विवाह नगर्ने अधिकार


प्रकाशित मिति :2015-09-17 11:08:44

विवाह गर्ने या नगर्ने महिलाको अधिकारको विषय हो । पारिवारिक र आफ्नै मान्यताका कारण कतिपय महिला एक्लै बसेका हुन्छन् । उनीहरूमाथि समाज, परिवार र आफन्तले गर्ने अनावश्यक टिप्पणी पनि हिंसा हो ।
निलिफा सुब्बा

nilifa
विमला श्रेष्ठ इनरुवामा बस्छिन्, ५० वर्षकी भइन् । भाइबहिनी हुर्काउने जिम्मेवारीका कारण समयमै विवाह गर्न पाइनन् । उमेर गएपछि के विवाह गर्नु, एक्लै पनि त बाँच्न सकिन्छ भनेर बिहे नगरी बसेकी छिन् । अहिले उनलाई आफैँले हुर्काएका तिनै भाइबहिनीले नानाथरी टिप्पणी गर्न थालेका छन् । विमला भन्छिन्, ‘आफन्त नै पराइ भएपछि कसलाई के भनु र ? आफ्नो घरपरिवारभित्रको कुरा जोसुकै मान्छेसँग भन्न पनि सक्दिनँ । सबै दुःख सहेर बसेकी छु ।’

धरानकी ४० वर्षीया राधा पोखरेलको व्यथा पनि विमलाको जस्तै छ । उनी आफ्नै दाजु–भाउजूबाट अपहेलित छिन् । कारण हो अविवाहित बस्नु । विवाह नगरी बस्दा उनले पाएको दुःख साँच्चिकै कष्टपूर्ण छ । राधा भन्छिन्, ‘बाबु मरेपछि दाजु–भाउजूसँगै बस्दै आएँ । शारीरिक रूपमा बलियो भएर काम गर्न सक्ने हुँदासम्म सबैले राम्रो गर्थे, अब केही अशक्त हुन थालेपछि आफ्नो घरबाट नै दुव्र्यवहारको सिकार भइरहेकी छु ।’

भाउजूले कुटेर घरबाट निकालिन् । पीडा सम्झँदै उनी भन्छिन्, ‘बल छँदा बिहे नगरी बसेकोमा खुसी भए । काम खाए । अहिले बुढेसकाल लागेपछि गाँस न बास भएकी छु ।’ उनलाई बूढीकन्या, कतै नबिकेकी, अलच्छिनी भनेर घरकाले गाली गर्दा वरपरका मान्छेले समेत सही थप्छन् । राधा भन्छिन्, ‘सबैभन्दा दुःख लाग्ने कुरा नै यही हो ।’

विवाह नगरी आधा उमेर कटाएकी मनमाया राई पनि आफ्नो घरपरिवारमा हुने दुव्र्यवहार सहन नसकेर भोजपुरबाट धरान आएकी छिन् । मनमाया भन्छिन्, ‘पहिला बलियो थिएँ । जे पनि काम गर्न सक्थेँ । अहिले काम गर्न नसक्ने भएपछि भाइबुहारीले टोकस्न थाले । खान पनि दिएनन् । त्यही भएर घर छोडेँ ।’ उनी अहिले धरानको एउटा चियापसलमा काम गर्दै आफ्नो गुजारा गरिरहेकी छिन् ।

घरपरिवार र आफन्तबाट हुने शारीरिक, मानसिक, भावनात्मक हिंसा तथा दुव्र्यवहार घरेलु हिंसा हुन् । घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ अनुसार त्यस्तो व्यवहार गर्नेलाई कारबाही हुने व्यवस्था छ । तर, दोषीलाई कानुनबमोजिम कारबाही हुन सकेको छैन । त्यसैले त्यस्ता दोषीहरूको मनोबल बढ्दै गएको छ ।

सुनसरी जिल्लाकी पारालिगल अध्यक्ष शकुन्तला भण्डारीका अनुसार परनिर्भर महिला गाँसबासको समस्याले पनि कानुनी उपचारमा जाँदैनन् । घरेलु हिंसाविरुद्धको ऐनले घरभित्र हिंसा गर्नेलाई सजायको भागीदार बनाए पनि ग्रामीण तहसम्म प्रचारप्रसार नहुँदा यो कानुनबारे धेरैलाई थाहा पनि छैन ।

विवाह गर्ने या नगर्ने महिलाको अधिकारको विषय हो । कतिपय महिलाको परिवारमा आफूभन्दा ससाना भाइबहिनी हुर्काउँदा समय बित्छ । अझ कतिपय त विवाह नगरे पनि एक्लै बाँच्न सकिन्छ भनेर बसेका हुन्छन् । उनीहरूमाथि आफन्तहरूले छिछी र दूरदूर गर्नु हिंसा हो । कतिपयले दाजु–भाउजू, भाइबुहारी तथा आमाबाबुबाटै हिंसा भोगिरहेका छन् । तर पनि पीडितहरू यस्ता घटना बाहिर ल्याउन चाहँदैनन् । अधिवक्ता भण्डारी भन्छिन्, ‘कानुनी अज्ञानताका कारण धेरै महिलाले अहिले पनि घरेलु हिंसालाई आफ्नो र परिवारको इज्जत तथा प्रतिष्ठासँग जोड्ने गर्दछन् ।’

ऐनमा भएका व्यवस्था कार्यान्वयन नहुँदा पनि पीडितलाई न्यायका लागि घरबाहिर निकाल्न समस्या हुने गरेको छ । न्याय खोज्न जाँदा सुरक्षा तथा संरक्षणको ग्यारेन्टी नहुँदा पनि महिला उजुर गर्न डराउँछन् ।

त्यसमा पनि अविवाहित महिलाका समस्या झन् विशेष खालका छन् । उनीहरू हिंसामा परे पनि सकेसम्म सहेर बस्छन्, बाहिर खुलेर बोल्दैनन् । हत्तपत्त प्रहरीमा उजुरी गर्न पनि जाँदैनन् । त्यसैले उनीहरूका पीडा कहीँ पनि रेकर्ड हँुदैनन् । पारालिगल अध्यक्ष भण्डारीका अनुसार सहज र द्रुत कानुनी उपचारको अभावमा हिंसा भोग्दै आइरहेका धेरैजसो अविवाहित महिलाले समस्यालाई चुपचाप भोगिरहेका छन् । उनी भन्छिन्, ‘छोरालाई झैँ सजिलै छोरीलाई सम्पत्ति दिइँदैन । यसक्रममा कसैसँग बात लगाएर भए पनि बिहे गर्न बाध्य पार्ने चालबाजी र जालसाजी गर्ने आफन्त नै हुन्छन् ।’ यसबाट उनीहरू आफू बसिरहेको घरमै सबैभन्दा असुरक्षित हुँदा रहेछन् भन्ने देखिन्छ ।

महिला विवाहित भए मात्र हिंसाबाट मुक्त हुने र जीवनमा सफल हुने भन्ने होइन । महिलाका क्षेत्रमा काम गर्ने संस्था माइती नेपाल सुनसरीका कार्यक्रम संयोजक सुनिता कार्की ‘अविवाहित महिलाका लागि परामर्श निकै जरुरी रहेको’ ठान्छिन् । सही परामर्शले उनीहरूलाई ठीक निर्णय लिन सक्ने बनाउने उनको भनाइ छ ।

सुनिता भन्छिन्, ‘भाइ, बहिनी, घर–व्यवहार हेर्ने, बुबाआमालाई सघाउने काम गर्दागर्दै धेरैजसोको विवाह गर्ने उमेर बितिसकेको हुन्छ । उमेर पाको हुँदै गएपछि विवाह गर्न रुचि राख्दैनन् । समय बित्दै गएपछि उनीहरू आफूलाई एक्लो महसुस गर्छन् । यो कुरा समाज, परिवार कसैले बुझ्दैन,’ सुनिता भन्छिन्, ‘धेरै अविवाहित र एक्लै बसेको महिला मानसिक रूपमा विचलित, अनाथ आश्रममा बस्ने, आत्महत्या गर्न चाहने, डिप्रेसनको रोगी बन्ने, कोहीसँग नमिल्ने समाजसँग टाढिँदै जानेजस्ता समस्यामा हुन्छन् ।’
(सञ्चारिका फिचर सेवा)
(निलिफा सुनसरीकी पत्रकार हुन् ।)

प्रकाशित मिति: २०७२ भदौ ३१ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: