दंगाग्रस्त क्षेत्रमा महिला


त्रासकाबीच काम गर्न वाध्य

प्रकाशित मिति :2015-09-14 12:52:19

एकिन्द्र तिमिल्सिना

 1टिकापुर, भदौ २८ । ‘पहिले काठको खोका (घुम्ति) थियो । तरकारी किनेर राखेका थियौं । छोराछोरीका कपडा थिए । सबै जले । दुःख छ । गरेर खाने मान्छे घरै बसेर के गर्नु ?’ १६ दिनपछि टीकापुरमा तरकारी बेच्ने दैनिकीमा फर्किएकी पथरैया कैलालीकी आशा चौधरी भन्छिन्, सेनाले टहरा निर्माण गरिदिएपछि काम शुरु गर्न सजिलो भएको छ । भदौ ८ गते उत्तेजक हुलले जलाएका तरकारी पसल सेनाले बनाइदिएपछि आशाको जस्तै टीकापुरको कान्छिबजारमा १० वटा पसल सञ्चालनमा आएका छन् । सबै तरकारी पसलमा महिला नै छन् ।
भदौ २२ गते संवाददाता मुनुवा गाविसको कञ्चनपुर पुग्दा त्यहाँपनि महिलामात्र सम्पर्कमा आए । जहॉबाट चार जना पुरुष भदौ ७ गते  भएको टीकापुर घटनामा संलग्नको आरोपमा पक्राउ परेका छन् । कुरो बुझ्दै जॉदा त्यो गाउ‘बाट मानिसहरू र्‍यालीमा गएको दिन हिंसात्मक घटना भएकाले पक्राउ पर्ने डरले स्थानीय भलमन्सा र युवाहरू अहिले बाहिरका मानिसको सम्पर्कमा आउन छोडेका रहेछन् ।

कैलाली बन्दको एक महिनापछि खुलेको कैलालीको जोशीपुरस्थित आरएस सिलाई केन्द्रका प्रशिक्षार्थीले शुरुमा केही बोल्नै चाहेनन् । केहीबेरको सन्नाटापछि एक सहभागी एलिशाले भनिन् ‘आज स्कुल खुल्यो भनेर एकछिन सिलाउन थालेका हौं । केहीक्षणमै बन्द गरेर गैहाल्छौं ।’

6

टीकापुर नगरपालिकाको मौरनियामा महिलाको समूह माछा मार्दै थियो । फोटो खिच्न लाग्दा माछा मार्न छोडेर सबैजना  भागे ।
आन्दोलनकारीको आक्रमणबाट भदौ ७ गते कैलालीको टीकापुरमा वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ जना प्रहरी र एक बालकको ज्यान गएपछि कैलाली अझै सामान्य हुन सकेको छैन । त्यसको अर्कोदिन टीकापुर मै थारु समुदायका केही घरमा आगजनी गरेपछि  हिंसा भड्किने आशंकामा सरकारले टीकापुर नगरपालिका र आसपासका गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । बन्द र कफ्र्यु महिना दिन पुग्न लाग्दा त्रासकाबीच महिला काम गर्न वाध्य छन् ।

उसै पनि धेरैजसो दैनिक कामहरु गर्ने जिम्मा महिलाकै हुन्छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका कैलालीका दुर्गौली, नारायणपुर, धनसिंहपुर, थापापुर, जोशीपुर, मुनुवालगायतका गाविसमा अहिले धेरैजसो काम महिलाको जिम्मामा छ ।

महिलामाथि हिंसा र तनाव

भदौ २० गते टीकापुरबाट गएको टोलीका एक प्रहरीले सुनिता कठरियालाई कुटेका छन् । ‘भदौ २० गते दिउँसोतिर आएको प्रहरी टोलीले बडघरको घर सोधेका थिए, मैले देखाइदिएँ । म महिनावारी भएकी थिए‘ । लुगा रगतले भिजेको थियो । आन्दोलनमा गएर घाइते भएकी होस भनेर उनीहरूले मलाइ सोधे । मैले होइन भनेँ । मलाई रगत धेरै जाने समस्या पनि छ, म बसेको ठाउबाट उठ्नै सकिन । श्रीमानलाई बोलाऊ भने । मलाई फोन गर्न आउँदैन । मोवाइल हेर्नुहोस भनेँ ।  बन्दूकको कुन्दाले घोचिहाले ’ सुनिताले भनिन् । बडरघरको घरमा प्रहरी बेलाबेला आउन थालेपछि फेरि पिटाइ पाउने समस्याले घरमै बस्न नसकेर अन्यत्रै बसेको उनले बताइन् ।

नीताको घर स्थानीय बडघरको घरसँगै छ । प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले सुनिता कुटिएको भन्ने कुरा थाहा पाएर भेट्न खोजेको तर भेट नभएको बताए ।

धनसिंहपुर गाविस झुङ्गामा खान तलासी गर्ने क्रममा सादा पोशाकका प्रहरी घरभित्र पसेका छन् । ‘मान्छे घरभित्र हुलहुल पसे, को पसे को पसे भनेर डराएँ । घरभित्र कुनाकुना खोजेर निस्के । बाहिर निस्केर हेर्दा पोशाक लगाएका प्रहरी देखेपछि प्रहरी नै रहेछन् भन्ने लाग्यो’ झुङ्गाकी एक महिलाले भनिन् । पोशाकमै रहेको प्रहरीप्रति विश्वास लाग्छ तर सादा पोशाकमा प्रहरी घरभित्र पस्नाले अन्यबाट पनि डर बढेको स्थानीय हरिराम चौधरीले बताए । प्रहरी उपरीक्षक अधिकारी भन्छन् ‘घरभित्र पस्दा परिचय दिएर बर्दी लगाएकै प्रहरी जानुपर्छ, कहिँ कतै त्यस विपरित भएको भए सुधार्नुपर्ला ।’

पक्राउ परेका र प्रहरीको डरले भागेका युवाहरूको घरमा महिला र वालवालिकालाई तनाव छ । यो साता कैलालीका केही ठाउ‘मा मानव अधिकारकर्मीको टोली पुगेको छ । टोलीले भेटेका अधिकांश घरमा त्यसपछि प्रहरी पनि पुगेको छ । मानव अधिकारकर्मी जानु अघि र पछिको प्रहरी व्यवहार फरक भएको उनीहरूले बताएका छन् । ‘जे नहुनु भैगो, सत्य देखे छुट्लान, कुरा गर्न पनि गाह्रो छ । कोसँग बोल्ने कोसँग नबोल्ने ?’ मुनुवाकै एक महिलाले भनिन् ।

3थापापुर नवलपुरका सन्तकुमार चौधरीलाई  पक्राउ गर्न उनको घरमा पटकपटक प्रहरी पुग्ने गरेकाले साना छोरीहरू पनि त्रस्त छन् । बुधबार संवाददाता उनको घर पुग्दा उनकी ७ वर्षीया छोरी एलिशाले घरभित्र पस्नै मानिनन् ।  उनकी आमा जमुनादेवीले यी कुट्ने पिट्ने मानिस होइनन् भन्ने विश्वास दिलाएपछि मात्र एलिशा घरभित्र पसिन् । सन्तकुमार तत्कालिन नेकपा माओवादीका लडाकू थिए ।  ‘पहिले हामी माओवादी थियौं । निराश भएर यो जीवन शुरु गरेका हौं । एउटा मासु पसल छ । अर्को होटल छ । भैंसी पालेका छौं । हामीलाई फुर्सत नै छैन । कुनै जुलुशमा पनि गएका छैनौं । हामी त गरी खाने मान्छे, सुरक्षाकर्मीको सोधीखोजीले हैरान भैसक्यो । जमुनादेवीले भनिन् ‘हरेक दिन सुरक्षाकर्मी घरमा आउने खानतलासी लिने गरेका छन् । अब त बानी लागिसक्यो । प्रहरी आउने बित्तिकै चाबी बुझाएर बाहिर निस्कन्छु ।’ प्रहरीले हतियारको खोजीमा चौधरीको घरमा खान तलासी लिने गरेको बताएको छ ।

टीकापुरमा आन्दोलनकारीको गोली लागि २ वर्षे बालक मारिएको क्षेत्र वरपरका वालवालिका र अभिभावक पनि त्रासमा छन् । ‘सामान्य काम गरिखाने मानिसलाई यस्तो भयो, हाम्रो गल्ती त केही होइन तर पनि भोग्नु पर्दोरहेछ,’ एक जना अभिभावक दुर्गा कठायतले भनिन्,  ‘कति दिन अरुकै घरमा बस्नु भनेर हिजोबाट घरमै बस्न थालेका छौं, बालबच्चा स्याहार्ने बाख्रापाठालाई घॉस काटनै पर्‍यो ।’

भदौ ७ को टीकापुर घटनापछि संलग्नको आरोपमा मानिसहरू पक्राउ पर्ने र छुट्ने क्रम जारी छ । सुदूरपश्चिमका प्रहरी नायव महानिरीक्षक माधवप्रसाद नेपालका अनुसार शनिबारसम्म ३४ जना पक्राउ परेकामा १४ जना छुटेका छन् । २० जनामाथि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिहेको छ । मुनुवा कञ्चनपुरका सुन्दरलाल कठरिया पक्राउ परेकोमा छिमेकी पनि अचम्मित छन् । ‘शान्ति र्‍याली, शान्ति र्‍याली भने । किराना पसल चलाएर बसेका मान्छे गए । फसिहाले । छिमेकी सुन्दर त भगत हुन । कण्ठी बॉधेर हिडने, झडपमा घाइते पनि छन् रे । अघिअघि लागे होलान,’ सुन्दरका छिमेकी भन्छन्, ‘प्रहरीमाथि आक्रमण गर्न जाने भनेका भए भगत त जादैन्थे होलान । बाठाले सोझालाई फ‘साए ।’ गाउलेको नजरमा सोझा भएपनि प्रहरीले उनलाई चोट लागेको अवस्थामा पक्रेको छ । ‘चोट लागेका प्रदर्शनकारी अग्रभागमै लाग्नेहरु हुन्’ एक प्रहरी अधिकृत भन्छन्, ‘यी भन्दा अरु मुख्य दोषि अगाडि नआउन्जेल सम्म त यिनै दोषि हुन् ।’ सुन्दर की श्रीमती सीताले श्रीमान पक्राउ परेपछि घरधन्दा सबै सम्हाल्नु त छ नै, सुन्दरको मुद्दाको झमेला पनि थपिएको बताइन् ।

थापापुर–७ नवलपुरबाट पक्राउ परेका राजेश चौधरी पान पसले हुन् । उनलाई प्रहरीले भदौ १३ गते पक्रेको हो । कहिलेकाही मजदूरीका लागि इट्टा भट्टा जाने र सिजनमा आलु प्याजको बीऊ बेच्ने राजेश थरुहट आन्दोलनका लागि सहयोग उठाउने कमिटिका सदस्य भएका थिए । उनको परिवारको दावी अनुसार भदौ ७ को जुलुसमा उनी सहभागी थिएनन् । ‘मेरो ज्वॉइ बदमास थिएनन्, भगत हुन । पान पसल थियो । कहिलेकाही इट्टा पाथ्र्यो । कण्ठी पनि तोडिदिएका छन रे,’ राजेश पक्राउ परेपछि भजनीको कन्हैयापुरबाट नवलपुर पुगेकी राजेशकी सासु कैलाशपतिदेवी चौधरी भन्छिन् ‘कहिले छोड्ला अब आलु र प्याजको बीऊ बेच्ने बेला भयो । नत्र त उसका छोराछोरी भोकै मर्ने हुन् ।’

दंगाग्रस्तक्षेत्रका महिला तथा वालवालिकामा मनोसामाजिक असर परेको सुनेको छु । कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाँई भन्छन् ‘स्वास्थ्य जाँचका लागि शिविर चलाएका छौं । मनोसामाजिक उपचारका लागि सहयोगीको खोजी गर्नुपरेको छ ।’ नेपाली सेनाले जोशीपुरमा एक दिनको स्वास्थ्य शिविर चलाइ सकेको छ । ‘उपचारका लागि आएका छ सय ८४ मध्ये पॉच सय ४४ महिला र वालवालिका आएका छन्,’ उपचारमा संलग्न डाक्टर पुनम रावलले भनिन् ‘घटनापछि उपचार हुन नसकेका महिला धेरै आए । धेरैले पारिवारिक समस्या भएको बताएका छन् ।’

हिंसात्मक घटना, कफ्र्यु र दंगाग्रस्त क्षेत्र घोषणापछि प्रभावित गाउ‘का मानिसको दैनिकी सहज हुन सकेको छैन । बजार क्षेत्र एक महिनापछि खुल्न थालेको छन । जानकीनगर गाविस खर्गौलीका शिक्षिका चन्द्रवति चौधरी राजनीतिक मुद्दा किनारा लगाई गाउ‘ विकास समितिको समन्वयमा राजनीतिक दल, स्थानीय शान्ति समिति, वडा नागरिक मञ्चले समुदाय समुदायमा शान्ति र सद्भावको लागि छलफल चलाउनुपर्ने बताउँछिन् ।

प्रकाशित मिति :२०७२ भदौ २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: