स्कुलमै किन हराउँछन् छोरीहरू ?


प्रकाशित मिति :2015-09-15 13:35:12

कक्षा एकमा भर्ना भएर दशसम्म पुग्दा ९७ प्रतिशत छात्रा शिक्षाको पहुँचबाट किन बाहिरिएका हुन् ? यत्रो ठूलो प्रतिशत कहाँ हरायो ? सरकार र समाजले खोजबिन गर्नुपर्दैन ?
सरिता अर्याल

sarita aryal‘एउटा घरमा आमा शिक्षित भइन् भने पुरै घरलाई शिक्षित बनाउनेछिन्, सानैदेखि यस्तो भनाइ सुन्दै आएकी हुँ । यसमा सत्यता पनि छ । शिक्षित आमाले आफ्ना सन्तानको पढाइको लागि समूचित परिवेश तयार पारेकै हुन्छिन् । आमा नै सन्तानको पहिलो शिक्षक भएकाले उनले आफ्ना सन्तानलाई सभ्यता र संस्कार सिकाउँछिन् । यसको परिणाम उनको सन्तान एक सुयोग्य नागरिक भएर निस्कन्छ ।

व्यवहारमा यो भनाइ र भोगाइमा कत्ति अन्तर हुन्छ भन्ने कुरा हाम्रो अगाडि छ ।  महिलालाई शिक्षित बनाउनुपर्दछ भनेर सरोकारवाला सबै लागि परेका पनि देखिन्छन् । तर, नतिजा सन्तोष गरिहाल्ने खालको देखिँदैन । अनौपचारिक शिक्षा केन्द्रले दिएको जानकारी अनुसार ७५.१ प्रतिशत पुरुष साक्षर भएको मुलुकमा, नेपाली महिलाको साक्षरता ५७.७ प्रतिशत मात्र छ । दक्षिण एशियाली सार्क मुलुकहरूमा श्रीलंका ९० प्रतिशत भन्दा माथि, भारत ६५.४६ प्रतिशत, मालदिभ्स ९० प्रतिशत भन्दा बढि महिला साक्षरता दर छ । नेपालमा भने ४३ प्रतिशत महिला निरक्षर हुनु दुःखद कुरा हो ।

शिक्षा सवैका लागि नैसर्गिक अधिकार हो । शिक्षा प्राप्ती र पहुँचमा कुनै प्रकारको बन्देज हुनुहँुदैन । सन् १९९० मा थाइल्याण्डको जोमटेनमा सम्पन्न भएको सवैका लागि शिक्षा सम्मेलन तथा यसले जारी गरेको घोषणामा निरक्षर घटाउने कार्य गर्न विभिन्न देशलाई आग्रह गरेको थियो । नेपाल सरकारले पनि यसमा प्रतिवद्धता जनाइ २०१५ सम्ममा सवैका लागि शिक्षा कार्यक्रम नै लागु गराएको छ । यस वाहेक पनि सरकारले ऐन कानुनमा पनि शिक्षाको अधिकार सुनिश्चित गर्ने प्रशस्त ठाउँ राखेको छ जस अनुसार विभिन्न योजना र लक्षित कार्यक्रम पनि हँुदै आइरहेका नै छन् । सरकारी तर्फवाट यत्ति भएर पनि हाम्रो शिक्षा प्रणाली लैङ्गिक दृष्टिले समावेशी बन्न सकेको छैन । निती र कार्यक्रम भएर पनि कार्यान्वयनमा प्रभावकारिताको कमी देखिन्छ । त्यसैले समाजमा वास्तविक प्रतिफल देखाउन सकिएको छैन । निती नियममा त महिला पुरुषविच समान अवसर, समान अधिकार, समान जिम्मेवारी, समान स्तर, समान पहुँच, समान सहभागिता, निर्णय प्रकृयामा समान मत भनेर लैिङ्गक समानताको किटान नै गरिएको छ । यी सबै कुरा जान्न शिक्षित हुन पर्दछ तर त्यहाँ नै महिला र पुरुष असमान स्थितिमा उभिएका छन्, आखिर किन ? कहाँ चुकेका छौं हामी ?

साक्षरतामा पछाडि परेका महिलालाई शिक्षित कसरी बनाउन सकिन्छ भन्नका लागि विद्यालय शिक्षामा छात्राको सहभागिता बढाउन जरुरी छ । पहिलेको तुलनामा छात्राको संख्या अवश्य नै बढेको छ । तर, पनि प्रतिशतमा हेर्दा त्यहाँ पनि छात्रा पछाडि नै देखिन्छन् । विद्यालय शिक्षामामात्र हेर्दा प्राथमिक कक्षामा भर्ना भएका छात्राको प्रतिशत माध्यमिक तहसम्म पुग्दा न्यून हुँदै गएको छ । गतवर्षको एसएलसीको रिजल्टलाई हेर्दा पनि परिक्षा उतिर्ण हुनेको प्रतिशत ४८ छ भने दशवर्ष पहिले कक्षा एकमा भर्ना भएका बच्चा र एसएलसीको प्रतिशत हेर्दा त ११ प्रतिशतले मात्र परिक्षा उतिर्ण गरेका छन् । त्यसमा पनि छात्रा त ३ प्रतिशत मात्र उतिर्ण देखिन्छन् । छात्राको विद्यालय छोडने दर छात्रको तुलनामा किन बढि हुन्छ ? कक्षा एकमा भर्ना भएर दशसम्म पुग्दा ९७ प्रतिशत छात्रा शिक्षाको पहुँचबाट किन बाहिरिएका हुन् ? यत्रो ठूलो प्रतिशत कहाँ हरायो ? यीनीहरूबाट परिवार, समाज र राज्यले के आशा गर्ने ? यति ठूलो अशिक्षित युवावाट नेपालको कस्तो विकास होला त ?

व्यक्ति र देशको विकास गर्नुछ भने, व्यक्तिमा भएका समग्र सक्षमता विकास गर्नुछ भने, आय वृद्धि गर्नु छ भने अवसरको खोजी गर्दै समाजमा रहेका विकृत व्यवहार र सोचमा परिवर्तन गरी समाज विकास गर्नुछ भने छोरा छोरी दुवैले शिक्षामा समान अवसर पाउनु पर्ने  हो । तर, किन विद्यालय शिक्षाकै पहुँच बाट टाढा हुँदै जान्छन् छात्रा ?

छात्राले विचैमा विद्यालय छोड्नुको प्रमुख कारण हो अभिभावकमा चेतनाको कमी । जबसम्म समाजमा रहेको लैिङ्गक असन्तुलन प्रति अभिभावक सचेत हुँदैनन् । तवसम्म सामाजिक तथा साँस्कृतिक अवरोधहरू निर्मुल पार्न सकिँदैन । अनि छोरालाई विद्यालय पठाइन्छ छोरीलाई विवाह गरेर डाँडा कटाइन्छ । जवसम्म अभिभावकमा चेतनाको कमी रहन्छ तवसम्म ति अभिभावकले सामाजिक समस्यालाई लैङ्गिक पक्षबाट सम्बोधन गर्न सक्दैनन् । अभिभावक सचेत नहुने हो भने सरकारले जतिसुकै कानुन, ऐन, नियमावली तथा नीति बनाए तापनि सरकारी प्रयास अपर्याप्त, निरर्थक भएको बुझिन्छ । यसले विकृतरुपी सामाजिक संञ्जाललाई तोड्नै सक्दैन र व्यवहारजन्य परिवर्तन ल्याउनै सकिँदैन ।

छात्रा विद्यालय त आउँछन् तर, कतिपय विद्यालयको भौतिक पुर्वाधार छात्रामैत्री हुनै सकेका छैनन् । विद्यालयमा छात्रालाई छुट्टै शौचालयको व्यवस्था हुँदैन । पानीको व्यवस्था हुँदैन । कक्षा भित्र पनि उनीहरूले असजिलो महशुस गर्ने अवस्था सृजना हुन्छ । पाठ्यपुस्तकको अभाव, शिक्षण प्रविधि, विद्यालय सुशासन जस्ता पक्षहरूले पनि छात्राहरुलाई विद्यालयबाट टाढा हुन मद्दत गरिरहेका हुन्छन् ।

अर्को तर्फ बढदो लैङ्गिक हिंसा, मनोसामाजिक त्रास, पारम्परिक सोच तथा व्यवहार, कार्य वातावरण, विद्यालयमा हुने यौनजन्य व्यवहार, तथा विभिन्न कारणबाट हुने घरेलु यातना आदिका कारण पनि छात्राले विचैमा विद्यालय शिक्षा छोडिरहेका भेटिन्छन् ।

समाजमा अहिलेसम्म पनि किशोर किशोरीहरूसँग अभिभावक, शिक्षकबीच राम्रो संवाद हुन सकेको छैन । पहिलो पुस्ताले दोस्रो पुस्ताका सित परामर्श तथा सल्लाह प्रदान गर्ने परिपाटी छैन । जसको कारणले किशोर किशोरीहरू यौनजन्य क्रियाकलापमा सरिक हुने, गर्भधारण हुने, गर्भपतन गर्ने र वाल विवाह गर्न पुग्ने जस्ता कार्यहरू गर्न पुग्दछन् ।

छात्राले विद्यालय विचैमा छोड्नु पर्ने माथि उल्लेख गरिएका कारणहरूमा गहिरिएर विश्लेषण गर्नु जरुरी देखिन्छ । एउटी बालिकालाई विद्यालयमा नियमित पठाउन सकियो भने मात्र उ भोलीकी शिक्षित महिला, शिक्षित आमा र शिक्षित सुयोग्य नागरिक बन्न पुग्दछिन् । त्यसका लागि सरकार, अभिभावक, विद्यालय, समाज तथा सरोकारवाला सवै पक्षले आजै बाट सोच्न जरुरी छ नत्र भोलीको नेपाल अन्धकारमय नहोला भन्न सकिन्न !

प्रकाशित मिति :२०७२ भदौ २९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: