पहिले कमलरी, अहिले उद्यमी


प्रकाशित मिति :2015-09-14 09:44:42

कुनै बेला पेटभर खान र एकसरो कपडाको जोहो गर्न अर्काको घरमा कष्टकर काममा घोटिनुपथ्र्यो । आज उनीहरू नै ‘महिला उद्यमी’को सार्वजनिक पहिचान बोकेर प्रगतिको बाटोमा हिँडिरहेका छन् ।
ठाकुरसिंह थारू

Thakur Singh Tharuवैजापुर– १ की २० वर्षीया दिलकुमारी चौधरी ६ वर्षअघिसम्म मालिकको घरमा कमलरी थिइन् । कमलरी बसेर उनले आफ्नो बाल्यकाल कष्टपूर्ण रूपमा बिताइन् । अहिले ती पूर्वकमलरीेको परिचय फेरिएको छ । अहिले उनी नेपालगन्जमा महिला उद्यमीका रूपमा स्थापित छिन् । ‘लवा जुनी ट्रेनिङ सेन्टर’की सञ्चालक दिलकुमारी उद्यमी बन्ने बाँकेकै पहिलो पूर्वकमलरी हुन् ।

विगत सम्झँदा पनि कहालीलाग्दो थियो । कमलरी भएपछि दश–बीस रुपैयाँ पनि उनका लागि निकै ठूलो रकम थियो । आफूलाई मन परेको खान र लगाउन माघी (थारू जातिको मुख्य चाड) पर्खनुपथ्र्यो । अहिले उनले ट्रेनिङ सेन्टरबाट मासिक १५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् ।

गएको वर्ष स्थापना गरिएको सेन्टरमा उनले फेसन डिजाइन र सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएकी छिन् । उनको सेन्टरबाट दुई वर्षको अवधिमा एक सय २० भन्दा बढी पूर्वकमलरीले तीनदेखि ६ महिनाका तालिम लिइसकेका छन् । मुक्त कमलरीको क्षेत्रमा क्रियाशील नेपाल युथ फाउन्डेसनको सहयोगमा उनले सेन्टर खोलेकी हुन् । सेन्टरका लागि आवश्यक पर्ने मेसिनहरू उनले पूर्वकमलरीहरूद्वारा सञ्चालन गरिएको दिदीबहिनी एकता सहकारीबाट करिब एक लाख रुपैयाँमा ऋण लिएर खरिद गरेकी छिन् ।

पछिल्ला दिनमा उनको सेन्टरमा तालिम लिन आउनेहरूको सङ्ख्या बढ्दै छ । पूर्वकमलरीका लागि भनेर स्थापना गरिएको भए पनि बिस्तारै अन्य सीप सिक्न चाहने महिला पनि आउन थालेका छन् । उनीहरूलाई पनि तालिम दिने र आत्मनिर्भर बन्न प्रेरित गर्ने उनको लक्ष्य छ । सेन्टरमा मध्य र सुदूरपश्चिमका पूर्वकमलहरी तालिमका लागि आउने गरेका छन् ।

कोहलपुर ३ लोकनगरकी पूर्वकमलरी चमेली चौधरी कुनै बेला जमिनदारका घरमा रातदिन कडा परिश्रम गर्थिन् । उनले अरूका घरमा कमलरी भएर एक दशक बिताइन् । अनि चमेलीले कमलरी बस्न पठाउने आफ्नै परिवार र उनलाई काममा लगाउनेसँग विद्रोह गरिन् । त्यही विद्रोही स्वभावले उनी ब्युटिसियनकी गुरु हुन सफल भएकी छिन् । अहिले उनको कोहलपुर बसपार्कमा आफ्नै व्यवसाय छ । चमेलीले धेरैलाई ब्युटिपार्लरको तालिम दिइसकेकी छिन् । आफूजस्तै दुःख पाएका महिलालाई तालिम दिएर आत्मनिर्भर बनाउ“दै आएको उनले बताइन् ।

‘यो काममा धेरै लगानी लाग्छ, तिमीजस्तो कमलरीले सक्दैनौ भन्थे । तर, मेरो इच्छा यसैमा थियो र आँटेकी हुँ,’ चमेलीले आफू सफल हुनुको कारण बताउँदै भनिन्, ‘६ महिना तालिम पाएपछि मुक्त कमैया कार्यक्रमबाट ५० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरो । अहिले सफल भएकी छु ।’ अहिले उनको व्यवसाय तीन लाख हाराहारीको भएको छ ।

कोहलपुर– ३ की पूर्वकमलरी वसन्ती चौधरी सिलाइकटाइ प्रशिक्षक भएकी छिन् । उनले महिलालाई सिलाइकटाइ तालिम केन्द्र सञ्चालन गरेकी छिन् । उनले घरमै कपडा सिलाएर पनि आम्दानी गरिरहेकी छिन् ।

दिलकुमारी, चमेली र वसन्तीजस्ता जाँगरिला पूर्वकमलरीहरू विभिन्न व्यवसायमा सक्रिय छन् । उनीहरू स्वतन्त्रतापूर्वक व्यापार–व्यवसाय चलाउँदै आफैँ मालिक भएका छन् । कठोर श्रम गरेको अनुभव भएका पूर्वकमलरीहरू यतिखेर आर्थिक रूपमा सहज जीवनयापन गरिरहेका छन् । कमैया मुक्तिपछिका १४ वर्षयता उनीहरूमा धेरै परिवर्तन आएको छ । उनीहरूले समाज पनि बुझ्दै गए र समाजले पनि उनीहरूलाई बुझ्दै गएको छ ।

‘अरूको घरमा काम गर्न बस्दा कमलरी भन्थे । हेपेर बोल्थे । मुक्त भएपछि मुक्त कमलरी भइयो । अहिले घरेलु तथा साना उद्योग सञ्चालन गरेका महिलाको छाता संस्थाको सदस्य भएकी छु,’ दिलकुमारीले विगत र वर्तमानको तुलना गरेर भनिन्, ‘काम गर्दै जा“दा पहिचान पनि बन्दोरहेछ । ट्रेनिङ सेन्टर खोलेर पूर्वकमलरीहरूलाई सीप सिकाउन पाउँदा खुसी लागेको छ ।’

आफ्नै उद्यम सञ्चालन गर्दै आएका पूर्वकमलरीले आफूजस्तै दुःख पाएका महिलालाई रोजगारी र सीप सिकाउने गरेका छन् । जसले अन्य पूर्वकमलरीलाई पनि आत्मनिर्भर बन्न सहयोग पुगेको छ । तिनैमध्ये एक हुन् वसन्ती । ‘सिलाइकटाइ तालिम दिएर मासिक १० हजार सजिलै गरी कमाउँदै छु । घरमा कपडा सिलाएर पनि आम्दानी गरेकी छु । त्योभन्दा खुसीको कुरा आफूजस्तै कमलरीलाई तालिम दिएर स्वरोजगार बनाउने गरेकी छु,’ वसन्ती भन्छिन्, ‘एउटा समूहमा २५ महिला राखेर तालिम दिन्छु । तालिम सकिएपछि धेरैले आफैँले गाउ“मा सिलाइकटाइ गरी आम्दानी गरिरहेका छन् ।’

कमलरी बस्दा आफ्ना इच्छा दबाएर बस्नुपरेको थियो । मुक्तिपछिका दिनमा पूर्वकमलरीहरूले आफ्नो रोजाइको पेसा गर्न पाएका छन् । अरूको घरमा काम गर्दा दासजस्तै जीवन बिताउनुपरेको थियो । तर, अब उनीहरूका अनुहारमा खुसी देखिन थालेको छ । सङ्घर्षले नै स्वाभिमानी जीवन जिउन सम्भव हुन थालेको छ ।

‘पहिले मालिकको घरमा काम गर्न जानुपथ्र्यो । उनीहरूकै इसारामा काम गर्नुपथ्र्यो । सीप सिक्न पाइँदैनथ्यो । ढिलै भए पनि हामी सीप सिकेर आफँै उद्यमी हुन सकेका छौ“,’ चमेली भन्छिन्, ‘आफूले इच्छाएको सीप सिकेर व्यवसाय गर्ने हो भने छिटै सफलता पाउन सकिने रहेछ ।’

सरकारले मुक्ति घोषणा गरेपछि जिल्ला भूमिसुधार कार्यालय र गैरसरकारी सङ्घसंस्थालगायतकाले मुक्त कमैया र पूर्वकमलरीलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम दिइरहेका छन् । तर, कमलरी क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले आफूअनुकूल तालिम सञ्चालन गर्दा कतिपय समस्या पनि देखिन थालेको छ । कमलरीले इच्छा गरेको सीप दिए धेरैले रोजगारी पाउने उनीहरूको सुझाव छ । ‘सीप सिक्न खोज्ने पूर्वकमलरीको इच्छा एउटा हुन सक्छ । उनीहरूले मागेअनुसारको सीप नदिए सफल नहुन सक्छन्,’ पूर्वकमलरी चमेलीको सुझाव छ, ‘परामर्श नलिई स्वरोजगारका तालिम दिने गरिएकाले धेरै पूर्वकमलरी उद्यमी हुनसकेका छैनन् ।’

जिल्ला भूमिसुधार कार्यालय बाँकेले मुक्त कमलरीलाई स्वरोजगारका लागि सहयोग गर्दै आएको छ । वर्षेनी ५० भन्दा बढी मुक्त कमैया परिवार सीपमूलक तालिम गरेर आयआर्जनका काममा लागिरहेका छन् । सरकारले उनीहरूलाई २० हजारदेखि एक लाखसम्म सस्तो ब्याजदरमा साना व्यवसायका लागि सहयोग गरेको छ ।

रोजगारी दिन जिल्ला भूमिसुधार कार्यालयले ९५ मुक्त कमैया परिवारलाई विभिन्न सीपमूलक तालिम दिएको छ । सिलाइकटाइ, बेतबाँस, सिकर्मी, डकर्मी, सैलुन, नमुना तरकारी खेती, बंगुर र बाख्रापालन तालिम पाएका छन् ।

उद्यमी भएपछि पूर्वकमलरीहरूको परिचय फेरिँदै गएको छ । घरेलु काममा सीमित उनीहरू साना उद्यमी हुँदै विभिन्न सङ्घसंस्थाका पदाधिकारीसमेत बन्न थालेका छन् । पूर्वकमलरी दिलकुमारी हाल घरेलु तथा साना उद्योगअन्तर्गतको महिलाको छाता संस्थाको सदस्य बन्न सफल भएकी छन् ।

(सञ्चारिका फिचर सेवा)
(ठाकुरसिंह नेपालगन्जका पत्रकार हुन् ।)

प्रकाशित मिति :२०७२ भदौ २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मैले न मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोड़िए हाम्रा पाइलाहरू उचालेर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: