डान्सबारमा महिलाले भोगेको पीडा


प्रकाशित मिति :2015-09-21 14:10:40

  ‘अस्पतालमा काम गर्ने नर्सलाई राती ड्युटी गरेर घर फर्कदा समाजले सम्मान गर्छ । हामीले जिवन गुजाराको लागि डान्सबारमा आफ्नो कला देखाउँदा ‘विग्रेकी केटी’ भनेर घृणा गरिन्छ ।’  

नेहा शर्मा

‘छोरी तिमी माईतमा बसेर हुँदैन अर्कैको घर जानुपर्छ’, १० वर्षकी हुँदासम्म धादिङ्गकी सानु मगरलाई उनका बुवाले यसै गरी सम्झाउँने गर्थे । बुवाको कुरा टार्न नसक्दा सानुको १२ वर्षमै बिहे भयो । विहेपछि पढेर जागिर खाने सपना पुरा हुन सकेन । त्यति मात्रै होइन, विवाह भएको केही महिनामै सँगै मर्ने र बाँच्ने कसम खाएको लोग्नेले जाँड खाएर पिट्न थालेपछि सानुका दुःखका दिन सुरु भए ।

काठमाडौं भैंसेपाटीमा श्रीमानसँग बस्दै आएकी सानुका श्रीमान सरकारी जागिरे भएपनि एक पेट खान  उनलाई समस्या पथ्र्यो । दुई बच्चाकी आमा सानुले श्रीमानको हातको कुटाई नखाएको कुनै रात भएन । उनी भन्छिन्, ‘जागिरबाट फर्कदा रक्सी खाएर आउने श्रीमानले अनेक बाहानामा कुट्थ्यो ।’

आखिर उनले घर छोडेर हिडिन् । सानु भन्छिन्,  ‘एकदिन म बाहिर गएको मौका पारेर उसले कोठामा ताल्चा लगाएर हिँडेछ । फर्केर आएन । ५ महिनाको छोरी र २ वर्षको छोरालाई लिएर कामका लागि काठमाडौंको गल्ली गल्ली चाहरे कसैले दया देखाएन । उनी पुगिन् डान्सबार ।’

काठमाडौंको एक डान्सवारमा भेटिएकी सानु भन्छिन् ‘रातदिन रक्सी खाएर लोग्नेले पिट्दा पिट्दा मेरो करङनै भाँचिएको छ, शरीरमा निलडाम अझै छन् ।’

काखमा दुधे बच्चा बोकेर काम खोज्दै हिडेकी सानुले पुतलीसडकमा रहेको ताजमहल रेष्टुरेन्टमा काम गर्दा—गर्दै ठमेलको रेष्टुरेण्टमा डान्स गर्न पुगिन् । राम्रोसँग नाच्न नजाने पनि ग्राहकलाई खुसी पार्न जर्वजस्ती नाच्नु पर्ने बाध्यता छ । छोरा ११ वर्ष र छोरी १० वर्षकी पुग्दा पनि डान्सबारमा नाच्नु पर्ने काममा परिवर्तन आउन सकेको छैन् ।

बच्चा सानो हुँदा सहयोग गर्ने कोही नभएकाले कोठामा थुनेर काममा जाँदा उनीहरू दिनभर भोकै बस्नु पर्ने बाध्यता थियो । कति दिन त ओछ्यानमै दिसा पिसाव गरी त्यसमा निदाएको घटना सम्झँदा अहिले पनि दुःख लाग्छ उनलाई ।

केही सीपमुलक तालिम लिएर यो पेशा छाड्ने सोचमा रहेकी सानु नागरितकता नभएका कारण सरकारले दिने तालिम लिन नपाएको गुनासो गर्छिन् ।
सानु जस्तै राजधानीभित्र खुलेका अधिकांश डान्सवारमा कार्यरत धेरै महिला पारिवारीक समस्या घरेलु हिंसालगायतका समस्याको सामना गर्दागर्दै अर्को समस्यामा रुमलिरहेका छन् । आमासँगै बच्चाको अवस्था पनि झनै दुखदायी छ ।

नुवाकोटकी सुनिता तामाङ (२८) को कथा पनि सानुको जस्तै छ । घरको उब्जनीले वर्षमा तीन महिना खान नपुग्ने परिवारकी सुनितालाई बा आमाले ८ वर्षको उमेरमा ९ वर्षको केटासँग विहे गरिदिए । विहे लगत्तै बा आमाको निधन भयो । १२ वर्षको उमेरमा श्रीमानको घर छाडेर सुनिता माईत पुगिन र जहाँ दाईले वस्न दिएनन् । अनि साथीहरूको लहलहैमा काठमाडौं आइपुगिन् र चाबहिलमा ज्यामी काम गर्न थालिन् । भन्छिन्, ‘सानी थिएँ, पैसा पनि थोरै दिन्थे । के गर्नु वाँच्नलाई जे पनि गर्नै पर्‍यो ।’

२ वर्ष कामगरेपछि सँगै काम गर्ने केटासँग माया बस्यो । विवाह गरिन् । बिहे गरेको एक वर्षमा आमा बनेकी सुनिता श्रीमानले दिएको यातना सहन नसकेर छोरा लिएर एक्लै बस्न थालिन् ।

छोरालाई पाल्ने कुनै उपाय नभएपछि साथीको सहयोगमा डान्सवारमा काम गर्न थालेकी सुनितालाई दैनिक गुजारा चलाउन मुस्किल छ । ५ वर्षको छोरालाई घरमा थुनेर काममा जाने सुनिता भन्छिन् ‘छोरा रातभर रुँदै ओछ्यानमै दिशा पिसाब गरेर चिसोमै निदाउँथ्यो, म रातभर डान्सवारमै ग्राहकको सेवामा लागिरहनु पर्दथ्यो ।’ छोरा ठुलो भएर अपमान गर्ने हो की भन्ने डर भएपनि सुनिता छोरालाई पढाएर ठुलो बनाउन डान्सबारमै काम गर्नुपर्ने बाध्यता रहेको बताउँछिन् ।

खाटबाट लडेर छोराले खुट्टा भाँचेपछि उनलाई अर्को समस्या परेको छ । एकपछि अर्को दुःखले सताईनै रह्यो । एकवर्ष अस्पतालमा राखेपनि खुट्टा निको नभए पछि बैशाखीको भरमा हिड्डुल गर्नुपर्ने अवस्था छ । डान्सबारबाट महिनामा आउने ३५ सयले घर चलाउन समस्या भएपछि बहिनीको कोठामा बस्दै आएकी उनलाई उमेर ढल्केपछि के काम गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । नागरिकता नभएकाले समस्या परेको बताउने सुनितालाई नागरिकता कसरी बनाउने भन्ने समेत जानकारी छैन ।

दमौली घर भएकी मीना ठकुरीका पनि तीन छोराछोरी छन् । १६ वर्षको उमेरमा ३५ वर्षको केटासँग विहे गरिदिएपछि उनले परिवार पाल्नकै लागि डान्सवारमा काम गर्नुपर्‍यो । काखमा जुम्ल्याहा दुई छोरा छोरी र जेठो छोरा समेत गर्दा ३ जना थिए । उनी भन्छिन्, ‘बुढाले केही काम नगर्ने ,बाध्य भएर ति छोरा छोरी पढाउन डान्सवारमा काम गर्नु प¥यो ।’ डान्सबारमा काम गर्दाको दुःख सुनाउँदै मीना भन्छिन् ‘दुध खाने जुम्ल्याहा बच्चालाई कोठामा छाडेर काममा जान्थें, लोग्ने कता जान्थ्यो थाहा छैन । मन लागे घर आउथ्यो नत्र बाहिरै रात बिताउँथ्यो ।’ उनका भनाइमा, यी तीन छोराछोरी पाल्नको लागि सयौं पुरुष नाटकिय शैलीमा नजिकिनु पर्छ । सम्झँदा पनि दिक्क लाग्छ ।

डान्सवारमा कमाएको पैसाले पढ्नु भन्दा नपढी बस्छौं भन्ने हुन कि भन्ने डर लाग्ने बताउने मीनालाई ‘छोरा छोरी बुझ्ने भईसकेकोले उनीहरूले थाहा पाउनु भन्दा पहिला नै सानो पसल खोलेर बस्ने विचार’ छ । मिना भन्छिन्, ‘उनीहरूकै जिवन गुजाराको लागि यो काम गरेर पढाएँ, हुर्काएँ । अब तीनैले यस्तो काम गरिस् भनेर धिक्कार्छन् कि भन्ने बढो डर छ मलाई ।’

डान्सवारमा काम गर्ने महिलालाई समाजले हेर्ने गलत दृष्टिकोणका कारण धेरैले घरपरिवारमा ढाँटेर काम गर्छन् । डान्सवारमा काम गर्ने सानु भन्छिन्, ‘अस्पतालमा काम गर्ने नर्सलाई राती ड्युटी गर्दा समाजले सम्मान गर्छ । हामीले जीवन गुजाराको लागि डान्सबारमा आफ्नो कला देखाउँदा विग्रेकी केटी भनेर घृणा गरिन्छ ।’

यस क्षेत्रमा काम गर्ने महिला मध्ये केहीले लिभिङ टुगेदरको सम्बन्धबाट बच्चा जन्माएका छन् । केहीले घरपरिवारबाटै विहे गरेपनि श्रीमानको सहयोग नभएका कारण नागरिकताविहिन भएका छन् । यसले कतिपय महिलाको आफ्नो पहिचान समेत नभएको अवस्था छ  । त्यसको प्रत्यक्ष असर उनीहरूको बालबच्चामा परेको छ ।

माईती नेपालको सन् २०१० को रिपोर्ट अनुसार यस क्षेत्रमा काम गर्ने महिला सँख्या करिव १ लाख छ ।  सन् २०१० पछि मनोरन्जन क्षेत्रमा काम गर्ने महिलाको अवस्था र संख्याको विषयमा कुनै अध्ययन भएको छैन । काम गर्ने महिलाले ग्राहकलाई रिझाउन सकेको र कमिसनको आधारमा पैसा बुझ्छन् । साधारणतया उनीहरूले महिनामा ३ हजार रुपैयाँ तलव पाउछन्  ।

प्रकाशित मिति: २०७२ असोज ४ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: