःख बाड्ने माध्यम थियो तर अहिले सुःख बाड्ने पर्वको रुपमा विकास हुँदै गएको छ । अझ नेपाली नारीले तीजलाई स्वतन्त्रता दिवसको रुपमा मनाउँनुपर्छ । हाम्रो परम्परा हामीले नै जोगाउँनुपर्छ ।

दर खाने चलन भित्रको विकृति मौलाउँदै गएकोमा चिन्तित हुनुहुन्छ पण्डित रमेशप्रसाद पौडेल । धार्मिक परम्परा र सँस्कृति अध्ययन नगरी देखासिखीको भरमा ब्रत बस्न नहुने उल्लेख गर्दै तीजको ब्रत द्धिज दम्पती ( श्रीमान र श्रीमती ) मिलेर बस्नुपर्ने र दुबै मिलेर अर्धनारेश्वरको पूजा गर्नाले मनोकामना पूरा हुन्छ । तर वर्तमान परिस्थितिमा नारीले चाँही पानी पनि नखाई ब्रत बसेर श्रीमानको सुस्वास्थ्य र दिर्घायुको कामना गर्ने तर श्रीमान चाही दालभात, माछामासु र मदिरा सेवन गर्दै हिँड्ने यो हाम्रो धार्मिक संस्कारभित्र मौलाएको डर लाग्दो विकृति हो भन्नुहुन्छ पण्डित पौडेल ।

अब हामीले तीजलाई उतिबेला पार्वतीले किन र कसरी व्रत बसेकी थिइ्न् परिणाम के पाइन् भनेर विश्लेषण गर्ने र स्वयं अभ्यास गर्ने बेला आएको छ । समाजको तगारो कमजोर भएका बेला तीजलाई दरमा मात्र सिमित नराखी तीजको वास्तविक महत्वलाई उजागर गर्ने त्यसकै सेरोफेरोमा बहस चलाउने बेला आइसकेको छ ।

IMG_20150817_104013तीजपर्वको महत्वलाई ओझेल पारेर हाम्रो बहस दरमा केन्द्रित हुन थालेको छ । एकछाक मिठो खान र घरका परिवारले दिएको दुःख, गुनासो पोख्नकै लागि माईत जानुपर्ने अवस्था छैन । कामकाजी महिलाहरू दर खान होइन खुवाउन सक्षम भैसकेका छन् । गुनासा सुनाउने गन्तव्यस्थल फराकिएर राज्यसम्म पुगिसकेको छ । देशमा गणतन्त्रको आगमनसँगै महिलाको सामूहिक रुपमा दरखाने र एउटै आवाजमा समानताको हक खोज्ने प्रचलन भित्रिएको छ । जसका कारण पहिलो संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता हुन पुग्यो । नेपालको अन्तरिम संविधानको धारा १३ ले प्रत्याभूत गरेको समानताको हक र धारा २० ले प्रत्याभूत गरेको मौलिक हक अझै ओझेलमा परेको छ ।  अबको बहस यसैमा केन्द्रीत हुन जरुरी छ ।

मातातीर्थ आमा समूहकी अध्यक्ष बन्दना उप्रेतीका अनुसार अब गाइने तीजगीतमा नन्द, आमाजु, श्रीमान्, र सासुको कुरा आमाबाबालाई लगाउने होइन कि महिलालाई गरिने भेदभावपूर्ण व्यवहार अन्त्यका लागि राज्यलाई झकझक्याउने खालका खबरदारीका शब्द समेटिनु पर्दछ । श्रीमानलाई आदर गर्नुपर्दछ तर सम्मान गर्ने नाममा खुट्टा धोएको मैलो पानी खानु हुँदैन । यो तीजलाई नै लाजमर्दो विकृतिजन्य परिपाटीको अन्त्य हामी आफैले आफ्नै घर परिवारबाट गर्नुपर्ने कुरामा जोड दिनुहुन्छ अध्यक्ष उप्रेती । जे होस तीज हामी नेपाली महिलाका लागि स्वतन्त्रताको दिन हो ।

प्रकाशित मिति :२०७२ भदौ १४ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: