बालिका बलात्कार, श्रीमती हत्या र किर्ते नागरिकताको दोषी १० वर्षपछि पक्राउ
रमला सिंगक
पाँचथर, असोज १ । बालिका बलात्कार, श्रीमती हत्या र किर्ते नागरिकता बनाएको आरोप लागेका पाँचथर फिदिमका सनवहादुर नेपाली १० वर्षपछि पक्राउ परेका छन् । प्रहरीले नेपालीलाई इलामको हर्कटेबाट गत सोमबार पक्राउ गरेको जनाएको छ ।
अनिल पोखरेल भनिने नेपालीले ०६२ कार्तिकमा पाँचथर फिदिम बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाँच वर्ष कैद सजाय तोकिएको थियो ।
पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाका अनुसार फरार रहेको बेला नेपालीले आफ्नै श्रीमती (तारा पोखरेल) शिवा दर्जीलाई ०७१ चैत २८ गते मोरङको मधुमल्लामा हत्या गरेका थिए । बालिका बलात्कारपछि फरार रहेका बेला मधुमल्लामा लुकिछिपी बस्दै आएका नेपालीको श्रीमती तारासँग विवाद भएपछि बालिका बलात्कारको पोल खुल्ने डरले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
बालिका बलात्कार र श्रीमतीको हत्या गरेपछि कारवाहीबाट बच्न आफ्नो परिचय र हुलिया बदल्दै नेपालीले पहिले ०५१ मा पाँचथर जिल्ला प्रसासन कार्यालयबाट सनवहादुर नेपाली नामबाट लिएको नागरिकता फालेर ०६९ सालमा झापा जिल्ला प्रसाशन कार्यालयबाट अनिल
पोखरेलको नामबाट अर्को नागरिकता किर्ते गरेर लिएको प्रहरीले जनाएको छ । दुई–दुई नागरिकता भएपनि उनले कतैकतै आफूलाई अपराधबाट बच्न प्रकाश भनेर पनि चिनाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
तीन आपराधिक काममा प्रत्यक्ष दोषी देखिएकाले उनलाई कारवाही गर्न मुद्दा दर्ता गरेको र जेल चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । बालिका बलात्कार, कर्तव्य ज्यान र किर्ते नागरिकता जस्तो जघन्य अपराध गरेकाले नेपालीलाई कम्तिमा २५ वर्षको कैद हुन् सक्ने प्रहरीले बताएको छ ।
प्रकाशित मिति २०७२ असोज १ गते शुक्रवार
Comment Here!