धनी बाउ र गिट्टी कुट्ने आमाकी छोरीको नागरिकता लिने धोको ।


प्रकाशित मिति :2015-09-15 12:37:33

विजया श्रेष्ठ के.सी.

Captureमस्यौदा संविधान सार्वजनिक भएदेखि यसलाई अझै महिलामैत्री बनाउनु पर्ने कुरामा जोड दिँदै महिला मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, युवा तथा व्यक्तिहरुले संविधानमा महिला हक र समानताका लागि आवाज उठाउदै आइरहेका छन् ।  एक महिनादेखि यस विषयलाई अझै व्यापक रुपमा अघि बढाउन र राजनीतिक दल, संविधानसभा तथा सम्बन्धित निकायसम्म पुर्‍याउनका लागि हामीहरू सडकमा उत्रिएका हौ । विभिन्न खाले कार्यक्रमहरूबाट सडक तताइरहेको भएता पनि महिलामैत्री संविधान संसोधनका प्रस्तावना तथा प्रक्रियावाट महिला समानताका कुरालाई प्रमुख राजनीतिक दल तथा सभासदहरूले पन्छाईरहेका छन् तर हाम्रो आन्दोलन जारी छ । यसै सन्दर्भमा धेरै र सँधैै जस्तो आन्दोलनमा सरिक हुने एक युवतीले आफ्नो कथा यसरी सुनाइन् । उनकै  शव्दमा यो कथा यस्तो छ :-

सायद म त्यति वेला लगभग एघार वर्षकी थिएँ । त्यो दिन मेरो सानो मुटु ढुक ढुक वजिरहेको  मैले स्पष्ट सुनिरहेकी थिएँ । मेरा हात खुट्टा जिउ थर थर काँपीरहेका थिए ,मत हावा हुण्डरी आउने वेलाको आकाश जस्तै कालो नीलो भएकी थिएँ , विहानदेखि अन्नको एक गेडा मेरो घाटीमा छिर्न सकेको थिएन ,रातभर झिमिक्क आँखा लागेको थिएन । मैले कैले नदेखेको ,कैले नचिनेको दुईजना पुरुष मेरो भाग्य रेखा कोर्दै थिए र मेरो भविष्य वारे निर्णय गर्दै थिए , म कठघरामा राखिएकी निर्जिव पुतली जस्तै थिए ।

मेरो जीवनमा पहिलो पटक म मलाई हुर्काउने सानीमासँग जिल्ला प्रशासन कार्यालय काठमाडौं गएकी थिएँ । त्यहाँ एकै छिन उभिन पनि मलाई धौ धौ भैरहेको थियो । सानीमाको सारीको आँचललाई सुरक्षा कवच वनाएर म सानीमासँग चपक्क चिप्किएकी थिएँ । सानीमा वेला वेलामा – “नानु नडराउ, म छुनी ! ” भन्नुहुन्थ्यो । तर मैले आफूलाई सम्हाल्न सकिरहेकी थिइन । मेरा ओठ मुख सुकीरहेका थिएँ  । त्यत्तिकैमा सि.डि.ओ साहेव त्यही लवीवाट आउनु भो । म डराएको देखेर होला –“किन डराएकी नानी नडराउ” भनि मेरो पिठमा धाप दिनुभयो । म अलिकती ढुक्क भएँ । सायद वुवाको स्पर्श यस्तै होला भनि अनुभूति गरें ।

केहीवेरपछि तीन चार जना प्रहरीको साथमा मेरो बाबु भन्ने मान्छे आए । उनी व्यापारी ठूला मान्छे रे । कालो चस्मामा, मुठे जुङ्गा पालेका हट्टाकट्टा खाइलाग्दा देखिन्थे । मैले विस्तारै विस्तारै सानीमाको आँचल भित्रवाट नै डराई डराई हेरें । झट्ट हेर्दा टि.भी.मा देखिने डाँका जस्तै लाग्यो मेरो बाबु भन्ने मान्छे । उनले मलाइ देखे देखेनन् हेरे हेरेनन् थाहा छैन । मलाई झनै डर लाग्यो ।

मेरी सानीमा र अधिकारकर्मी आण्टीहरूको प्रयत्नले मेरो सर्जिवन गराईएको रहेछ । भित्र सि.डि.ओ. सावको कोठामा निकै वेर गलफत्ती हुँदै थियो, मैले वुझीनँ । त्यत्तिकैमा सि.डि.ओ. सावले मलाई भित्र वोलाइ नम्र भाषामा सोध्नु भो –“नानी उहाँ तिम्रो बुबा हुनु हुन्छ उहाँसँग गाडी,वंगला, थुप्रै सम्पत्ति छ , तिमीलाई राम्रो स्कूलमा पढाउनुहुन्छ । तिमी उहाँसँग जाउ है ? भनि सोध्नुभो । त्यहाँ म जान्न भनेर वेस्सरी रोएँ । चिन्दै नचिनेको देख्दै न देखेको मान्छेसँग वलजफ्ती पठाइ देलान भन्ने डरले सानीमासँग अझै टाँसिएर बसेँ । सि.डि.ओसाव दयालु रहेछन् –“भैगो नानी नरोउ तिमीलाई वलजफ्ती पठाउँदैनांै , सानीमासँग जाउ ल” भनि छुट्टी दिनु भो ,वल्ल अली ढुक्क भएँ । त्यो रात लडाई जितेको सिपाही जस्तै सानीमा आनन्दले निदाउँनु भो । तर, म भने त्यो ‘वाउ ’ भन्ने मान्छेको अनुुहार सम्झेर रातभरी डराइ रहे । निकै दिनसम्म म विचलित भएँ ।

विस्तारै ,विस्तारै म विरामी पर्न थालें । खाना खान मन नलाग्ने ,खाना नपच्ने वेला वेलामा वान्ता हुने, ज्वरो आउने हुन थाल्यो । स्कूलमा सर मीसले पढाएको पनि ध्यान जाँदैनथ्यो । कति फेर स्कूलमा वान्ता भो, वान्ता हुन्छ होला भन्ने डरले म स्कूल नजाने वहाना खोज्न थाल्थें । किताव खोल्दा रिङ्गटा लागे जस्तै हुन्थ्यो । के गरौं के गरौं जस्तो छटपटी हुन्थ्यो । मलाई मेरो जीन्दगी नै भारी लाग्न थालेको थियो । सानीमाले मलाई वैद्यदेखि डाक्टरसम्म झारफुकदेखी योगासम्म लानु भो । मलाई फाइदा भएन । म त्यो वर्ष परीक्षामा फेल नै भए । त्यो वेला मलाई क्रोनिक डिप्रेसन भएको रहेछ भन्ने  एैलेमात्रै थाहा पाएँ ।

 म अस्पतालको वेडमा निदाईरहेकी थिएँ  । मेरो मुहारमा परेको दुई चार थोपा आँसुले मेरो निद्रा खुल्यो । आमा मेरो सिरानीसँगै वसेर मेरो कपाल मुसार्दै हुनुहुँदो रहेछ । झट्ट मैले उहाँलाई चिन्न सकिनँ । हल्का लिपिष्टिक,गाजलु आँखा, मिलेका आँखी भौं, सफा चिटिक्क परेको लुगामा मेरी आमा मलाई विश्व सुन्दरी भन्दा राम्री लाग्यो । जुरुक्क उठेर म्वाई खान मन लाग्यो । त्यो भन्दा पहिले मेरी आमाले मलाइ अंगाली सक्नुभएको थियो । त्यो रात मेरी आमाको काखमा सुत्दा म कति आनन्द र ढुक्क भै सुतें ।

म आमाको गर्भमा दुइ महिनाकी हुँदा परम्परा अनुसार मागी विहे गरेकी मेरी आमा हिँउदको मध्य रातमा घरवाट तिनै “वाउ” भन्ने मान्छेवाट धकेलिनु परेको थियो । एकसरो कपडा, गर्भिणी अवस्था छिन छिनमा वाकवाकी वान्ता हुने, टाउँको फुट्ला जस्तै दुख्ने, ज्वरो आउने मेरी एक्ली आमालाई घरबाट निकालिएपछि  आफ्नो कोही नभएको ठाँउमा कस्तो भयो होला ? नराम्री र त्यो “वाउ” भनेको मान्छेलाई यौन तृष्णा मेटाउन नसकेको भनेर फालिँदा मेरी आमाले कसरी सहिन् होला ? म कल्पना गर्नपनि सक्दिनँ । आत्महत्याको प्रयास गर्दापनि नमरेकी मेरी आमाले कसरी मलाई जन्माइन्, पालिन् म सोच्नै सक्दिनँ । घरबाट निकालिएपछि सडकको गिट्टीसँग मेरी आमाले मितेरी लगाइन् । गिट्टी कुट्दै मलाई जन्म दिइन्, आमाको गिट्टी फुटाउने ठाउँ नै मेरो स्वर्ग भो, गिट्टीमा नै मैले पहिलो पाइला टेकें, निर्जिव गिट्टीमा नै मैले जिवन पाएँ । हात खुट्टा चलेदेखि मैले आमालाई गिट्टी फुटाउन सघाएँ ।

मेरो मामा माइजुहरूको आफ्नै पैत्रिक घरवार सम्पति थियो । तर मेरी आमाले त्यहाँ आश्रय खोजिनन् ।  कारण अंश र वंश छोराले मात्र पाउने, बेइज्जत हुन किन जाने भनि कसैसँग केही मागिनन् । मेरो “वाउ” भन्नेसँग त झन धेरै सम्पति थियो रे । मेरी आमा उनकी कान्छी श्रीमतीसँग पनि गिडगिडाउन गइनन् ।

तर मेरी आमाको दिन फर्कियो । एक दम्पतिले मेरी आमालाई काममा लगाइदिन विदेश लाने प्रस्ताव राखे । स्वाभिमानी मेरी आमाले यिनै सानीमाको पोल्टामा मलाई छाडेर विदेश गइन् । घरमा सानीमाले आफ्नो छोराछोरीको पेट कटाएर मलाई पाल्नु भो, हुर्काउनु भो, पढाउनु भो । त्यो वेला म  पाँच वर्षकी थिएँ ।

स्कूलमा म पढ्न अव्वल थिएँ, फिस तिर्नु पर्दैनथ्यो । सवै साथीहरू मसँग झ्याम्मिन खोज्थे । तर, सँधै उनीहरूसँग म तर्की तर्की टाढा भाग्थें । म कहिल्यै साथीहरूसँग खेल्न गइन । साथीहरू आफ्नो जन्मदिन मनाउँथे, अभिभावक दिवसको दिन आमा बुबासँग रमाउँथे ,तर म सँधै स्कूलको ट्वाइलेटमा गएर रुन्थें । छुट्टीमा साथीहरू घुम्न , सिनेमा हेर्न, मेला हेर्न जान्थे म चाहीँ सानीमाको सानो चिया पसलमा ग्राहकले चिया खाएको जुठो कप माझ्नुपथ्र्यो, सानीमालाई सघाउँथे । आमाको धमिलो मायालु अनुहारको याद गर्दै छिमेकीको घरमा कैले कैले आउने फोनको प्रतिक्षमा दिन गन्दै वस्थें ।

मेरी आमाले आज मलाई डाक्टर पढाउँदै छन् । अब एकवर्ष पछि म एम.वि.वि.एस. पुरा गर्छु । पढाईमा म अझै अव्वल छु । अहिले म साथीहरूसँग डराई डराई भाग्दिनँ । बरु बुझेको कुरा सवैलाई सिकाउने र सिक्ने प्रयत्न गर्छु ।

मसँग अझै नागरिकता छैन । हाम्रो देशमा भै रहेको नागरिकता वा पहिचानको आन्दोलनमा म पनि “र” होइन “वा” को पक्षमा लडीरहेकी छु । पारित भएको नागरिकता सम्बन्धि धारामा जालझेलको भाषा  देख्दैछु । तर, म सर्तक छु अव कसैले मेरो र मेरी आमाको हक खोस्ने छैनन् । म त्यो दिनको पर्खाइमा छु जुन दिन नराम्री भनी फ्यालिएकी मेरी विश्व सुन्दरी जस्तै आमालाई अघि अघी लगाई त्यही सि.डि.ओ कार्यालयमा म आमाको नामवाट नागरिकता लिन सगौरव जानेछु ।

प्रकाशित मितिः २०७२ भदौ २९ गते मगंलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: