कविता श्रेष्ठ
आफ्नो पौरखमा नाम, दाम र छुट्टै पहिचान बनाउन सफल पोखराका महिला व्यवसायीहरूको सफलताको कथा अन्य ठाँउका महिलाले पनि सिको गर्न लायक छ ।
पाेखरा, असाेज १ । १० वर्ष अघि चेरिस्मा ब्यूटीपार्लर सुरू गर्दा सीता बरालले आज यो प्रगति गरौँला भन्ने कहिल्यै सोचेकी थिईनन् । गण्डकी मिडियामा सञ्चारकर्मीको जागिर अनि ब्यूटीपार्लरको काम उनको जिन्दगी निकै रमाइलो थियो तर, उनको मनमा आनन्द थिएन । केही नयाँ गर्न चाहन्थिन् बराल । यही हिम्मतले ‘चेरिस्मा इम्पोरियम’लाई जन्म दियो । अहिले उनी पोखरेली व्यवसायीका लागि प्रेरणाकी स्रोत बनेकी छिन् ।
‘महिला भएपछि जिम्मेवारी बढ्नु स्वभाविकनै हो तर कहिले हरेस खानु हुँदैन’ उनी भन्छिन् । अहिले बरालले आफ्नो व्यवसायलाई फराकिलो बनाउदैं आफ्ना उत्पादन विदेशमा समेत निर्यात गर्छिन् ।
उनीले पोखरा उद्योग बाणिज्य संघको महिला विकास समितिमा निर्णायक तहमा रहेर पोखराका व्यवसायी महिलालाई व्यवसायमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । व्यवसाय गरेर आत्मसन्तुष्टि बढेको, आत्मनिर्णय गर्ने शक्ति र पहिचान मिलेको बराल बताउँछिन् । श्रीमान, घरपरिवारको साथ र समाजको हौसलाकैकारण व्यवसायमा अघि बढ्न सहयोग मिलेको उनीले बताईन् । ‘श्रीमानको कमाईमा त जो कोही पनि बाँच्छ, आफ्नो कमाईमा रमाउनुको मज्जा छुट्टै हुन्छ ’उनले थपिन् ।
मंधरा ढकाल
बिगत ३४ वर्षदेखि व्यवसायमा अग्रसर मंधरा ढकाल पोखराको पर्यटन क्षेत्रमा नौलो नाम होइन । सात तालको बगैंचा शहर लेखनाथमा जन्मिएकी उनले पोखराको लेकसाइडलाई कर्मथलो बनाई यही क्षेत्रमा होमिएकी छिन् । ४ छोरी र १ छोराकी आमा मंधरा मनमा इच्छा शक्ति भए महिलाले गर्न नसक्ने केहि नभएको बताउँछिन् ।’ नेपाललाई नेर ट्राभल’ र ‘धर्म इन’ होटलकी सञ्चालक ढकाल पर्यटन यातायात व्यवसायी समितिकी अध्यक्ष पनि हुन् । आफ्नो व्यवसाय मार्फत नौ जनालाई रोजगारीको अवसर पनि उनले प्रदान गरेकी छिन् । उनले भनिन् ‘गरे जे पनि सम्भब छ, महिलालाई घरपरिवारबाट साथ भए पुग्छ ।’
जबसम्म महिलाको आर्थिक क्षेत्रमा पहुँच हुँदैन तबसम्म महिला सशक्तिकरण असम्भव भएकोले महिलालाई आर्थिक पाटो तर्फ ल्याउनु पर्नेमा ढकालले जोड दिन्छिन् । आजका महिलाले मौनता तोड्नु पर्ने, हिंसा बिरुद्ध आवाज उठाउनु पर्ने उनको भनाईछ ।
उनी भन्छिन् ‘व्यवसायमा महिला अझ जिम्मेवार हुन्छन्, आर्थिक मामलामा इमान्दार हुन्छन् त्यसैले धेरै भन्दा धेरै महिलालाई यो क्षेत्रमा ल्याउन जरूरी छ ।’
लक्ष्मी गुरुङ
मिहेनत अनि मुस्कानको अर्को नाम हो, ‘लक्ष्मी गुरुङ ’ । बाल्यकालदेखि आत्मनिर्भरत बन्ने सोच लिएकी लक्ष्मीले ३ लाखको लगानीमा तीन
वटा मात्र कम्प्युटरबाट व्यवसाय सुरूवात गरेकी हुन् । बिगत २७ वर्षदेखि निरन्तर व्यवसायमा समर्पित न्युरोडमा रहेको प्रोफेसनल टे«डिंगकी सञ्चालक गुरुङले अहिले १३ जनालाई रोजगारी दिईरहेकी छिन् ।
महिला भएकैकारण कहिले कसो पैसा असुली गर्दा समस्या हुने र नपत्याउने अप्ठ्यारा भोग्नु परेको उनले सुनाईन ।
‘आमा भएपछि परिवारको पनि जिम्मेवारी हुन्छ, व्यवसायकाकारण पारिवारलाई समय निकाल्न गाह्रो हुन्छ,’उनले भन्छिन् । व्यापारलाई विस्तार गरी महिलालाई व्यवसायमा ल्याउने उनको सोच छ । २ सन्तानकी आमा गुरुङ श्रीमानको साथकैकारण यो क्षेत्रमा आउन सफल भएको बताउँछिन् ।
कमला गिरी
कमला गिरी पोखराको एक सफल व्यवसायी महिला हुन् । जलेवा वाग्लुङमा जन्मिएकी गिरी अहिले पोखराको मालेपाटनमा रहेको मेट्रो इन् टुर्स एंड ट्राभलकी’ सञ्चालक हुन । करिब १३ वर्षको मेडिकल क्षेत्रमा सेवापछि आफ्नो लगानी र स्रोतलाई सही ठाउँमा प्रयोग गर्नुपर्छ भन्ने सोचका साथ उनले व्यवसायमा हाम फालेकी हुन् ।
१ करोड ३० लाखको लगानीबाट सुरूवात गरेको व्यवसायमा गिरीले १० जनालाई रोजगारी दिएकी छिन् । उनले महिलालाई यो क्षेत्रमा आउन हौसला दिनुपर्ने आवश्यक देखेको बताईन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्क विकास हुने भएकाले यो क्षेत्रमा आफू सन्तुष्ट भएको गिरीले बताईन् ।
घरपरिवार र श्रीमानबाट पूरा सहयोग मिलेकोले कामगर्न सजिलो भएको उनले बताईन् । २ सन्तानकी आमा बनेकी गिरी अहिलेका महिलामा व्यापारिक अवधारणाको विकास भएमा व्यापारमा महिलाको पहुँच हुने बताउँछिन् । आफूसँग पर्याप्त सीप, ज्ञान र लगानी छ वा छैन बुझेर मात्र कुनै पनि व्यवसाय सुरूवात गर्न कमला सुझाव दिन्छन् ।
प्रकाशित मिति २०७२ असोज १ गते शुक्रवार
Comment Here!