महिला खवर
नेपालगन्ज, असोज ७ –बाँकेका महिला नेताले संविधानसभाबाट जारी भएको नयाँ संविधानले सबै वर्गको अधिकांश अधिकार समेटेका भन्दै खुसियाली मनाईरहेका छन्। नयाँ संविधानको स्वागतमा उनीहरूले दैनिक जसो नेपालगन्जका चोकमा दीप प्रज्वलन र चियापान कार्यक्रम आयोजना गरिरहेका छन्।
विभिन्न राजनीतिक दलसँगआवद्ध महिलाहरूको संगठन अन्तर्पार्टी महिला सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, शान्तिका लागि साझा अभियान र आमनागरिक सञ्जाल बाँकेआवद्ध महिला नेताले नयाँ संविधान आउनुनै महत्वपूर्ण भएको बताउँदै संविधानमा अपुग अधिकारको लागि विभिन्न आयोग मार्फत संघर्ष गर्न सकिने बताएका छन्।
पूर्व सभासद मोहम्मदी सिद्दिकीले नेपाली जनताको ठूलो संघर्ष र बलिदानी पश्चात प्राप्त नयाँ संविधानको सबैले स्वागत र खुसियाली मनाउनुपर्ने बताउनुहुन्छ। ‘यो संविधानले महिला, दलित, जनजाति, मुस्लिमलगायतका धेरै अधिकार समेटेको छ र बाँकी अपुग अधिकारलाइ विभिन्न आयेाग बनाएर समाधान गर्न सकिन्छ।’–सिद्दिकीले भन्नुभयो–’संविधान आउनु नै ठूलो कुरा हो त्यसपछिका असन्तुष्टि र मागहरू विभिन्न आयोग मार्फत राख्न सकिन्छ।’
अनेमसंघकी केन्द्रीय सदस्य नन्दा शर्माले संविधानमा एकैपटक सबैका सबै अधिकार समेट्न असम्भव रहेकोले प्राप्त अधिकारलाई सुनिश्चित गर्दै थप अधिकारको लागि क्रमशः प्रक्रियागत तवरबाट अगाडी बढ्न सुझाव दिनुभयो। ‘नयाँ संविधानमा महिलाका चाहे जतिका अधिकार समावेश भएका छैनन् तर त्यसो हुँदैमा यो खुसियाली साट्ने बेला आन्दोलन गर्नुको अर्थ छैन।’ शर्माले भन्नुभयो–अहिले संविधानको स्वागत गरौं त्यसपछि थप अधिकारका लागि संघर्ष गरौंला।’
नयाँ संविधानको स्वागतमा नेपालगन्जमा साताव्यापी रुपमा चोकमा दीप प्रज्वलन र चियापान कार्यक्रम आयोजना भईरहेको अन्तर्पार्टी महिला सञ्जाल बाँकेकी सचिव विजया धितालले जानकारी दिनुभयो।
प्रकाशित मितिः २०७२ असाेज ७ गते बिहीवार
Comment Here!