किन फेल भए धेरै छोरीहरू ?


प्रकाशित मिति :2015-09-13 13:50:30

‘हाम्रो समाजमा छोरीलाई पढाउने भनेको नै विवाहको लागि सजिलो होस भनेर हो । यस्तो मानसिकताका कारण उनीहरू अगाडि बढ्न सकेनन्’ ।
कोकिला केसी

Capture

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरूमा लैंगिक समानताका विषयमा जतिसुकै बयान गरे पनि हामी अझै पनि छोरा पाउँदा खसी काट्ने र छोरी पाउँदा फर्सी काट्ने समाजमै बसिरहेका छौं । जन्मेदेखि यस्ता भेदभाव देखिने हाम्रा समाजमा छोरालाई काखा छोरालाई पाखा गर्नु पनि स्वभाविक नै हो । त्यसैले पनि होला आजसम्म पनि असमानतालाई खेप्दै मर्नु पर्ने स्थिति भएको ।

बालबालिकाको शिक्षाको अवस्था हेर्ने हो भने कक्षा १ मा छात्राको भर्ना संख्या राम्रै देखिन्छ । लाखौंको संख्यामा छात्रा र छात्र विद्यालयमा भर्ना भएको देखिन्छ । तर माथिल्लो तहसम्म पुग्दा त्यो संख्या घटेर हजारौंमा आइसकेको हुन्छ । त्यसैगरी पढाई सकेर कार्यस्थलसम्म पुग्दा त महिला धेरै कम भइसकेका हुन्छन् । अझै निर्णायक तहमा त महिला औंलामा गन्न मिल्ने संख्यामा मात्रै छन् । यसरी सानैदेखि बालिकालाई शिक्षाको अवसरसँगै अन्य अवसरहरूबाट पनि वन्चित गरिएकाले यस्तो अवस्था आएकोे देखिन्छ ।

शिक्षा विभागले हरेक वर्ष निकाल्ने तथ्याकं ‘फ्ल्यास रिपोर्ट’ को विगत १० वर्षको तथ्याकं समिक्षा गर्ने हो भने २०६२ सालमा छात्रा भर्ना संख्या हेर्दा सात लाख सन्ताननब्बे हजार नौ सय ८३ थियो । त्यस्तै छात्र भर्ना संख्या भने आठ लाख ६१ हजार चार सय पाँच देखिन्छ । जबकी त्यही विद्यार्थी १० वर्षपछि २०७१ सालमा कक्षा १० मा पुग्दा छात्रा दुई लाख पाँच सय ८३ मात्रै छन् भने छात्र एक लाख ९४ हजार पाँच सय ५५ मात्रै छन् । यसलाई परिक्षासँग जोड्ने हो भने छात्रा निकै थोरै मात्रामा पास भएको देखिन्छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार २०७१ सालको एसएलसी परिक्षामा चार लाख पाँच हजार तीन सय ३८ विद्यार्थी सामेल भएका थिए । जसमध्ये एक लाख नौ हजार ४३ छात्र पास भए भने छात्राको संख्या केवल ८३ हजार दुई सय २४ थियो । तलको चित्रबाट पनि यो पुष्टी गर्छ ।

शैक्षिक गुणस्तरको कुरा गर्दा छात्र विद्यालयदेखि नै उत्कृष्ट रहेको देखिन्छ भने छात्रा अनुत्र्तिण भएसँगै उनीहरूको उच्च शिक्षामा पहुँच घट्ने गरेको शिक्षाविद् सुसन आचार्यको भनाई छ । उनका अनुसार विभिन्न आर्थिक, सामाजिक एवं राजनैतिक कारणले गर्दा छात्रा सानैदेखि अध्ययनमा पछाडि पारिएका र अध्ययरत विद्यार्थीमा पनि त्यति राम्रो गुणस्तर नदेखिएको हो । पितृसत्तात्मक संरचनाका कारणले पनि यस्तो अवस्था आएको आचार्य यसरी बताउनुहुन्छ, ‘हामी अझै पनि पितृसत्तात्मक समाजमा बाँचिरहेका प्राणी हौं । त्यसैले यस्तो समाजमा अझै पनि पुरुष भनेका काम गरी कमाएर बालबच्चा, परिवार पाल्नुपर्ने जात अनि महिला भनेका अर्काको घर गएर परिवारको सेवा गर्ने वर्ग भनेर बुझिन्छ ।’

Shanta Chaudhari In School (5)

उनका अनुसार जवसम्म यस्तो पुरातनवादी सोचमा परिवर्तन हुन सक्दैन तबसम्म यो समाजमा सुधार हुने सम्भावना रहँदैन । ‘हाम्रो समाजमा छोरीलाई पढाउने भनेको नै विवाहको लागि सजिलो होस भनेर हो । यस्तो सानो मानसिकताका कारण पनि महिला अगाडि बढ्न सकेनन’ आचार्यले भन्नुभयो । महिला सानैदेखि सानो उद्देश्य बढेर सफलता हात पार्ने उनको तर्क छ ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानका अनुसार रोजगारीमा जाने महिलाको संख्या पहिलेको तुलनामा बढेको छ । तर महिलाको संख्या पुरुषसँग तुलना गर्ने हो भने यो संख्या अझै पनि १० प्रतिशतदेखि ३० प्रतिशतसम्म कम हो । त्यसैगरी शिक्षाको लागि विदेशीनेको कुरा गर्ने हो भने केटाको तुलनामा केटीको संख्या एकदमै कम देखिन्छ ।

केही वर्ष अगाडि नेपालमा गरिएको एक अध्ययनले विद्यालयमा शौचालयको समस्याका कारण पनि धेरै नै छात्रा स्कुल नजाने र गएकामध्ये पनि बिचैमा स्कुल छोडेर घरकै काममा हराउने गरेको देखाउँछ । त्यसैगरी वैशाख १२ को भूकम्पले गर्दा  धेरैले ज्यान गुमाए र  हजारौको संख्यामा घाइते र घरबारविहीन भए । यस्तो अवस्थामा अब विद्यालय जाने बालबालिकाको संख्यामा पनि कमि आउन सक्छ । भूकम्पपछि राष्ट्रिय योजना आयोगले निकालेको एक तथ्यांकमा पनि विद्यालयबाट बालबालिका पलायन हुने तथा बालबालिकाको बाल विवाह हुने जोखिम बढेको देखिन्छ । शिक्षाविदहरूका अनुसार देशमा आउने यस्ता परिस्थितिका कारण पनि विचैमा पढाई छोड्ने र त्यही कक्षा फेरी दोहोर्‍याउने नै नेपालको लागि ठूलो चूनौति रहेको छ ।

नेपाल सरकारले सीआरसी, सिडलगायतका विभिन्न अन्तर्राष्ट्रिय सन्धी महासन्धीमा हस्ताक्षर गरेर आफ्नो प्रतिवद्धता जनाइसकेको छ । सदस्य राष्ट्रको रुपमा बालिका एवं महिलालाई शिक्षा दिलाउनु नेपालको दायित्व हो । यसै अन्र्तगत शिक्षा मन्त्रालयको मातहतमा रहेको शिक्षा विभागले छात्रालाई शिक्षाबाट बन्चित हुन नदिन विभिन्न कार्यक्रमहरू पनि संचालन गर्दै आइरहेको छ ।

शिक्षा विभाग अन्र्तगत रहेको लैंगिक समविकास शाखाका अनुसार अहिले सरकारले निःशुल्क आधारभूत शिक्षाको व्यवस्था गरेको छ । त्यस्तै कक्षा आठसम्म छात्राको लागि छात्रवृत्तिको व्यवस्था छ । कक्षा १० सम्म निःशुल्क पाठ्यपुस्तक पनि वितरण गर्दै आएको छ सरकारले । लैंगिक समविकास शाखाका उपनिर्देशक दुर्गा कँडेलका अनुसार विद्यालयको वातावरण, गरिवी, हाम्रो संस्कृति आदिका कारणले गर्दा छात्रालाई विद्यालयमा टिकाउन गाह्रो हुने गर्छ । ‘सरकारले यस्ता चूनौतिका बाबजुद पनि छात्रालाई टिकाई राखी गुणस्तरीय शिक्षा दिनको लागि हरसम्भव प्रयास गरिरहेको छ’ कँडेल भन्छन् । उनका अनुसार अहिले सरकारले छात्राका लागि मात्र भनेर देशका विभिन्न ठाउँहरूमा २० वटा फिडर छात्राबासको पनि व्यवस्था गरेको छ । यी सम्पूर्ण सेवा सुविधा हुँदाहुँदै पनि छोरा र छोरीलाई शिक्षामा समान पहुँच र समान शिक्षा कहिले पाउने भन्ने एक प्रश्नकै रुपमा रहेको छ ।

प्रकाशित मिति :२०७२ भदौ २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: