महिला खबर
नेपालगन्ज, असोज ५–संविधानसभाबाट मुलुकमा नयाँ संविधान घोषणासँगै बाँकेका महिला उद्यमी उत्साहित देखिएका छन्।
हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा महिला हक अधिकारका आवाज उठाउने महिला मुलुकमा जारी भएको नयाँ संविधानसँगै आफ्ना हक अधिकार र व्यावसायीका समस्या पनि समाधान हुनेमा विश्वस्त छन्।
नेपालगन्जमा आयोजित दलको संयुक्त खुसियाली सभामा समेत महिला उद्यमीको उल्लेख्य उपस्थिति रहेको थियो।
‘पटक पटकको असफलतापछि अहिले हामीले नयाँ संविधान पाएका छौँ, अव देशमा शान्ति र विकासको बाटो खुलेको छ। देशमा संविधान नहुँदा र राजनीतिक अस्थिरताको मारमा महिला उद्यमीहरू पनि छन्, अव नयाँ संविधानसँगै नयाँ आशा पलाएको छ ‘–नेपालगन्ज उद्योग वाणिज्य संघकी उपमहासचिव रचना श्रेष्ठले भन्नुभयो।
नयाँ संविधान घोषणा भएसँगै मध्यपश्चिमका सबैजसो जिल्लामा महिलाले खुसियाली जुलुस र सभा गर्दै आएका छन्। विभिन्न संघ–संस्था र आमा समूहमा आवद्ध महिलाले पहिचान झल्किने पोशाकसहित जुलुसमा सहभागी हुँदै आएका छन्।
महिला उद्यमीहरूको सक्रियतामा दैनिकजसो दीपावलीलगायतका खुसियाली कार्यक्रम उत्साहका साथ भइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। नेपालगन्ज उद्योग वाणिज्य संघमा करिव ३ सय महिला उद्यमी आवद्ध छन्।
प्रकाशित मितिः २०७२ असाेज ५ गते मङ्गलवार
Comment Here!