सुमित्रा के सी
रुकुम, भदौ २९। रुकुममा ५ हजार ७ सय ६५ बालबालिका प्राथमिक शिक्षाबाट वञ्चित रहेको पाईएको छ। राष्ट्रिय बालदिवस २०७२ को अवसर पारेर बाल कल्याण समिति रुकुमले आयोजना गरेको जिल्लामा बालबालिकाका समस्या र न्युनिकरणका उपाय विषयक अन्तरक्रियाकार्यक्रममा यस्ताे तथ्याङ्क सार्वजनिक गरिएको हो।
जिल्ला बाल कल्याण समितिले दिएको जानकारी अनुसार रुकुममा हाल ५७ प्रतिशत बालबालिकाले १९ वर्ष नपुगी विवाह गर्ने गरेको पाईएको छ। यस्तै ८ सय ३८ जना बालबालिका द्वन्द्व पीडित तथा संरक्षण विहिन छन भने २७ जना बालबालिकाले श्रमिकको रुपमा काम गरी रहेका छन्।
यस्तै ० दशमलव ८० प्रतिशत बालबालिका खोपविहिन छन्। ४१ जना बालबालिका ओसारपसारको क्रममा बाहिरिएका छन्। कार्यक्रममा बोल्दै रुकुमका जिल्ला न्यायधिश डण्डपाणी शर्माले अब बन्ने नयाँ सँविधानले बालबालिका सम्बन्धि छुट भएका अधिकारलाई समेटन विश्वास व्यक्त गर्नुभयो।
उँहाले बालबालिकाको क्षेत्रमा गरिने लगानीमा अझै जोड दिनु पर्ने धारणा राख्नुभयो। कार्यक्रमका अन्य सहभागीले बालबालिकाका समस्या सामाधान गर्न गाँउस्तरबाटै सचेतना जगाउनु आवश्यक रहेको बताए।
प्रकाशित मितिः २०७२ भदौ २९ गते मगंलवार
Comment Here!