महिला खबर
डोटी ३१ भदौ । अहिलेका किशोरकिशोरीहरू घरपरिवारको दबाब तथा आफै पनि १५/१६ वर्षकै उमेरमा विवाह गर्ने प्रवृत्ति गाउँघरमा बल्झिदैँछ । त्यही बालविवाहलाई रोक्न डोटीका किशोरीहरू अग्रसर भएका छन् । ‘बिहेवारी बिस वर्ष पारी’ भन्ने योजना नारामा मात्र सिमित भएपछि उनीहरू आफै अग्रसर भएका हुन् ।
डोटी बाँझकाकनीकी १७ बर्षीया कल्पना नेपालीले गाउँमा हुने बालविवाह रोक्न अभियानमा लागेकी छन् । सानैमा विवाह हुनबाट जोगिएकी उनले भनिन् ‘पहिले मेरो विवाह रोकेँ, अहिले अरुको बालविवाह रोक्ने अभियानमा लागेकी छु ।
डोटी बाँझकाकनीकै खिमा धामीको गएको वैशाखमा विवाह गर्न घरमा ठिक्क गरिएको थियो । खिमाले आफ्नो उमेर नभएको भन्दै विवाह गर्न मानिनन् । घर परिवारसँग संर्घष गरेर विवाह रोकेकी खिमा भन्छिन् ‘मैले विवाह गर्न मानिनँ । त्यसकारण मेरो दाजु रिसाएर अहिलेसम्म बोल्नु हुन्न । उमेर नहुँदै बालविवाह गर्दा भोग्नुपर्ने समस्याका विषयमा जानकार थिएँ । त्यसैले बालविवाह रोक्न लागेकी हुँ ।’
बालविवाह रोक्न किशोरीहरू मात्रै होईन किशोर पनि उत्तिकै लागेका छन् । महादेवस्थाका १८ वर्षीय कृष्णराज अवस्थीको परिचय नै गाउँमा विवाह रोक्ने भनेर चिन्ने गर्छन् । कृष्णराज भन्छन् ‘म गाउँमा जाने बित्तिकै विवाह रोक्ने आयो भन्छन, मैले गाउँमा तयारी रहेका विवाह रोकेको छु त्यसैले बालविवाह गर्नु हुन्न भन्ने पक्षमा लागेको छु ।’ सुदूरपश्चिममा व्याप्त रहेको बालविवाह घटाउनका लागि बिभिन्न प्रकारका अभियानहरू सञ्चालन छन् ।
डोटी जिल्लामा पश्चिम चौकी क्षेत्रका बाँझककानी, महादेबस्थान, कालिकास्थान, छपाली, गिरिचौका, लामिखाल र दहकालिकास्थान गाविसमा बालविवाह रोक्नका लागि अभियान सञ्चालन गरिएको सिड नेपालका अध्यक्ष शेरबहादुर मल्लले बताए ।
किशोरकिशोरीले त्यस क्षेत्रमा आठ ओटा बालविवाह रोकेको बाल अधिकारकर्मी बसन्ती भट्टले बताइन् । पहिलेको भन्दा बालविवाह घट्दो क्रममा रहेको भएपनि मोवाईल प्रयोगका कारण पनि वालविवाह बढेको वताउँछिन् । उनले भनिन् ‘पहिला घरपरिवारले विवाह गरिदिन्थे अहिले फोन, फेसबुकका कारण बालविवाह हुने गरेका छन् ।’
सानै उमेरमा आधुनिक प्रविधिको गलत प्रयोगले मन पराउने र भगाउने क्रम बढेकाे उनी बताउँछिन् । जसले गर्दा बालविवाह हुने गरेको छ ।
प्रकाशित मितः२०७२ भदौं ३१ गते बिहीवार
Comment Here!