भर्ना धेरै, उत्रिर्ण थोरै


प्रकाशित मिति :2015-09-18 09:48:30

दैलेखमा एसएलसी फेल हुने धेरै छात्रा विवाहित छन् । पारिवारिक बोझका कारण उनीहरू ध्यान दिएर पढ्न पाउँदैनन् । धेरै महिला उमेर नपुग्दै विवाह गर्छन् । एसएलसी परीक्षा केन्द्रमा बच्चा हेरालुको सङ्ख्या हेर्दा नै यो थाहा हुन्छ ।
 प्रकाश अधिकारी

????????????????????????????????????गत वर्षको एसएलसी परीक्षामा हिमालय उमावि डाँडामाडी केन्द्र दैलेखका ९५ परीक्षार्थीमध्ये २१ जना उत्तीर्ण भए । उत्तीर्ण छात्रासङ्ख्या आठ थियो । सदरमुकामस्थित सरस्वती मावि झुपे्रसाल केन्द्रका ३१ परीक्षार्थीमध्ये आठजना उत्तीर्ण भएका थिए । उत्तीर्ण आठमध्ये एकजना मात्रै छात्रा थिइन् । पश्चिम दैलेखको राकमकर्णालीस्थित जनज्योति उमावि केन्द्रका कुल ९० परीक्षार्थीमध्ये ३६ उत्तीर्ण भए, त्यहाँ उत्तीर्ण छात्राको सङ्ख्या जम्मा सात थियो । ग्रामीण भेगको डाँडीमाडी, राकमकर्णाली र सदरमुकामको झुपे्रसाल केन्द्रको नतिजा केलाउँदा प्रस्ट हुन्छ– कुल परीक्षार्थीमध्ये आधा सङ्ख्यामा रहेका छात्राको उत्तीर्णदर निकै दयनीय छ ।

सरकारले छात्रा शिक्षामा वर्षेनी करोडौँ रकम खर्चिन्छ । सरकारी तथा गैरसरकारी निकायले छात्रालाई स्कुल भर्नादेखि नै विभिन्न प्रोत्साहनमूलक अभियान सञ्चालन गर्दै आएका छन् । किन यति धेरै छात्रा एसएलसी परीक्षामा अनुत्तीर्ण भए भन्नेमा आ–आफ्ना तर्क छन् । शिक्षकहरू विद्यार्थी–अभिभावकलाई दोष दिन्छन्, विद्यार्थी अभिभावक–शिक्षकलाई । तर, छात्रा उत्तीर्ण दर न्यून हुनुमा घरदेखि विद्यालयसम्मका विभिन्न कारण जिम्मेवार छन् ।

सरस्वती उमावि झुपे्रसालका शिक्षक जीवराज तिमिल्सिना छात्रा कम उत्तीर्ण हुनुमा उनीहरूको कमजोर मानसिकतालाई मुख्य कारक ठान्छन् । ‘उसै त छात्राहरू कमजोर मानसिकताका हुन्छन् । त्यसमाथि एसएलसीलाई हाउगुजी बनाइन्छ,’ उनी भन्छन्, ‘पढाइ राम्रै भए पनि परीक्षा हलभित्र पस्दा सोचेको, जानेको कुरा लेख्न सक्दैनन् । अझ छात्रामा डराउने, आत्तिने समस्या बढी देखिन्छ । यसले पनि परीक्षामा असर गर्छ ।’

SLC Examबाबुआमाको छोरीलाई हेर्ने दृष्टिकोणले गर्दा पनि उनीहरूको पढाइ कमजोर हुन पुगेको उनको दाबी छ । उनी भन्छन्, ‘शिक्षित परिवारले नै छोरीलाई काममा र छोरालाई पढ्न लगाउने गर्छन् । अनि कसरी सुध्रिन्छ नतिजा ?’ तिमिल्सिनाको तर्कमा अरू शिक्षक पनि सहमत छन् । घरायसी तथा मेलापातको कामका बढी लगाउनु, अभिभावकले पढाइ अवस्थाबारे चासो नदिनु, उमेर नपुग्दै पे्रमको चक्करमा फस्नुजस्ता कारणले छात्राको पढाइ कमजोर भएको शिक्षकको भनाइ छ ।

छात्रामैत्री शौचालय नहुनु, भएका शौचालय पनि प्रयोगमा नल्याउनुले पनि छात्राको नियमित कक्षामा उपस्थिति घटेको छ । विशेषगरी निम्नमाध्यमिक तहदेखि नै महिनाका पाँच–सात दिन छात्रा गयल हुन्छन् । यो उनीहरूको रजस्वला हुने अवस्था हो । त्यस अवस्थामा शारीरिक रूपले कठिनाइ हुनु, छात्रामैत्री शौचालय नहुनु, महिनावारी भएको थाहा पाएमा केटाहरूले जिस्क्याउनेजस्ता समस्या भोगेका छात्रा स्कुल आउँदैनन् । यसले पढाइमा प्रत्यक्ष असर पु¥याएको हुन्छ । जिल्लाका अधिकांश स्कुलमा छात्रामैत्री शौचालय छैनन् । भएका शौचालयमा पनि पानीको समस्याले ताला लगाइएको हुन्छ । शिक्षकका अनुसार यही समस्याले गर्दा कतिले बीचमै पढाइ छाड्छन् । महिनावारीका बखत स्कुल नजाने समस्या जिल्लाको पश्चिमी भेगमा धेरै छ ।

पीपलकोटका शिक्षक नमराज जैशी एसएलसी मात्र नभई तल्लो तहका परीक्षामा पनि छात्राको अङ्क कम आउने गरेको बताउँछन् । ‘एसएलसीलाई फलामे ढोका भनिएकाले सबैको चासो हुने गर्दछ । तर, छात्राको पढाइ जगदेखि नै कमजोर छ । जग सुधार्न पहिला अभिभावकले तत्परता लिनुपर्छ,’ नमराज भन्छन्, ‘त्यसपछि विद्यालयको जिम्मा हाम्रो हुन्छ । विद्यालयले छात्र र छात्रा भनेर कुनै विभेद गर्दैन । कक्षामा कमजोर विद्यार्थीलाई ‘फोकस’ गरेर पढाउने शिक्षकको चाहना हुन्छ ।’

फेल हुने धेरै छात्रा विवाहित छन् । घरायसी तथा पारिवारिक बोझका कारण उनीहरूको पढाइमा ध्यान जान सकेको छैन । ‘कति धेरै महिला उमेर नपुग्दै विवाह गर्छन् भन्ने थाहा पाउन एसएलसी परीक्षा केन्द्रमा बच्चा हेरालुको सङ्ख्या हेर्दा नै थाहा हुन्छ,’ जनकल्याण मावि सेर्माकोटका शिक्षक पदम खड्का भन्छन्, ‘सानै उमेरमा विवाह हुने हँुदा उनीहरूको पढाइमा भन्दा घरबारमै ध्यान बढी हुन्छ ।’ गत वर्ष एसएलसी परीक्षा दिँदादिँदै सात्तलाकी एक छात्रा सुत्केरी भइन् । त्यस वर्ष दैलेखमा एसएलसी दिँदादिँदै सुत्केरी हुने छात्राको सङ्ख्या चार थियो ।

भैरीकालिकाथुम गाविस–६ की निर्मला शाही छात्राहरू कम पास हुनुमा घरायसी कामकाज मुख्य कारण रहेको बताउँछिन् । सदरमुकाम बसेर एसएलसी पूरकको तयारी गरिरहेकी उनी भन्छिन्, ‘बाबुआमाको नजरमा जबसम्म छोरी भनेका काम गर्ने, बिहे गरेर जाने जाति हुन् भन्ने सोच रहिरहन्छ तबसम्म हामी छात्राहरूले ढुक्कसँग पढ्न पाउँदैनौँ ।’ बाबुआमाले छोरा र छोरीलाई गर्ने विभेदका कारण आफूहरूले राम्रो शिक्षा पाउन नसकेको निर्मलाको अनुभव छ । शिक्षकको लापरबाहीले आफूहरूको पढाइ कमजोर भएको छात्राहरूको आरोप छ । वडाभैरव माविकी चन्द्रा बस्नेतका बुझाइमा शिक्षकहरूले कमजोर विद्यार्थीलाई बेवास्ता गर्ने भएकाले पनि छात्राको पढाइ खस्केको हो । चन्द्रा भन्छिन्, ‘हामीलाई घरमा पढ्न धेरै समय हँुदैन । स्कुलमा सरहरूले ‘ट्यालेन्ट’ विद्यार्थीको इसारामा खर्रर ‘कोर्स’ अघि बढाउँछन् । कमजोर विद्यार्थीमा ‘फोकस’ हुँदैनन् ।

अभिभावक अहिलेको जमानामा छोरा र छोरीमा खासै विभेद नरहेको बताउँछन् । ‘स्कुल, ट्युसन छोरीले पनि पढेकै हुन्छन् । फरक यत्ति हो कहिलेकाहीँ सिजनअनुसार छोरीले खेतीपातीको काम बढी गर्नुपर्ने बाध्यता हुन्छ,’ सेर्माकोटका अभिभावक रुद्र विष्ट भन्छन्, ‘अहिलेका स्कुले केटीहरूमा पे्रमको चक्करले बढ्ता समस्या ल्याएको छ । स्कुलमा शिक्षकले कडाइ गर्नुपर्छ ।’ शिक्षकले लापरबाही गर्ने विद्यार्थीलाई निगरानी गरेर उनीहरूको पढाइ सुधार्नतर्फ चासो दिनुपर्ने उनीजस्ता धेरै अभिभावकको भनाइ छ ।

उता, जिल्ला शिक्षा कार्यालय दैलेखको मूल्याङ्कनमा छात्रा उत्तीर्ण दर न्यून रहनुमा चारवटा कारण छन् । पहिलो, घरायसी कामकाजमा अधिकांश समय बिताउनुपर्ने बाध्यता, दोस्रो, महिनावारी, खेतीबालीको कामले नियमित विद्यालय आउन नसक्नु, तेस्रो, बाबुआमाले ट्युसन, कोचिङजस्ता कक्षामा छोरीलाई भन्दा छोरालाई पठाउनु र चौथो, पे्रमको चक्कर । यी कारणले छात्रा पढाइमा पछि पर्छन् । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक हेमकुमार ढकाल अभिभावकले छोरीको पढाइमा कहीँ–कतै सम्झौता नगर्ने हो भने नतिजामा सुधार आउने बताउँछन् । ढकाल भन्छन्, ‘महिनामा औसत १६–१७ दिन छात्राहरू स्कुल आउँछन् । त्यसमाथि स्वास्थ्य समस्या र घरायसी कामकाज बाधक बनेका छन् ।’ कार्यालयले कक्षामा छात्रा उपस्थिति दर बढाउन अनिवार्य छात्रामैत्री शौचालय बनाउन र बनाइएका शौचालय सदुपयोग गर्न सम्बन्धित स्रोतकेन्द्रमार्फत सबै स्कुलमा सर्कुलर पठाएको विद्यालय निरीक्षक ढकालको भनाइ छ ।
(सञ्चारिका फिचर सेवा)
(प्रकाश दैलेखका पत्रकार हुन् ।)     

प्रकाशित मिति: २०७२ असोज १ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: