नेतृ छन्, नेतृत्व छैन


प्रकाशित मिति :2015-09-11 12:46:28

नेपाली राजनीतिमा नेतृहरू भए, तर कोही पनि नेतृत्वमा पुगेनन्, किन ? महिला सभासद्हरू नै स्वीकार गर्छन्, ‘हामी सङ्घर्षबाट भाग्छौँ । चुनौती मोल्न चाहँदैनौँ । अब महिलाले पद ओगटेर मात्र हुन्न, त्यसको सदुपयोग पनि जरुरी छ ।’

सलोजा दाहा
०७१ चैत २७ गते बाग्लुङ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा चम्पादेवी खड्का निर्वाचित भइन् । उनी पूर्वसभासद् हरिबहादुर खड्काकी श्रीमती हुन् । हरिबहादुरको सडक दुर्घटनामा निधन भएपछि राजनीतिबाट टाढा रहेकी चम्पालाई नेपाली काङग्रेसले उम्मेदवार बनायो । मतदाताले पनि चम्पालाई चयन गरे । दुई हजार मतान्तरमा नेकपा एमालेकी मनकुमारी केसीलाई पराजित गर्दै उनले विजयको माला लगाइन् ।

बाराका महमुद आलमको हत्यापछि नेकपा (एमाले) ले उनकी श्रीमती नेजमा आलमलाई उम्मेदवार बनायो । संविधानसभाको दोस्रोपटक भएको निर्वाचनमा उनी प्रत्यक्षतर्फबाट सभासद् भइन् ।

एकीकृत नेकपा माओवादीले राममाया बोगटीलाई समानुपातिकबाट सभासद् चयन गर्‍यो । उनी एमाओवादी नेता स्वर्गीय पोष्टबहादुर बोगटीकी श्रीमती हुन् । पोष्टबहादुर राजनीतिमा हुँदा घर–व्यवहारको काम सम्हाल्थिन् राममाया ।

०६६ मा ओखलढुङ्गामा नेकपा एमालेका नेता छवि कार्कीको हत्या भयो । छवि एमालेको सगरमाथा अञ्चल सदस्य थिए । संविधानसभा निर्वाचनमा छविकी श्रीमती शकुन्तला राजभण्डारीलाई एमालेले समानुपातिक सभासद् चयन गर्‍यो । त्यसअघि उनी शिक्षण पेसामा थिइन् ।

नेपाल सद्भावना पार्टीबाट समानुपातिक सभासद् बनेकी शैलाकुमारी देवी पार्टी अध्यक्ष राजेन्द्र महतोकी श्रीमती हुन् । कान्छी सभासद् सरिताकुमारी यादव पूर्वसञ्चारमन्त्री राजकिशोर यादवकी श्रीमती हुन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले पाएको एक सिटमा अध्यक्ष यादवले आफ्नी श्रीमतीलाई सभासद् बनाए । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नो पार्टीले पाएको एक मात्र समानुपातिक सिटमा श्रीमती डिम्पल झालाई मनोनयन गरे । डिम्पल पेसाले चिकित्सक हुन् ।

सभासद् बबिता मोक्तान राप्रपा नेपालका संस्थापक नेता तथा पूर्वमन्त्री स्वर्गीय पद्मसुन्दर लावतीकी बुहारी हुन् । उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद् भएकी हुन् ।

एमाओवादीबाट सभासद्मा चयन भएकी डा. उषाकिरण अन्सारी सलिम मियाँ अन्सारीकी छोरी हुन् । चिकित्सा पेसामा आबद्ध अन्सारीले सभासद् चयन हुनुअघि ०६९ मा मात्रै पार्टी सदस्यता लिएकी थिइन् ।

राप्रपाबाट सभासद् बनेकी सरोज शर्मा पूर्वमन्त्री रवीन्द्रनाथ शर्माकी श्रीमती हुन् । काङ्ग्रेसको समानुपातिकतर्फबाट सभासद् बनेकी शिला खड्का काङ्ग्रेस नेता खुमबहादुर खड्काकी श्रीमती हुन् । लगातार दोस्रोपटक समानुपातिक सभासद् बनेकी आरजु राणा काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाकी श्रीमती हुन् । विवाहअघि उनी राजनीतिमा थिइनन् ।

पहिला घर–व्यवहारमै अल्झिने सीतादेवी यादव श्रीमान् चन्द्रनारायण यादवको हत्यापछि प्रत्यक्ष राजनीतिमा आइन् । श्रीमान्को हत्यापछि ०५७ देखि उनी नेपाली काङ्ग्रेस सिरहा जिल्ला कार्यसमिति सभापति छिन् । ०६२/६३ मा पुनस्थापित प्रतिनिधिसभा सदस्य (सांसद) बनेकी सीता ०७० मा भएको संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नं. ३ बाट विजयी भएकी थिइन् ।

०५६ को आमनिर्वाचनको प्रचारप्रसारको क्रममा नेकपा एमालेका उम्मेदवार यदु गौतमको हत्या भयो । त्यसपछि पार्टीले उनकै श्रीमती तीर्था शर्मा गौतमलाई उम्मेदवार बनायो । उनी कोरो बारेकै अवस्थामा भोट माग्न हिँडिन् । निर्वाचनमा विजयी पनि भइन् । हाल सुकुम्बासी आयोग रुकुमको अध्यक्ष पदमा रहेकी तीर्था एमालेको जिल्ला राजनीतिमा सक्रिय छिन् ।

०६४ को संविधानसभा निर्वाचन प्रचारप्रसारकै क्रममा सुर्खेतका एमाले उम्मेदवार ऋषिराज शर्माको हत्या भएपछि उनकी श्रीमती कमला शर्मा उम्मेदवार बनिन् र निर्वाचित भइन् । अहिले उनी जिल्ला कार्यसमिति सदस्य छिन् ।

अहिले संविधानसभामा प्रत्यक्ष र समानुपातिक गरी एक सय ७७ महिला सभासद् छन् । काङ्ग्रेस नेतृ प्रतिमा गौतमका भनाइमा महिलाको क्षमताको कदर गर्नेभन्दा पनि उनीहरूलाई हतियार बनाउन मात्र राजनीतिमा प्रयोग गरिन्छ । गौतम भन्छिन्, ‘अहिलेसम्म पनि महिला प्रभावशाली र सक्रिय रूपमा अगाडि आउन सकेका छैनन् । किनकि यहाँ ‘एस म्यान’लाई मात्र अघि सार्ने चलन छ ।’

संविधानसभामा प्रतिनिधित्व गर्ने दुई स्वतन्त्रसहित ३२ दलमध्ये एउटा दलको प्रमुख मात्र महिला छिन् । संविधानसभामा रहेकामध्ये सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुकमिणी चौधरी हुन् । थरुहट पार्टीकी अध्यक्ष चौधरीले नै संविधानसभामा प्रतिनिधित्व गरिरहेकी छिन् ।

प्रमुख दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, एमाओवादीलगायत मधेसवादी दलहरूमा समेत महिलाको प्रतिनिधित्व न्यून छ । नेपाली काङ्ग्रेसमा सात पदाधिकारीमध्ये कोषाध्यक्ष (चित्रलेखा यादव) र नेकपा एमालेमा १४ पदाधिकारीमध्ये दुई उपाध्यक्ष (विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य) मात्र महिला छन् । एकीकृत नेकपा माओवादीमा सात पदाधिकारीमा एकजना पनि महिला छैनन् ।

न्यून सङ्ख्यामा रहेका महिला पनि किन राजनीतिक दलमा सक्रिय हुँदैनन् ? नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री भन्छिन्, ‘महिलाले अझै पनि राजनीतिमा आफ्नै धरातल निर्माण गर्न सकेका छैनन् । त्यसमा सामाजिक कमजोरी छँदै छ, महिला स्वयम्मा पनि जिम्मेवारमुक्त छैनन् ।’ नेतृ झाँक्री भन्छिन्, ‘यसका लागि महिलाले पार्टीभित्र र बाहिर राम्रो इमेज बनाउन जरुरी छ ।’

नेपाली काङ्ग्रेसकी नेतृ पुष्पा भुसाल अझै पनि सामाजिक तथा व्यावहारिक समस्याका कारण महिला पार्टी पोलिटिक्समा कम देखिएको बताउँछिन् । पुष्पा भन्छिन्, ‘महिला क्षमता नभएकै कारण सहभागी नभएका होइनन्, समाजदेखि पार्टीमा समेत महिलालाई हेर्ने नजर सकारात्मक छैन ।’

‘राजनीतिमा महिला सहभागिता र सक्रियताको अभावको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविरोधी पनि छ,’ अधिवक्ता राजेन्द्र शर्मा भन्छन्, ‘महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ लाई नेपालले १९९१, अप्रिल २२ मा नै अनुमोदन गरिसकेको छ । त्यसलाई कार्यान्वयनमा नल्याएकै कारण अहिले पनि महिला विभेदको सिकार हुनुपरेको छ ।’

नेपाली राजनीतिमा महिलाको सहभागिताबारे समाजशास्त्री डा. मीना उप्रेती भन्छिन्, ‘महिलाका लागि नेपाली संरचना नै उपयुक्त छैन ।’ उनका विचारमा राजनीतिमा महिला सक्रियता बढाउने होइन, सहभागी गराउने मात्रै सोचाइ छ यहाँ । ‘अहिले त महिलाको आवाज नै सुनिँदैन, त्यसैले क्षमताशील भएर पनि उनीहरू छायामा बस्न बाध्य छन् ।’

नेकपा एमालेकी सभासद् शकुन्तला राजभण्डारी महिलालाई आँसुको राजनीति गर्ने र कस्मेटिक भनेर लाग्ने आरोप केही हदसम्म सही भएको स्वीकार गर्छिन् । उनी भन्छिन्, ‘हामी आफैँ काम गर्न चाहँदैनौँ । सङ्घर्षबाट भाग्छौँ । सहज कामको लागि मात्र तयार हुने, चुनौती मोल्न नचाहने हाम्रो समस्या हो ।’ उनका भनाइमा अब स्थान ओगटेर मात्र पुग्दैन । त्यसको सदुपयोग जरुरी छ ।

(सञ्चारिका फिचर सेवा)
(सलोजा काठमाडौंमा पत्रकारिता गर्छिन् ।)

प्रकाशित मिति: २०७२ भदौ २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: