ईश्वरी जी.एम.
रोल्पा, भदौ २४ । रोल्पा जिल्लाका धेरै जसो विद्यालयका व्यवस्थापन समिति र विद्यालयमा प्रधानाध्यापक महिलाको संख्या पनि ज्यादै कम रहेको पाईएको छ ।
जिल्ला शिक्षा कार्यालय रोल्पाको तथ्याङ्क अनुसार जिल्लाभरीका कुल ४ सय ८ वटा विद्यालय मध्ये जम्मा १० वटा विद्यालय व्यवस्थापन समितिमामात्र महिला अध्यक्ष छन्, जस मध्ये जनकल्याण प्रा.वि. कर्तम ईरिबाङमा सबिता पुन, शिशु कल्याण प्रा.वि. घोडागाउँमा पँजु खत्री, लाली गुराँस प्रा.बि. बाहिगाउँ लिबाङमा तिलकुमारी गुरुङ, जलजला प्रा.वि. पेवा धबाङमा बर्मा रोका, शारदा नि.मा.वि. फुन्टिबाङ थबाङमा कुमारी झाँक्रि, सरस्वती प्रावि कोटगाउँमा तिर्थमाली घर्ती र शिक्षा किरण प्रावि कोटगाउँमा बिर्सना घर्तीलगायतका १० वटा विद्यालयमा महिलाले नेतृत्व गरिरहेका छन् भने बाँकी सबै विद्यालयको व्यवस्थापन समितिमा पुरुषहरू नै अध्यक्ष रहेका छन् ।
जिल्लामा प्रा.बि. २ सय ५७, निमावि ७९, मावि ६१ र उमावि ११ वटा गरी जम्मा ४ सय ८ वटा विद्यालय रहेकोमा जिल्लाभरीका विद्यालयमा जम्मा ४ सय ९ जना महिलामात्र व्यवस्थापन समितिमा रहेका छन् । यसले के देखाउँछ भने प्रत्येक विद्यालयमा ९ देखि ११ जनासम्मको व्यवस्थापन समिति हुन्छ र समितिमा १ जना महिला अनिवार्य राख्नुपर्ने प्रावधान अनुसार महिलालाई आरक्षणको रुपमा मात्र राखिएको छ । जिल्ला शिक्षा कार्यालय, लिबाङ स्रोत केन्द्रका स्रोत व्यक्ति लोक कुमार श्रेष्ठका अनुसार गाउँका महिला आफै जारुगक नहुने, नेतृत्व गर्न तयार नहुने प्रबृत्तिले पनि प्राय विद्यालय व्यवस्थापन समितिमा महिला संख्या कम हुने बताउनुभयो ।
यसैगरी रोल्पा जिल्लामा महिला प्रधानाध्यापकहरूको संख्या पनि अत्यन्त कम देखिएको छ । जिल्ला शिक्षा कार्यालय रोल्पाका शाखा अधिकृत कृष्णचन्द्र पोख्रेलका अनुसार जिल्लाका ६१ वटा मा.वि र ११ वटा उमाविमा १ जना पनि महिला प्रधानाध्यापक/प्राचार्य छैनन् भने नि.मा.वि.को करिब ७ वटा र अन्य सबै प्राविका गरी जिल्लाभर जम्मा ४३ जना प्रधानाध्यापक महिला रहेका छन् । रोल्पा जिल्लामा ३ सय ६० जना महिला शिक्षिका कार्यरत रहेको तथ्यांकले देखाएको छ । यस विषयमा नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाकी अध्यक्ष लिला आचार्यले पितृसत्तात्मक सोचका कारण महिलाको नेतृत्व स्विकार नगर्ने प्रबृत्तिले पनि महिला प्रधान अध्यापकको संख्या रोल्पामा थोरै भएको भन्दै महिला प्रधान अध्यापक भएका जिल्लाका विद्यालयहरू पारदर्शि, भ्रष्टाचार रहित र अनियमितता रहित रहेको दाबी गर्नुभयो । साथै समाजको कमजोर मानसिकताको कारण विद्यालय व्यवस्थापन समितिमा पनि तोकेको १ जना बाहेक अन्य महिला आउन नसकेको उहाँले बताउनुभयो । स्वयम महिला पनि समाजबाट खुलेर नेतृत्वमा आउनुपर्ने आचार्यको धारणा छ ।
बालमन्दिर प्रावि लिबाङमा २१ वर्षदेखि प्रधान अध्यापकको जिम्मेबारी सम्हाल्दै आउनुभएकी तत्कालिन नेपाल राष्ट्रिय शिक्षक संगठनकी जिल्ला उपाध्यक्ष समेत बन्नुभएकी बिना मल्लले महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने पुरुषको भावना तथा महिलाले पनि हामी नेतृत्व सम्हाल्न सक्दैनौं कि भन्ने साँघुरो सोचाईले नै रोल्पा जिल्लाका शिक्षा क्षेत्रमा महिलाको कम सहभागिता रहेको बताउनुभयो । जिल्लामा सुरु–सुरुमा महिला शिक्षिकाको संख्या थोरै भएर प्रअमा कम भएपनि पछिल्लो समयमा शिक्षिकाको संख्या बढेपनि माथिल्लो पदमा महिलाको पहुँच बढ्न नसक्नु दुखद भएको धारणा राख्नुभयो । प्रधान अध्यापकको नियुक्ति गर्ने व्यवस्था परिमार्जन गर्न जरुरी रहेको बताउँदै मल्लले प्राविमा मात्र नभएर निमावि÷मावि तहसम्म समेत योग्यता पुगेका शिक्षिकाले प्रधान अध्यापकको दाबी गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रकाशित मितिः २०७२ भदौ २४ गते बिहीवार
Comment Here!