महिला खबर
काठमाडौं, भदौ २८ । आम महिलाले आमाको नाममा सन्तानले सजिलै नागरिकता पाउनुपर्ने व्यवस्था संविधानमा गर्न माग गर्दागर्दै मागविपरीत संविधानको नागरिकता सम्बन्धि प्रावधान रहेको धारा ११ पारित भएको छ । पारित भएको नागरिकता सम्बन्धि व्यवस्थामा आमाले आफ्नो सन्तानलाई नागरिकता दिँदा बाबुको पहिचान खुलाउनैपर्ने व्यवस्था भएपनि बाबुले चाहिँ सन्तानको आमाको पहिचान खुलाउनु पर्दैन ।
पारित व्यवस्था अनुसार बाबुको पहिचान नभएको जस्तै, बलात्कारबाट जन्मेको बच्चाको नागरिकतामा बाबुको पहिचान नखुलेको लेखिने छ । यदि बाबु बेपत्ता भएको वा बाबुले नागरिकता दिन नचाहेको खण्डमा पनि बाबुको पहिचान नखुलेको लेखिने छ । आमाले आफ्नो सन्तानलाई नागरिकता दिँदा बाबुको प्रमाणपत्र पेश गर्नुपर्ने यस्तो व्यवस्थाप्रति अधिकारकर्मीहरूले घोर आपत्ती जनाउँदै आएका थिए ।
साथै यो व्यवस्था अनुसार स्वदेशी बाबु र विदेशी आमाबाट जन्मेको बच्चाले सजिलै वंशजको नागकिता पाउने तर विदेशी बाबु र स्वदेशी आमाबाट जन्मेको बच्चाले अंगीकृत नागरिकता पाउने छन् । जुन व्यवस्था विदेशी महिला र पुरुषलाई समान गर्नुपर्ने महिलाको माग रहिआएको थियो ।
नागरिकतालगायत महिला सहभागिताको विषय संविधानमा सुनिश्चित गर्न माग गर्दै महिला अधिकारकर्मीहरू विगत १२ दिनदेखि रिले अनशनमा छन् भने उनीहरूले यसअघिदेखि नै बिभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।
साथै महिलासम्बन्धि विभेदकारी व्यवस्थामा अन्तरपार्टी महिलासञ्जाल, सभासद महिला र अधिकारको क्षेत्रमा काम गर्दै आएका महिलाले ३२ बुँदे संशोधन प्रस्ताव प्रधानमन्त्री, राष्ट्रपतिलगायत दलका नेताहरूलाई भेटेर बुझाएका थिए ।
प्रकाशित मितिः २०७२ भदौ २८ गते सोमवार
Comment Here!