ऋषिपञ्चमी, महिनावारी र महिला


प्रकाशित मिति :2015-09-18 11:56:31

loksari photo

लोग्शरी कुँवर

आज ऋषिपञ्चमी तिथी । ऋषिपञ्चमी पर्वलाई महिलाको स्वास्थ्य, शुद्धता र सौन्दर्यसँग जाेड्दैँ आएको पाईन्छ । रजस्वला हुन सुरू भएका महिलाले आजको दिन व्रत बसेर पूजापाठ गर्‍याे भने पापबाट मुक्ति पाइने जनविश्वास छ ।   महिनावारी भएको बेलामा महिलाले जानीनजानी अरूलाई छोएर गरेको ठूलो पापबाट छुटकारा पाउने एउटा मात्र कडीको रुपमा ऋषिपञ्चमीको व्रतलाई लिइन्छ ।

ऋषिपञ्चमी व्रतको पुजा उपासनामा अपामार्ग (एउटा बिरुवा) र माटो (विशेषगरी हात्तीले टेकेको) महत्वपूर्ण मान्छिन् । अपामार्ग दतिउनका लागि र माटो हात धुनमा प्रयोग गरिन्छ । महिनावारी भएका बेलामा गरेका पाप पखाल्न ऋषिपञ्चमी व्रत बस्ने परम्परासँगै हात्तीले टेकेको माटोले योनी र गुजद्वार सफा गरिन्छ । त्यस्तै तीन सय पैंसठीवटा ब्रस आकारका अपामार्गका टुक्राले दाँत माझिन्छ भने त्यसका पातहरू नुहाउनका लागि प्रयोग गरिन्छन् ।

आज नेपाल सरकारले महिला कर्मचारीहरूलाई बिदा समेत दिने गरेको छ । असोज ३ गते आउने भनिएको नयाँ संविधानको विधेयकमा महिलाको हक सम्बन्धी धारा ४३ को उपधारा (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् सम्बन्धी हक हुनेछ । त्यस्तै उपधारा (३) मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । तर बिडम्वना मान्नुपर्छ की, महिनावारी भएका बेलामा अरूलाई छोएर गरेको पापबाट मुक्ति दिलाउने उद्देश्यले राज्यले महिलालाई ब्रत बस्न सरकारी बिदाको व्यवस्था गर्छ । यो भनेको राज्यको मूल संविधानमा महिलालाई सुरक्षित मातृत्व र प्रजनन् सम्बन्धी हक हुनेछ भनि गरिएको कानूनी व्यवस्थाको खिल्ली उडाउनु हो ।

एकातिर महिलािवरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनि कानुनी व्यवस्था गर्ने अनी अर्कोतिर त्यही कुरालाई संरक्षण गर्नका लागि सरकारी बिदा नै दिने ! यो कस्तो खालको व्यवस्था हो ? यो भनेको त महिनावारी हुनु पाप हो, महिनावारी भएकी महिलाले कसैलाई छुनु समेत हुँदैन भन्ने गलत मान्यतालाई प्रश्रय दिने काम होइन त ? यदी होइन भने किन राज्यले नै महिनावारीलाई पापको रुपमा ब्याख्या गर्ने ऋषिपञ्चमी व्रत बस्न महिलालाई प्रेरित गरिरहेको छ ? यो बहसको विषय हुनुपर्छ ।

मिथ्या कुरा

कुनै युगमा मान्छेहरूलाई दाँत मुख सफा गर्नुपर्छ, नुहाउँनु पर्छ भन्ने लाग्नैथ्यो होला । अनि दाँत मुख सफा गर्ने बिरुवा अपामार्गको सहज उपलब्धता पनि थिएन होला । त्यसैले मान्छेहरूमा दाँत मुख सफा गर्नुपर्छ भन्ने चेतना जगाउन, अपामार्गको महत्व बुझाउन र महिलाको संवेदनशील अंग मानिने योनी सफा राख्नुपर्छ भन्ने बुझाउनका लागि वर्षमा एक दिन यसो गर्न सिकाईएको हुनसक्छ । जुन एकदमै जायज थियो । युग अनुकूल थियो । किनकी आज हामी विज्ञानको युगका मान्छे भनेर गर्व गर्नेहरू नै महिनावारी (प्राकृतिक नियम)को समयमा अरुलाई छुँदा पाप लाग्छ भन्ने कुरामा विश्वास गर्छौ । हाम्रो राज्यनै त्यसलाई आत्मसात गर्छ भने त्यो बेलाका जान्ने बुझ्ने भनिएका ऋषीमूनीहरूले वर्षमा एक दिन भएपनि यसो गर है भनेर सिकाएको कुरालाई गलत मान्नु मूर्खता बाहेक केही होइन । तर, त्यो यूगमा पनि धर्तिमा सायद महिलामात्र अवश्य थिएनन् । यदी त्यसो हो भने दाँत मुख र गुप्ताङ्ग सफा गर्न किन महिलालाई मात्र प्रेरित गरियो होला ? के त्यतिबेलाका सबै पुरुष यस्तो कुरामा पोख्त थिए होलान त ? अनि वर्षभरी दाँत नमाझ्ने महिलालाई व्रत बसाएर एकै दिन (३६५ पटक) अपामार्गले दाँत मुख सफा गर्न, ३६३ पटक नै गुप्ताङ्ग सफा गर्न प्रेरित गर्ने ऋषीले त्यही कुरा पुरुषलाई चाँही किन नसिकाएका होलान् ?  के पुरुषले दाँत मुख अनि गुप्ताङ्ग सफा नराख्दा पनि हुने हो त ? अवश्य होइन । यो महिलालाई आफ्नो सौन्दर्यमा सधै निखार ल्याईरहनु पर्छ र पुरुषलाई आफूतिर आकर्षित गरिरहनु पर्छ भन्ने मान्यताको उपज हो । जबकी पुरुष पनि त महिलाको नजरमा सभ्य , शालिन हुनुपर्छ, होइन र ?

देवीहरूको गोठ खोई त ?

यदी महिनावारी हुनु पाप हो । यो बेलामा अरूलाई छुँदा पाप लाग्छ भने देवीहरूको रुपमा पूजा गरिने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता जस्ता धनवान, बुद्धिवान, बलवान, विद्यावान देवीहरू पनि त महिला थिए । उनीहरूको मूर्ति भएका मन्दिरहरू अनगिन्ती छन् । हामी तिनै मन्दिरमा पूजा गर्न जान्छौं । त्यहाँ जानलाई कुनै महिना, समय वा बारले छेकबार गर्दैन ।

अनि सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता महिला नै हुन् भए उनीहरू पनि त हरेक महिना महिनावारी हुन्छन् होला । खै त उनीहरू महिनावारी भएका बेलामा मन्दिर छोडेर बाहिर बसेको ? कथित धर्मका व्याख्याताहरू किन मौन छन् यस बारेमा । यदी महिनावारी भएको बेला महिला अछुत हुन्छन् भने देवीहरूको मन्दिर बनाउन लगाउनेहरूले उनीहरू महिनावारी हुँदा बस्ने ठाउँ (गोठ) बनाउन लगाउँनु पर्छ की पर्दैन ? त्यसैले महिनावारी हुनु प्राकृतिक नियम भएपनि महिनावारीको समयमा अरुलाई छुन हुँदैन । मठ मन्दिर जान हुँदैन । मिठो पोषिलो खान हुँदैन भन्ने मनगढन्ते कुरामात्र हो । परापूर्वकालमा गरिवी, अशिक्षा र चेतनाको अभावमा महिनावारीको समयमा घरबाहिर राखेर कसैलाई छुन समेत नदिई आराम गर्न लगाएको कुराको सिको गर्न खोजेर अहिलेका आधुनिक भनिने मान्छेहरू पुर्वजको खिल्ली उडाउँदैछन् । जुन अत्यन्त चिन्ताको विषय हो ।

पाप होइन, प्राकृतिक नियम

हिन्दूहरूका समाजमा रजस्वला एउटा निषेधका रूपमा लिइन्छ । किशोरावस्था सुरू भएदेखि चालीस पैँतालीस वर्ष नपुगेका सबै महिलाको महिनै पिच्छे परिपक्व भएका तर निषेचन नभएका दुइटा डिम्ब फुट्छन् र गर्भाशयबाट त्यही फुटेको डिम्व रक्तस्रावको रूपमा शरीर बाहिर तीन दिन निस्कन्छ । तिनै तीन दिन महिलालाई रजस्वला भन्छन् र नेपालीहरू महिनावारी वा नछुने भन्दछन् । महिनावारी सुरू हुने झन्डै दुई हप्ता अघि डिम्बाशयबाट पाकेको डिम्ब गर्भाशयमा आइपुग्छ । डिम्बले डिम्बाशय छोडे पछि गर्भ रहँदैन । परिवार नियोजन गर्ने प्राकृतिक विधि अथवा क्यालेन्डर विधि अपनाउने ब्रह्मचारीहरूले यी दुई हप्ताको हिसाब राख्छन् । रजस्वला भएको तीन दिन पनि गर्भ रहँदैन, तर चौथो दिनदेखि झन्डै दुई हप्तासम्म नयाँ डिम्ब निषेचनका लागि तयार हुने हुनाले गर्भ रहन्छ । सबै धर्महरू आधारभूत रूपमा सामाजिक न्याय वा अनुशासनका रूप हुन् । हिन्दु धर्म शास्त्रमा रजस्वला भएका तीन दिन सहवास निषेध गरिएको छ । रजस्वलालाई निषेध गरिएको मुख्य कुरो सहवास मात्र रहेछ । तर यहाँ रजस्वला बारे भ्रम, लोकाचार र निषेधको संस्कृति जटिल बनेको छ ।

महिनावारी नभई महिलाले सृष्टि नै गर्न सक्तैनन् । त्यसैले रजस्वला, गर्भवती र सुत्केरी भएको अवस्था नै हरेक महिलाको सबैभन्दा पवित्र अवस्था हो । अरू कुनै उपाय नलगाएर रजस्वलालाई नै सामाजिक बहिष्कार गर्नु कडा धार्मिक अन्याय हो । यदी महिनावारी हुनु पाप हो भने यसलाई पापको संज्ञा दिनसक्ने ती व्यक्तिहरू पनि पापी हुनुपर्ने हो । किनभने एउटा महिला महिनावारी हुनु भनेको ऊ आमा बन्न सक्षम भएको कुराको प्रमाण हो । त्यसैले जसले महिनावारी हुनुलाई पाप ठान्छ अथवा अछुतको व्यवहार गर्छ त्यो उसको अज्ञानताको पराकाष्टा हो । यदी मेरी आमा महिनावारी नभएको भए म कसरी यो धर्तीमा आईपुग्थे ! भन्ने कुराको हेक्का राख्न सके यस्ता खालका अन्धविश्वास स्वतः हटेर जाने निश्चित छ ।

 [email protected]

प्रकाशित मिति २०७२ असोज १ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: