डोकाथलीकी सरिताको डोको


प्रकाशित मिति :2015-09-21 10:30:19

अरुणा रायमाझी

भक्तपुर, असोज ४ गते । डोकाथली गुण्डु भक्तपुरकी ५० वर्षीया सरिता कुँवरलाई देख्ने र भेट्ने धेरै महिला उनी जस्तै बन्न चाहन्छन् । सरिता सामाजिक कार्यकर्ता मात्र होइनन्, अगुवा महिला पनि हुन । रमाइलो पक्ष के छ भने उनका छोरा क्यानडा र छोरी अमेरिकामा पढ्छन् । सरिता चाहिँ बिहान बेलुका आफूले उत्पादन गरेको तरकारी डोकोमा बोकेर बेच्न सूर्यविनायकसम्म पुग्छिन् ।

माईतीघरको आर्थिक अवस्था कमजोर भएकाले सरिताले सात कक्षा पढ्दै गर्दा आफ्नो पढाई र घरखर्च जुटाउन एउटा सामाजिक संस्थामा काम गर्न थालिन । त्यो संस्थाको मुख्य काम परिवार नियोजनका अस्थायी साधन वितरण गर्ने थियो । ‘त्यो बेला केटी मान्छे, अहिले पनि अस्थायी साधनको नाम सुन्दा मान्छे लाजउँछन्, तपाईनै भन्नुस् मैले कसरी काम गरेँ होला ? परिवार नियोजनका अस्थायी साधन केन्द्रबाट लिनु र पाँचवटा गाविसमा वितरण गर्नु उनको जिम्मेवारी भित्रको काम थियो ।

उनले भनिन् ‘काम गर्दाका अप्ठाराहरू अनगिन्ती छन् । अहिले जस्तो होइन, त्यो बेला केटासँग बोल्यो कि चरित्रहिनको आरोप खेप्नुपर्दथ्यो । परिवार नियोजनका साधन बाँड्दा मान्छेले के भन्न् बाँकी राखे होलान् ? समाजको नकारात्मक सोचाईले गर्दा कहिले काँही आफैसँग असन्तुष्ट हुन्थें । मैले कस्तो निच काम गरिरहेकी छु भन्ने लाग्थ्यो । फेरी सोच्थें समाजको लागि राम्रो काम गरेकी छु ।’  परिवार नियोजनका साधन पाँचवटा गाविसका उत्प्रेरकलाई वितरण गर्दाको उनको अनुभव रमाइलो छ । उनी भन्छिन्, ‘लिनै नमान्ने ।’

अफिसको कामले पढाईमा ध्यान नदिँदा सरिता १० कक्षाको टेस्टमा फेल हुनुप-यो । टेस्टमा असफल भएपछि शिक्षकहरूको व्यवहार फेरियो । स्कुलमा नियमित पढ्न गाह्रो भयो । तर, उनले आफ्नो हौसला कायम राख्दै पढिन् र दोस्रो पटक दिएको परिक्षामा सेकेन्ड डिभिजनमा पास भईन । तर, अगाडि पढ्ने मौका मिलेन ।

doko-4

०३९ सालमा उनको विवाह भयो । उनले त्यो बेला डोकाथलीका महिलाको अवस्था सुनाउँदै भनिन् ‘म डोकाथली आउँदा महिलाले जुत्ता लाएर हिड्न पाउँदैनथे । जुत्ता त घरको दलिनमा घुसारेर राख्ने प्रचलन रहेछ । दलिनको जुत्ता बजार जाँदा मात्र लगाउँथे ।’ विगत सम्झँदै उनले भनिन्, ‘धारामा ब्रस गर्दै जाँदा वरपरका सबैले लाइन लाएर हेर्थे र फलानोकी बुहारी त कुचोले दाँत माझ्ने रहिछे भन्थे ।’
उनको बाल्यकाल मामा घरमा बित्यो । मामा घरमै बसेको भएर होला त्यहाँ खुलस्त बोल्थेँ । घरमा आएपछि प्रतिबन्ध लाग्यो । घरको चलन बुवासँग बोल्न नपाइनेरहेछ । विवाह भएको १७ दिनपछि सासुआमाले मानसिक यातना दिन थालेको उनले सुनाईन् । सासुआमाले उनलाई लोग्ने मान्छेसँग बोल्नु हुदैन, म पनि पहिले ससुरासँग बसेको थिए । लोग्ने मान्छेको मनमा पाप हुन्छ भनेकी थिइन् ।

विवाह भएको पहिलो रातमै श्रीमानले ‘मेरो परिवारसँग दोहोरो शब्द ग-यौ भने जुनसुकै बेला पनि छोडन् सक्छु’ भनेर धम्क्याए । त्यो बचन नराम्रो लाग्यो । श्रीमानले चुप लाग भने, चुप्प लागेर बस्नु पदथ्र्यो । सरिता पढेको भएर अरु भन्दा अलि सचेत र आवाज उठाउन सक्ने खालकी थिइन् । सामाजिक काममा लाग्ने उनको भित्री इच्छा भएपनि श्रीमानको आदेश विना घरबाट एक पाइला चाल्न सम्भव थिएन ।

२०४५ सालमा गुण्डुमा स्थापना भएको हेल्थपोष्टले गाविसको तथ्याङ्क संकलन गर्न सरितालाई दिने कुरामा उनका श्रीमानले मञ्जुरी दिए । तर, गाउँमा महिलालाई घरबाट बाहिर निस्कने अनुमति थिएन । सामाजिक काममा लागेकी सरिता गर्भवती थिइन् । उनले श्रीमानबाट कल्पना नगरेको कुरा सन्नु पर्यो । त्यो बेलाको घटना सुनाइन् ‘उहाँले मेरो होइन गाउँमा हिड्थिस् अरु कसैको गर्भ हो, भन्नथाल्नु भो । उहाँको इच्छा गर्भपतन गर्ने थियो ।’ त्यो बेला खुल्ला रुपमा गर्भपतन गर्न पाइदैनथ्यो । लुकीछिपी गर्भपतन गराइन् । गर्भपतन गरेपछि श्रीमानले यो कुरा कसैलाई भने घरबाट निकाली दिने धम्की दिएका थिए ।

doko-51

यसपछि उनले गाउँमा आमा समूह बनाइन् । यसको लागि बोलाउन जाँदा सबै काल्नामुनि र काल्नामाथि लुक्न थाले । आमा समूह गठन गरेपछि कापीमा हस्ताक्षर ग¥यो भने सम्पत्ति जान्छ भन्ने भ्रम पुरुषले पारी दिएका हुनाले सबै भागे । तर, उनले हार मानिनन् । ०४७ सालमा महेश बस्नेतसँग मिलेर कृषि समूह गठन गर्ने योजना अनुसार गाउँमा छलफल भयो । समूहमा पुरुषहरूलाई राखे मात्र बस्ने जवाफ आयो । महिलालाई समूहमा राखे घरको काम कसले गर्ने भन्दै कृषि समूहमा महिलालाई बस्न दिएनन् । समूहमा सबै पुरुषहरूनै बसे ।

सरिताले ठूलो कसरतपछि भित्री रुपमा महिला समूह गठन गर्न सफल भईन् । महिला समूह गठन भएको थाहा पाएपछि गाउँका धेरै पुरुष खुकुरी बोकेर सरितालाई काट्न भन्दै आए । उनले घरको भर्याङमा लुकेर ज्यान बचाईन । तर, अहिले तिनै पुरुष सरितालाई नमस्कार भन्न आउँछन् ।

परम्परागत कृषिलाई व्यवसाय बनाउनको लागि भेटनरी तालिम, कृषि तालीम सौर्य शक्तिबाट साग सुकाउने गोबर जाँच गर्ने, कृषकलाई तालीम दिने र पैसा बचत गर्न थालेपछि सरितालाई बल्ल काम गर्न सहज भयो । त्यसपछि उनले स्थानिय विकास कोषबाट महिला बचत समूहहरू बनाउन थालिन् ।

doko-81

त्यतिमात्र होइन, उनले सामुदायिक वन बनाउनको लागि महिलालाई गाउँमा सँगठित गर्न नसकेपछि वनमा घाँस दाउरा गर्न जाँदा वनमै समूह गठन गरिन् । उनले बनाएकोे महिला समूहले अन्तराष्ट्रिय अब्राहम लिङ्कन वातावरण पुरस्कार प्राप्त ग-यो । वातावरण समूहबाटै डोकाथलीका महिला चीन, भारत, अमेरिका घुमिसकेका छन् । यो योगदान सबै सरिता दिदीकै हो भन्छन् गाउँका महिला ।

महिला घरबाट निस्कने मात्र होइन, कृषिबाट आर्थिक आम्दानी गर्न थाले । एउटा समूहले अहिले २५ देखि ५० हजार रुपैयाँसम्म ऋण दिने गरेको छ । सरिता अहिले भक्तपुर जिल्लाको खानेपानी महासँघको अध्यक्ष हुन । गाविसमा फुलखेती सुरु गर्ने उनै हुन् । अहिले यो गाविसले फुलखेतीबाट वार्षिक ३ करोड आम्दानी गर्ने गरेको छ । यहाँ उत्पादन हुने फुलका माला बेलायत र जापानसम्म निर्यात हुने गरेको सरिताको भनाई छ ।

गुण्डुका महिलालाई घरबाट बाहिर निकाल्न सकेकोमा सरिता निकै खुशी छन् । भन्छिन् ‘घरको चार दिवारबाट बाहिर निस्कन पाउनु स्वतन्त्रताको एउटा खुड्कीलो हो । अहिले गाउँमा धेरै महिला समाजको अगुवा भएका छन् । मेरो लागि परिवर्तन यहि हो ।’

प्रकाशित मिति २०७२ असोज ४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: