नारायण ढुंगाना
चितवन २८ भदौ । निलगिरी टोलका महिलाले मजिरा र मादलको तालमा मौलिक भाकामा यसरी तीजका गीत घन्काए ।
चौबीसकोठी जाँदा बाटैमा प्रभात
आफ्नो हो भनेर पस्नु बरीलै………
आफ्नै पोशाकमा सादा पोते र गहना विहिन महिला आज प्रभातको आँगनीमा जम्मा भए र छलछमी नाँचे । उनीहरू दरको नाममा एउटा समोसा र जेरीमा खुबै रमाए । विगतका वर्षहरूमा खर्च गरिने पैसा उनीहरूले खर्च गरेनन् । बरु आफ्नै सहकारीमा बचत गरे, अनि बचत गर्न गीतको माध्यमबाट यसरी आव्हान गरे
बेलाबेला शिपमुलक तालिम दिनु है
प्रभावमै बचत गरौं बरिलै …….
तीज वास्तवमै उपलव्धी मुलक हुनुपर्ने भन्ने उदाहरण चितवन भरतपुरका प्रभात महिला बचत तथा ऋण सहकारीका महिलाले दिएका छन् ।
तीज बचत कार्यक्रममा सहभागि भगवती पौडेल रामराम पौडेल लगायतले महिलाको तीज कार्यक्रमको प्रशंसा गरे भने संस्थाकी अध्यक्ष ईश्वरी शर्माले अझै महिलामा बचत गर्न उत्साह थपिन ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघकी सदस्य शान्ति अधिकारीले प्रभातबाटै धेरै सहकारीले नमूना काम सिकेर गएकोमा गर्व लागेको कुरा सदस्यहरूलाई साटिन ।
चितवनको भरतपुरमा महिलाले मात्रै सञ्चालन गरेको प्रभात महिला बचत तथा ऋण सहकारी संस्थाले भड्किलो तीज छाडेर बचतमा महिलालाई सहभागि गराएको यो तेस्रो वर्ष हो । जुन कामका कारण जिल्लामा उक्त सहकारी नमूना बन्दै गएको छ । २ वर्ष अघिसम्म भड्किलो तीज मनाउने र पार्टी प्यालेसमा गएर दरखाने महिलाको दैनिकी फेरियो ।
उनीहरूले खर्च गर्ने पैसा नियमित बचतमा राखे । संरक्षण तथा सहकारीका गीत गाउँने गरेर संस्कृति अनुसार तीज मनाउने गरेको शान्ति अधिकारीले बताइन । तीजमा हुने खर्च सबै बचत गरेर राख्ने र आगामी वर्षमा आउने समस्या टार्ने काममा महिला लागेको उहाँको भनाईछ ।
यसरी तीज बचत गरेको रकम मात्रै उक्त सहकारीमा गएको असार मसान्तसम्म ९ लाख १० हजार पुगेको व्यवस्थापक दिपा लामिछाने बताउँछिन् ।
नेपाली महिलाले मनाउने चाड तीज भड्किलो नबनाई संस्कृति संरक्षण गर्ने र बचतमा पनि टेवा पुग्ने उद्देश्यले तीज बचत कार्यक्रम ल्याएको सदस्य महेश्वरी थापा बताउँछिन् ।
यो वर्ष करिव ३ देखि ४ लाख रुपैयाँ तीज बचत हुने अनुमान सहकारीले गरेको छ । प्रभातले नयाँ चेलीलाई शेयर उपहार दिने नयाँ कार्यक्रम समेत चलाउँछ । यस्तै बाल बचत , बृद्धबृद्धा बचत ,युवा बचत कार्यक्रम समेत प्रभावतले गर्ने गरेको छ ।
अहिलेसम्म प्रभात सहकारीको कुल पुँजी ८ करोड ८७ लाख रुपैयाँ पुगिसकेको छ । कुल बचत ७ करोड र लगानी ७ करोड ४ लाख रुपैयाँ छ । यसमा २ हजार ४सय ३३ शेयर सदस्य छन् ।
प्रकाशित मिति २०७२ भदौ २८ गते सोमवार
Comment Here!