साउदी कुटनीतिज्ञद्वारा यौन शोषणमा परेका महिलाका विषयमा अनुसन्धान सुरु
कविता श्रेष्ठ
काठमाडौ, भदौ २५ । भारतस्थित साउदी दूतावासका कर्मचारीले बन्धक बनाएर बलात्कार गरिएका दुई नेपाली महिलालाई बिक्रि गर्ने दलालको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ ।
जागिर लगाइदिने बहानामा एक नेपाली महिलाले नै उनीहरूलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दुई मध्ये एक महिला अरुको पासपोर्टमा आफ्नो फोटो टाँसेर साउदी पुगेकी थिइन् । दुवै जनाको पासपोर्ट भने फेला परेको छैन । भारत स्थितसाउदी दुताबासका कर्मचारीकै अपार्टमेन्टमा उनीहरूको पासपोर्ट हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
सीआइबी का एस पी किरण बज्राचार्यले दुवै महिलाले नक्कली राहाधनी बनाएको , वर्क परमिट नभएको र गैरकानुनी रुपले आर्थिक प्रलोभनमा परी विदेश गएकाले यी समस्या भोग्नु परेको बताउनुभयो । उहाँका अनुसार दुई महिला सहित ३० जनालाई मानव तस्करीमा संलग्न समूहले मुम्बईबाट श्रीलंका हुदै साउदी पुर्याएका हुन् । तीन महिना साउदीमा चरम यौन शोषण भोग्न बाध्य ती दुई महिलालाई अत्यन्त दर्दनाक स्थितिमा भारत स्थित साउदी दुताबासका मजिद नाम गरेका कर्मचारीले भारत फर्काएको उहाँ बताउनहुन्छ । दुवैको स्वास्थ्य परिक्षण भइरहेको उहाँ भनाइ छ ।
साउदीमा जागिर लगाइदिने भनेर पैसा समेत असुलेर उनीहरूलाई एजेन्टले बिक्री गरेको अनुसन्धानका त्रलममा खुलेको बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार भारतीय प्रहरीले यस सम्बन्धी उजुरी लिइसकेको छ । नेपालको परराष्ट्र मन्त्रालयसँग अनुमति लिएपछि कारवाही अघि बढ्ने एसपी बज्राचार्यले जानकारी दिनुभयो ।
गत सोमवार राती भारतीय प्रहरीले दुइ जना महिलालाई साउदी कूटनीतिज्ञको गुडगाउँस्थित निवासमा छापा मारी उनीहरूको उद्धार गरेको थियो । नेपाल प्रहरीले पत्र पठाएपछि साउदी कूटनीतिज्ञको निवासमा भारतीय प्रहरीले छापा मारेको हो ।
घरेलु कामका लागि राखिएका उनीहरूलाई एक महिना भन्दा बढि समय घरमै बन्धक बनाएर यौन शोषण गरिएको स्वास्थ्य जाँचपछि पुष्टि भएको छ ।
कहिलेकाहिँ ७ /८ जना पुरुषले दैनिक उनीहरूमाथि बलात्कार गर्ने गरेको पीडित महिलाले बताए । पीडितहरूका अनुसार साउदी कूटनीतिज्ञले उनीहरूलाई नैनीताल र आग्रामा पनि लग्ने गरेको र त्यहाँ उनका अरु पाँहुनाले पनि यौन दुव्र्यवहार गर्ने गर्थे ।
साउदी कूटनीतिज्ञकै घरमा काम गर्ने एकजना महिलाले पीडित महिलाहरूको बारेमा माईती नेपाल ईन्डियामा खबर पुर्याएपछि माईती नेपाल ईन्डियाले नेपाल राजदुताबासलाई पत्र पठाएको थियो । त्यसपछि नेपाली राजदुतावासले भारतीय विदेश मन्त्रालय र गुडँगाउ प्रहरीलाई पत्र पठाएको थियो ।
प्रकाशित मिति : २०७२ भदौ २५ गते शुक्रवार
Comment Here!