महिला खबर
बैतडी, असोज ६। बैतडीको कुवाकोटमा बालविवाह नरोकिएपछि बालविवाहमुक्त गाविस र नमुना स्वास्थ्य गाउँ बनाउन बालबालिका जुटेका छन् । विद्यलयका मावि तहका बालबालिका मिलेर बालविवाह न्यूनीकरण गर्न जुटेका हुन् ।
बालविवाहले पर्ने असरका बारेमा विद्यालयस्तरदेखि गाउँसम्म सचेतना जगाउन सङ्गठित रुपमा लागेको उनीहरुले बताएका छन्। कुवाकोटमा रहेको स्वास्थ्य चौकीको संयोजनमा विद्यार्थीले संस्कृतिद्वारा स्वास्थ्य प्रवद्र्धन समूह गठन गरी बालविवाहविरुद्ध एकजुट भएका हुन्।
यो गाउँलाई नमुना स्वास्थ्य गाउँ बनाउने अठोट पनि लिएको समूहका संयोजक लीलाधार पन्तले बताउनुभयो।
‘बालविवाहका कारण किशोरकिशोरीको स्वास्थ्य र जीवन नै अन्धकार हुने भएकाले विद्यार्थीले नै बालविवाह रोक्नका लागि पहल गर्न थालेका छन्’, संयोजक पन्तले भन्नुभयो। बालबालिका आफैँ अग्रसर भई भूमिराज माविका सबै अभिभावक तथा सरोकारवालाको भेला बोलाई बालविवाह रोक्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनीहरुले प्रत्येक गाउँमा गएर बालविवाहले पार्ने असरका बारेमा सबै अभिभावकलाई जानकारी दिने र छोराछोरीको विवाह २० वर्षभन्दा कम उमेरमा नगर्न सल्लाह दिने गरेका छन् । विद्यालयका किशोरकिशोरीले समेत आफूहरु भागेर विवाह नगर्ने तथा बालविवाह गरिरहेको जानकारी पाएमा त्यस्तो विवाहलाई समेत रोक्ने रणनीति बालबालिकाले लिएका छन् ।
नमुना स्वास्थ्य गाउँ बनाउन प्रत्येक तीन–तीन महिनामा स्वास्थ्य संस्थामा आई छलफल गर्ने निर्णयसमेत बालबालिकाले गरेको कुवाकोट स्वास्थ्य चौकी प्रमुख लोकेश जोशीले बताउनुभयो । अभियानका लागि उनीहरुले प्रत्येक विद्यार्थीबाट मासिक पाँच रुपैयाँका दरले बचत गर्ने गरेका छन् ।
प्रकाशित मितिः २०७२ असाेज ६ गते बुधवार
Comment Here!