महिलाको आत्मसम्मान र अधिकारलाई समेट्न सकेन :अधिकारकर्मी


प्रकाशित मिति :2015-09-21 13:44:41

महिला खबर 

पोखरा,असोज ४ । लामो समयको अन्तरालपछि ‘नेपालको संविधान २०७२’ नेपाली जनताले आइतवार प्राप्त गरेका छन् । यो देशले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । यसले देशमा खुसियालिसँगै केही निराशा पनि ल्याएको छ । यसै प्रसंगमा केन्द्रित रहेर पोखराका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाले महिला खबरडटकमसँग ‘नेपालको संविधान २०७२’ बारे व्यक्त गरेका धारणा ।

sarala pande

सरला कुमारी पाण्डे
शान्तिका लागि नागरिक समाज संजाल : अध्यक्ष
यतिबेला देशले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपाली जनताका प्रतिनिधिले संविधानसभा मार्फत् संविधान जारी गर्नका लागि विगत सात दशक देखि नेपाली जनताले गर्दै आएको आन्दोलन यतिबेला सार्थक सावित भयो ।
यसर्थमा नेपालको संविधान २०७२ लाई स्वागत गर्नैपर्छ । समग्रमा संविधान राम्रो छ । यद्यपी जारी संविधानले महिला अधिकारकर्मीहरूले उठाएका मागहरूको पूर्ण रुपमा संबोधन हुन सकेन यसले अधिकारकर्मीहरूलाई स्तब्ध बनाएको छ । तर, पनि नेपाली महिलाले जारी संविधानको हार्दिक स्वागत पनि गरेका छन् ।
महिला आन्दोलन र योगदान मात्र होइन, विश्वको अभ्यासलाई हे-याे   भने पनि पूर्ण संविधान कही कतै हुँदैन । तर, ५१ प्रतिशत महिलाका मुद्दालाई संबोधन नहुँनु महिलाको मात्र होइन, आम नेपालीको चित्त दुखाई हुनु पर्ने हो । यस प्रति सम्पूर्ण राजनैतिक दलको ध्यान जान जरुरी छ ।

संविधानमा भएका प्रावधानहरू जारी भएपछि त्यो संसोधन नहुँने भन्ने हुँदैन । समय परिस्थीति र जनताका माग अनुसार संबोधन हुँदै जानु पर्दछ । महिलाका मुद्दाहरूलाई संसोधन गरी ५१ प्रतिशत जनसंख्या ओगटेका महिलाको माग प्रति सम्पूर्ण राजनैतिक दलहरू संवेदनशिल भई हाम्र्रा मागहरूको सुनुवाई हुनु पर्दछ । साथै असन्तुष्ट राजनैतिक दलका जायज मागहरूलाई पनि संबोधन गरी लैजानु पर्दछ । यसो गरेमा मात्र सम्पूर्ण जनताको मागलाई संबोधन गरेको आभाष हुनेछ ।

kopila ranabhat

कोपिला रानाभाट
नेपाल महिला संघ कास्की :अध्यक्ष
नेपाली जनताको संविधानसभाबाट संविधान जारी होस् भन्ने ठूलो चाहाना यतिबेला पुरा भएको छ । हामी नेपालीको लागि खुशी गौरवको कुरा हो । संविधानमा हरेक जातजाति भाषाभाषि र धर्मका कतिपय मागहरू समेटिन नसकिएका होलान् । यद्यपि बहुमत जनताको इच्छालाई यसले समावेश गरेको छ । यो खुशीलाई दीगो बनाउनु सबैको कर्तव्य पनि हो ।

देशको परिवर्तनलाई नेपाली महिलाले गरेको त्याग र बलिदान सदास्मरणीय छ । विभिन्न जिम्मेवारी भूमिकामा रहेर विभिन्न चरणका आन्दोलनमा होमिएका महिला यतिबेला जारी संविधानबाट पूर्ण सन्तुष्ट छैनन् । आमाको नामबाट नागरिकतामा केही सहज व्यवस्था भएपनि आमाको पूर्ण अस्तित्व र अधिकारलाई यो संविधानले समेटेन ।

राज्यका हरेक निकायमा समानुपातिक सहभागिताको आवाज उठाए तर संविधान यस विषयमा मौन रह्यो । ५१ प्रतिशत महिलाको आवाज प्रति गम्भिर नहुनु दुखद हो ।
तर,पनि संविधान आफैमा गतिशिल दस्तावेज हो । लामो समयदेखि समान अधिकारको लागि आन्दोलनरत महिला संविधान जारीसँगै पक्कै चुपलाग्ने छैनन् । सामाजिक,सांस्कृतिक र आर्थिक क्रान्तिबाट अधिकारको आवाज महिलाले उठाईरहनेछन् । अधिकार प्राप्तिका लागि जारी आन्दोलन रोकिएको छैन ।
नेपालीको समृद्धि र उन्नतीलेनै नेपाल सफल राष्ट्र बन्न सक्छ चुनौतिभित्रका अवसर, कठिनाई भित्रका सहजता र प्रतिकूलताभित्र अनुकूलता देख्न सक्नुनै उपलब्धि हो ।

durga neupane

दुर्गा न्यौपाने
मानव अधिकारका लागि एकल, एकल महिला समूह क्षेत्रीय : अध्यक्ष

एक युगमा एक दिन एक चोटी आउँछ, भनेर भन्ने गरिन्थ्यो । त्यो दिन असोज ३ गते आयो । भलै यो पूर्ण र संपूर्ण छ भन्न सकिदैन । बेमेलभित्रका मेलहरूको दस्तावेज हो । गणतान्त्रिक संविधानलाई संस्थागत गर्ने कार्यलाई एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । शान्ति स्थापनाका लागि संक्रमणकालको टुंगो लागेको छ । संविधान आफैंमा एउटा गतिशिल, परिवर्तनशिल र अग्रगामी प्रकृतिको छ । विश्वकै इतिहासमा नेपालले शिर ठाडो पार्ने समय जुरेको छ ।

संविधानले सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिमा असहाय अवस्थामा रहेका एकल महिलालाई रोजगारीमा प्राथमिकता दिएर जीविकोपार्जनको व्यवस्था गर्दै जाने, जोखिममा परेका, सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा हिंसा पीडित महिलालाई पुनःस्थापनासँगै संरक्षण, सशक्तिकरणको पाटो जोडिनु सकारात्मक हो । यद्यपी कार्यान्वयनको पक्षले यसको गुण र दोषलाई केलाउँछ ।

लामो समयपछिको परिवर्तनलाई संस्थागत गर्दा चुनौति आउनु अस्वभावीक होईन । अब विस्तारै यसमा देखा परेका असन्तुष्टिहरूलाई आवश्यकता अनुसार थप्दै वा घटाउँदै जानुपर्छ ।

महिला अझै उपेक्षित हुनु, महिलाको अस्तित्व र अधिकारमाथि प्रश्न चिन्ह उठाउँदै विभेद गरीनु यो संविधानको सबैभन्दा दुखद पक्ष हो । सँगसँगै मधेश जलिरहनु, प्रदेशको सिमाङ्कन र नामाङ्कन अझै बाँकी रहनु आदि संविधानका बग्रेल्ति चुनौतिहरू औंल्याउन सकिन्छ ।
यतिबेला कमजोरी केलाउनु भन्दा पनि उपलब्धिलाई संस्थागत गर्नु बढि बुद्धिमानी हुँनेछ । जसले शान्ति संस्थागत गर्न मद्दत पुग्नेछ । अब संविधानले बिकास र निकासको ढोका खोलिदिएको छ ।

maya gurung manangiमाया गुरुङ मनाङ्गी
जिल्ला विकास समिति कास्की : सामी परियोजना प्रमुख
संविधान सभा मार्फत संविधान जारी गर्नका लागि नेपाली जनताले विभिन्न आन्दोलन गर्दै आएका थिए । त्यो पुरा भएको छ । एउटा अन्योलताको अवस्था अन्त्य भएको छ । देशले निकाशा पाउँछ भन्ने आम नागरिकलाई लागेका छ । देशभर स्वस्फूर्त रुपमा संविधानको स्वागतका लागि दिपप्रज्वलन गरेका दृश्यले पनि यो संकेत गर्छ ।

हुन त यस संविधानले सबै नेपालीहरूको मन बुझाउँन सकेको छैन । हामीले चाहेको जस्तो अधिकार यसमा सुनिश्चित गर्न सकेको छैन । महिला अधिकारकर्मीहरूले उठाएका मागहरूको पूर्ण रुपमा संबोधन हुन सकेन, यसमा हामी महिलालाई दुखि बनाएको छ । तर, पनि हामीले यसलाई सकारात्मक रुपबाट स्वीकार गरेका छौँ ।
विश्वास छ आउने दिनहरूमा समय सापेक्ष संसोधन र समेट्न नसकेका बिषय बस्तुहरू, ५१ प्रतिशत महिलाको आत्मसम्मान र अधिकारलाई समेटेर जाने छ ।
नयाँ संविधानले दोश्रो दर्जाको नागरिक सरह भोग्नु परेका अनगिन्ति विभेदहरूको अन्त्य गर्दै कानुनको पूर्ण कार्यान्वयन होस् भन्ने कामना गर्छु ।

प्रकाशित मिति २०७२ असोज ४ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: