व्यवस्थित परिवारका लागि सघाउँदै परिवार नियोजन कार्यक्रम
सवै वर्ग र समुदायमा पहुँच पुर्याउनु चूनौति
निर्मला ठकुराठी
काठमाडौं, असोज १। व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ आज दोस्रो परिवार नियोजन दिवस मनाइदै छ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले परिवार नियोजन कार्यक्रमको उद्देश्य जनसंख्या नियन्त्रण गर्नेमात्र नभइ बालमृत्युदर, मातृमृत्युदर घटाइ व्यति्क तथा परिवार र देशको बृहत्तर विकासको आधार भएको बताउनुभएको छ। तर यो सेवामा अझैपनि सवै वर्ग तथा समुदायको पहुँचमा नपुग्नु चूनौति भएको मन्त्री अधिकारीले बताउनुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले परिवार नियोजनले आमा र शिशुको स्वास्थ्य सुधार गर्न, लैङिगक समानता, महिलाको शिक्षा र बृत्तिविकास गर्न उल्लेखनीय भूमिका खेल्नुका साथै एचआइभी संक्रमण घटाउन सहयोग गरेको बताउनुभयो।
नेपालमा सन् १९५९ मा नेपाल परिवार नियोजन संघमार्फत सुरु भएको कार्यक्रम अहिले नेपाल सरकारको एक प्राथमिकता प्राप्त कार्यक्रमको रुपमा रहेको भन्दै उहाँले यसले सहस्राब्दी विकास लक्ष्यका आठओटा लक्ष्य पुरा गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गरेको स्पष्ट पार्नुभयो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र राज उप्रेती अहिले गर्भ निरोधक साधनको प्रयोगदर ४६ प्रतिशत पुगेको र अपरिपुर्त माग पनि घटेर २५ प्रतिशत पुगेको जानकारी दिनुभयो।
यसको सफलताले आमा, नवशिशु र बालबालिका सबै किशोरकिशोरीको स्वास्थ्यमा सुधार गर्नमात्रै नभइ व्यक्ति तथा दम्पतिको शिक्षा, बृत्तिविकास, महिला सशक्तिकरण र आर्थिक उत्थान गर्दै नेपालको समग्र विकासमा भएको महत्वपुर्ण योगदान मान्नुपर्ने उप्रेतीको भनाई छ।
उप्रेतीका अनुसार गरिव तथा सिमान्तकृत वर्ग र समुदायमा यो सेवाको पहुँच तथा प्रयोग कम भैरहेको र तीब्र शहरीकरण तथा कामका लागि ठुलो संख्यामा नेपाली युवा बाहिरिएको स्थितिमा सेवाको पहुँच बिस्तार गर्ने चूनौति छ।
सन् १९७६ मा एक महिलाले ६ जनाभन्दा बढी सन्तान जन्माउँथे भने अहिले सन् २०१४ मा घटेर २.३ पुगेको परिवार स्वास्थ्य महाशाखाको तथ्याकंमा उल्लेख छ। यो अवधिमा गर्भ निरोधक साधनको प्रयोग ३ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा.पुष्पा चौधरीले जानकारी दिनुभयो।
प्रकाशित मितिः २०७२ असाेज १ गते शुक्रवार
Comment Here!