छाउपडी हिँड्ने बाटै अर्को


प्रकाशित मिति :2015-09-20 11:27:31

बाजुराको जुकोटमा सरकारी बजेटबाट छाउपडी हिँड्ने अलग्गै बाटो निर्माण गरिएको छ । पुरानो बाटोमा कालसिल देउताको मन्दिर भएकाले महिनावारी भएका महिला त्यहाँबाट हिँड्न नमिल्ने हुँदा छुट्टै बाटो बनाउनुपरेको स्थानीयको भनाइ छ ।  
प्रकाश सिंह

Prakash singh old photo
०६२ मा वैशाख १९ गते सर्वोच्च अदालतले छाउपडी प्रथालाई कुरीति घोषणा गर्‍यो । त्यसको आधारमा सरकारले छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका पनि ०६४ जारी गर्‍यो । सरकारले कुरीति घोषणा गरेको आठ वर्ष भइसक्दा पनि सुदूरपश्चिमका जिल्लामा यो प्रथा कम भएको छैन । बरु कतिपय ठाउँमा सरकारी निकाय नै यसलाई प्रोत्साहन दिइरहेका छन् ।

स्थानीय सरकार मानिने गाउँ विकास समितिले नै छाउपडी हिँड्ने अलग बाटो बनाउन रकम खर्च गरेको सुन्दा अचम्म लाग्न सक्छ । यस्तो काम भएको छ बाजुरामा । गाविस, जिविस, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र अन्य निकायबाट नै छाउपडी प्रथालाई प्रोत्साहन हुने काम हुँदै आएको छ । कतै गाविसको बजेटबाट छाउपडी बाटो निर्माण गरिएको छ भने कतै छाउपडी धारा बनाउनसमेत सरकारी बजेट खर्च गरिएको छ ।

बाजुराको दुर्गम जुकोट गाविसमा गाविसको बजेटबाट छाउपडी हिँड्ने अलग बाटो निर्माण भएको छ । आर्थिक वर्ष ०७१\७२ मा महिलाका लागि छुट्याइएको रकमबाट यस्तो बाटो निर्माण गरिएको गाविसका लेखा सहायक करवीर शाही बताउँछन् । बेसीबाट लेकमा जान बीचबाटोमा देउताको मन्दिर भएकाले गाविसले बजेट खर्च गरेर भए पनि अर्को बाटो निर्माण गर्नुपरेको स्थानीय पे्रम रोकायाले बताए ।

गाविसको रु. २५ हजार लगानीमा चार सय मिटर बाटो निर्माण गरिएको छ । गाविसस्तरीय सर्वदलीय बैठकबाट छाउपडीका लागि अलग बाटो निर्माण गर्ने सहमति भएको नेपाली काङ्गे्रसका स्थानीय नेता कल्की शाहीले बताए । शाही भन्छन्, ‘गाविस, राजनीतिक दल, अगुवा महिला र समाजसेवीको पहलमा यो बाटो निर्माणका लागि रकम विनियोजन भएको हो ।’

 Chaupadi Photo (2)  जुकोट गाविसको ढोगगर्नामा कालसिल देउताको मन्दिर छ । महिनावारी भएका बेला महिला त्यो बाटोबाट हिँड्न नमिल्ने भएकाले गाविसमा लक्षित वर्गका लागि छुट्याइएको बजेटबाट अर्को बाटो बनाइएको हो । स्थानीय अगुवा महिला कविता शाही भन्छिन्, ‘छाउपडी भएका बेला लेकमा जान–आउन निकै समस्या हुन्थ्यो, त्यसैले यो बाटो निर्माणमा महिलासमेत सहमत भए ।’

गाविसले भने लक्षित वर्गका लागि तोकिएको रकमले महिलाको क्षमता अभिवृद्धि, आयआर्जनमा वृद्धि, कुप्रथा न्यूनीकरण गर्नुपर्ने थियो । तर, यसको ठीक उल्टो काम गरेको छ । स्थानीय अगुवा तथा दलका प्रतिनिधिको सहमतिमा यो काम गरेको गाविसको भनाइ छ । स्थानीय विकास अधिकारी युवराज पौडेलले आफूलाई यसबारेमा कुनै जानकारी नभएको बताए ।

अलगै छाउपडी धारा
बाटो मात्रै होइन, बाजुराका धेरैजसो गाविसमा अलग्गै छाउपडी धारा पनि छन् । मुहान एउटै भए पनि छाउपडीलाई अलग्गै धाराको व्यवस्था गरिएको हुन्छ । जुकोट गाविसमै दुई वर्ष पहिला छाउपडीका लागि अलग्गै धारा बनाइएको थियो । स्थानीय जुनकला शाहीका अनुसार गाविसको बजेटबाट अलग्गै धारा निर्माण गरिएको हो ।

कुल्देवमाण्डौ– ६ सारेदेउमा गएको वर्ष जिल्ला विकास समिति र गाविसबाट धारा निर्माण भएका थिए । त्यसमा पनि छाउपडी धारा अलग्गै निर्माण भएको स्थानीय मनदेवीकुमारी जैशीले बताइन् । गाउँमा एउटै मुहान भए पनि छाउपडीको अलग्गै, दलितको अलग्गै र क्षेत्री जातिका लागि अलग्गै धारा निर्माण गरिएको छ । पानी छुइने परम्परागत मान्यताले अलग्गै धारा निर्माण भएको मनदेवीले बताइन् । जयबागेश्वरी गाविसको पीपल गाउँमा पनि अलग्गै छाउपडी धारा निर्माण भएको स्थानीय सुरतबहादुर थापा बताउँछन् । जिल्ला विकास समिति योजना शाखाका सुब्बा भरतबहादुर सिंहले घुमाउरो पारामा त्यसलाई स्वीकार गरे । उनले भने, ‘हामीले योजना दिएको हो । छाउपडी धारा अलग्गै निर्माण गर्नु भनेका छैनौँ, उनीहरूले आफैँ बनाएको हुन सक्छन् ।’

विपन्नता र गरिबीका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा महिनावारी भएको बेला महिलालाई छाउपडी गोठमा राख्ने कुरीति छ । विवाहित महिलाले पाँच दिन टाढिए पुग्ने मान्यता छ भने अविवाहितले सात दिनसम्म यो गोठमा बस्नुपर्छ । यस्तो बेलामा घरमा बसे देवीदेवता रिसाउने अन्धविश्वास छ । बाजुरामा चालू रहेको यो प्रथा महिलामाथि भएको घरेलु हिंसाको नाङ्गो रूप हो । अछाम, बाजुरा, डोटी र बझाङ जिल्लामा छाउपडी प्रथाले बलियोसँग जरो गाडेको छ ।

Chaupadi Photo (1)पर्याप्त पँधेराको अभाव रहेको गाउँघरमा महिलाले नुवाइधुवाइसमेत फोहोर खोलाको पानीमा गर्नुपर्छ । सुत्केरी महिलाका लागि त छुईको नियम झनै कडा हुन्छ । छुई हुने मान्यताकै कारण महिनावारी भएकी महिलालाई घरबाहिर एक्लै बस्नुपरेको हो । यसरी अलग्गै बस्नुपर्दा बलात्कारमा पर्ने, जङ्गली जनावरको सिकार हुने, सर्पले टोक्ने घटना विगतमा समेत सार्वजनिक भएका थिए । यसले २१औँ शताब्दीमा पनि नेपालको एउटा गरिब बस्तीमा कुन हदसम्मको अन्धविश्वास कायमै छ भन्ने देखाउँछ ।

अशिक्षा र गरिबीका कारण मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बस्ने प्रचलन हट्न नसकेको एक अध्ययनले देखाएको छ । कतिपय ठाउँमा त यस्तो बेलामा विद्यालय जानुहुँदैन, किताब–कापी छुनुहुँदैन भन्ने विश्वास पनि छ । श्रीमती महिनावारी भएको बेला श्रीमानले पनि बाहिर यात्रा गर्नुहुँदैन, शुभकार्य गर्नुहुँदैन भन्ने मान्यता कायमै छ ।

महिलाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले केही वर्षअघिदेखि नै यसविरुद्ध कार्यक्रम गर्दै आएका छन् । तर, यी प्रयास प्रभावकारी भइरहेका छैनन् । पछौटेपनका कारण हुनसक्छ समाजमा पुरुषहरू त के स्वयम् महिलासमेत यो प्रथाको अन्त्यको पक्षमा बोल्न चाहँदैनन् । यस्तो कुप्रथा बलियो हुँदा कतिपय सङ्घसंस्थालाई परियोजना चलाउन सजिलो भएको छ ।
(सञ्चारिका फिचर सेवा)
(प्रकाश बाजुराका पत्रकार हुन् ।)     
 
प्रकाशित मिति :२०७२ असोज ३ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: